• २०८० असोज १५ सोमबार

मैनाली र शर्माको समालोचना कृति सार्वजनिक

वरिष्ठ समालोचक गोपी मैनालीको ‘रमेश विकल: समालोचनात्मक अन्वेषण’ र वरिष्ठ समालोचक ठाकुर शर्मा भण्डारीको ‘हास्यव्यङ्ग्य महाराथी भैरव अर्याल’ गणतन्त्र दिवसका उपलक्ष्यमा आयोजित गोकर्णेश्वर नगरपालिकाका प्रमुख दीपककुमार रिसालले विमोचन गर्नुभयो ।

गोकर्णेश्वर नगरपालिकाका दुई साहित्य महारथी रमेश विकल र भैरव अर्यालका विषयमा मैनाली र शर्माको वस्तृत र खोजपूर्ण समालोचनासङ्ग्रह प्रकाशनमा गोकर्णेश्वर नगरपालिकाबाट सहयोग गर्न पाएकोमा आफूनिकै खुसी भएको कुरा नगरप्रमुख श्री रिसालले बताउनुभयो ।

गोपी मैनालीको समालोचनात्मक अन्वेषणमाथि वरिष्ठ समालोचक तथा त्रिभुवन विश्वविद्यालय, नेपाली केन्द्रीय शिक्षण विभागका प्रमुख प्रा.डा. खगेन्द्रप्रसाद लुइँटेलले मैनालीको समालोचना निकै गहन र व्यापक एवम् सरल भएको र समालोचना कस्तो हुनुपर्छ भन्ने उदाहरण दिएको उल्लेख गर्नुभयो । साथै रमेश विकलका कथा, उपन्यास, निबन्ध, नियात्रा, आत्मकथा, नाटक र बालसाहित्य सबैमा गहन विश्लेषण र मूल्याङ्कन भएकोसमेत बताउनु भयो । यस कृतिले विकलको सम्पूर्ण सिर्जनाको न्यायपूर्ण समालोचना गर्दै नेपाली साहित्यमा विकलको स्थानसमेत निर्धारण गरिएको निष्कर्ष निकाल्नुभएको भयो ।

अर्का टिप्पणीकर्ता साहित्यकार पुरुषोत्तम सुवेदीले पनि गोपी मैनालीको समालोचना निकै गहन भएको कुरा उल्लेख गर्नुभएको थियो । ठाकुरा शर्माद्वदारा लिखित समालोचनामाथि वरिष्ठ साहित्यकार भागवत ढकालले टिप्पणी गर्दै भैरव अर्यालको सम्पूर्ण कृति तथा व्यक्तित्वको विश्लेषण गरिएकोमा शर्मालाई धन्यवाद दिँदै अर्यालका विषयमा जान्न सोही कृति काफी हुने बताउनुभयो ।

अर्का टिप्पणीकर्ता वरिष्ठ साहित्यकार नरनाथ लुइँटेलले पनि ठाकुर शर्माको लेखन शैलीको प्रशंसा गर्नुभयो । वरिष्ठ साहित्यकार तथा साहित्यिक पत्रकार रोचक घिमिरेले समालोचक मैनाली र समालोचक शर्माबाट थप समालोचनात्मक कृति आओस् भन्ने शुभकामना दिनुभयो ।

कार्यक्रममा सुरभि साहित्य प्रतिष्ठानका संरक्षक एवम् वरिष्ठ समालोचक एवम् वरिष्ठ लघुकथाकार युवराज मैनालीले दुई महान् सर्जकका विषयमा कृति प्रकाशनको सन्दर्भ उल्लेख गर्दै स्थानीय नगरपालिका र सुरभि साहित्य प्रतिष्ठानले महत्वपूर्ण काम गरेकोमा नगरपालिकाको प्रशंसा गर्नुभयो । सुरभिका अर्का संरक्षक गोविन्द घिमिरे वेदमणिले पनि दुई वरिष्ठ समालोचकको कृतिको उच्च प्रशंसा गर्नुभयो । पुस्तकको विमोचन सुरभि साहित्य प्रतिष्ठानका अध्यक्ष एवम् वरिष्ठ कथाकार बाजुराम शर्मा र प्रतिष्ठानका सचिव अच्युत घिमिरेबाट संयुक्तरूपमा भएको थियो ।