समाचार
काठमाडौँ ।
साहित्यकार अच्युतप्रसाद चालिसेकृत् कथासङ्ग्रह ’अम्मल’को राजधानीमा सार्वजनिक भएको खबर छ । सुरभि साहित्य प्रतिष्ठानले आयोजना गरेको उक्त कार्यक्रममा विभिन्न विद्वत् वक्ताहरूले आआफ्ना कोणबाट उक्त कृतिको विशद समीक्षा गरेका थिए । नेपाल ललितकला प्रज्ञाप्रतिष्ठानका पूर्व कुलपति तथा कार्यक्रमका प्रमुख अतिथि केके कर्माचार्यले ’अम्मल’ कथासङ्ग्रहको सन्दर्भ कोट्याउँदै आफू पनि एउटा कालखण्डमा चुरोटको अम्मली भएको खुलासा गरे । पठन संस्कृति खस्किरहेको पछिल्लो कालखण्डमा ’अम्मल’ले गम्भीर पाठकलाई आफूतिर आकर्षित गरोस् भन्ने कर्माचार्यको आशय थियो ।
विशिष्ट अतिथि पूर्व संघीय सांसद सन्तोष चालिसेले अच्युतप्रसाद चालिसेको ’अम्मल’ले समाजमा प्रवाह खोजेको सन्देश उत्कृष्ट भएको खुलासा गरे । काठमाडौँको पूर्वी क्षेत्र साहित्यको विशेष केन्द्र भएको दाबी गर्दै पूर्व नगरपिता तथा संघीय सांसद चालिसेले आफू साहित्यकार नभए पनि साहित्यानुरागी भने भएको दाबी गरे । साहित्य उन्नयनमा आफूले निर्वाह गरेको भूमिका जनताले बुझेको भन्दै आगामी दिनमा समेत आफू सर्जकलाई निरन्तर सहयोग गर्न इच्छुक रहेको अवगत गराए ।
लेखकीय मन्तव्य राख्दै कथाकार अच्युतप्रसाद चालिसेले आफ्नो अगाडि रहेको विद्वत् वर्गको गरिमामय उपस्थिति देखेर आफू मखलेल भएको बताए । हजारौँ वर्षअघि लेखिएका वेद, उपनिषद्लाई हेर्दा पनि साहित्य अमर हुने पनि चालिसेले जिकिर गरे । कथासङ्ग्रह टिप्पणीको दैलो उघार्दै नियात्राकार रामप्रसाद पन्तले कथा लेख्नका निम्ति सबभन्दा मूल कुरा भनेको समाजका विषयवस्तु समाजलाई नै अर्पण गर्नु रहेको बताए । पन्तले कृतिमा समाविष्ट सबैजसो कथाको सङ्क्षिप्त शल्यक्रिया गर्न समेत भ्याए ।
कवि गोविन्द घिमिरे ’वेदमणि’ले पूर्व नगरप्रमुख सन्तोष चालिसेले गोकर्णेश्वर नगरपालिकालाई साहित्यको उर्वर केन्द्र बनाउन गरेको अहोरात्र मेहनतको मुक्तकण्ठले सराहना गर्दै टाउकोको शल्यक्रिया गरेका अच्युतप्रसाद चालिसेले दुई वर्षको अन्तरालमा फरक विधाका पुस्तक प्रकाशन गर्न सक्नु सामान्य काम नभएको तर्क पेश गरे । निकै दुःखका साथ बाल्यकाल गुजारेका चालिसेले आफ्नो जीवनलाई धेरै हदसम्म कथामा परोक्ष रूपमा समावेश गरेको घिमिरेको खुलासा थियो ।
बहुआयामिक साहित्यकार महेश प्रसाईले अच्युतप्रसाद चालिसेलाई कथासङ्ग्रह ’अम्मल’को सफलताको शुभकामना दिँदै साढे चार दशकअघिदेखिको सामीप्यको स्मरण गरे । आरुबारी र रामहिटी सिङ्गै काठमाडौँको साहित्यको विशिष्ट अंश रहेको भन्दै यो क्षेत्रमा नै सरस्वतीको निवास रहेको प्रसाईको दाबी थियो । अर्का विशिष्ट साहित्यकार ठाकुर शर्मा भण्डारीले अच्युतप्रसाद र उनको परिवारलाई कृतज्ञता ज्ञापन गरे । चालिसेलाई लेखनको अम्मल लागेको भण्डारीको प्रस्टोक्ति थियो । हरेक कथालाई पौराणिक समयसँग चालिसेले कहीं न कहीं जोडेको भण्डारीले जिकिर गरे । आफ्नो लिखित शुभकामना मन्तव्य वाचन गर्दै बहुआयामिक सर्जक महेन्द्र चालिसेले अच्युतप्रसाद चालिसेको सङ्क्षिप्त परिचय राखे । आफ्ना विचार नरम तर दृढतापूर्वक राख्ने चरित्र चालिसेमा रहेको महेन्द्र चालिसेको स्पष्टोक्ति थियो । जीवनमा लेख्न बाँकी जीवनका अधिकांश कुरा प्रत्यक्ष÷परोक्ष ढङ्गले पुस्तकमा समेटिएको चालिसेको जिकिर थियो । ’अम्मल’ले विशिष्ट स्थान ओगट्न सकोस् भन्ने चालिसेको कामना थियो ।
समालोचक युवराज मैनालीले चालिसेका कथासङ्ग्रहका बारेमा टिप्पणी गर्न अस्वीकार गर्दै ’अम्मल’ कथासङ्ग्रहभित्रका कथाले पौराणिक युगबोध गराउने खुलासा गरे । पुस्तकले पाठकलाई अम्मली बनाओस् भन्ने मैनालीले कामना गरे । कार्यक्रमको अध्यक्षता गरेका महाकाव्यकार बाजुराम पौडेलले अच्युतप्रसाद चालिसे वेद, पुराण र शास्त्रका विशिष्ट अध्येता रहेको बताउँदै ’अम्मल’ एक विशिष्ट सिर्जना भएको प्रस्ट्याए । कार्यक्रमको अध्यक्षता गर्ने सुअवसर प्राप्त गरेकोमा हर्ष लागेको व्यक्त गर्दै पौडेलले कार्यक्रमको बिट मारे । साम्बकुमार चालिसेले कार्यक्रममा आमन्त्रित सबै अतिथिहरूलाई स्वागत गरेका थिए ।
