संस्मरण
हलो-कोदालो चलाउँछ, खाद्यान्न उब्जाउँछ किसान, याद गर ।
तिनै हुन् किसान, देशको गौरव, नेपालीको सान, याद गर ।
विषादीयुक्त खान्छौ, बर्बादीयुक्त सोच्छौ, दुर्भाग्यपूर्ण बाँच्छौ ।
न आफ्नोपन रह्यो, न स्वस्थ बन्यौं-बनायौं, जवान, याद गर ।
न खोस्रन्छौ, न खन्छौ, काम गर्दैनौ; काम पाइएन भन्छौ मात्र ।
के दिन्छौ ? कस्तो बनाउँछौ भावी सन्तति र सन्तान, याद गर।
अब दिन घर्किसक्यो, बिते धेरै वर्षहरू; ब्युँझनु पर्छ, उठ, जाग ।
आजै गर्नुपर्छ प्रणाली र पद्धतिमा सुधारको आह्वान, याद गर ।
एक पटकको जन्ममा सत्कर्म गरेर कीर्ति–साधना गर्नुपर्छ ।
समस्याको सम्बोधन गरेर देखाऊ आफ्नो पहिचान, याद गर ।
कर्तव्य र दायित्वसँगै जिम्मेवार र जवाफदेही बन्नुपर्ने हुन्छ ।
बेला बित्न सक्छ, नगर एकआपसमा दन्तबझान, याद गर ।
गास, बास, कपास, शिक्षा, स्वास्थ्य र रोजगार अग्राधिकार हुन् ।
ढिलो नगरी गर्नुपर्छ त्यसको सम्बोधन र समाधान, याद गर।
घटाउनै पर्छ उत्पादक र उपभोक्ताबीचको आर्थिक दूरी ।
गर्नैपर्छ सार्वजनिक क्षेत्र र सिमान्तकृत वर्गको उत्थान, याद गर ।
मिलौँ आर्थिक राष्ट्रवाद र व्यवहारिक समाजवादका लागि ।
स्वदेशी उद्योग, स्वदेशमै उद्यम गर, मौलिक उत्पादन, याद गर।
कृषि, जलस्रोत, पर्यटन र प्रविधि विकासमा ध्यान दिनैपर्छ।
गर्दैछौँ आर्थिक, राजनीतिक र सामाजिक पुनरुत्थान, याद गर।
बद्रीप्रसाद अर्याल