अनुवाद–कविता
काठमाडौं ।
डायमनशमशेर राणा साहित्यिक प्रतिष्ठानले ऐतिहासिक उपन्यासकार डायमनशमशेर राणाको स्मृतिमा तीन सर्जकलाई पुरस्कृत गरेको छ । आइतबार काठमाडौंमा ऐतिहासिक उपन्यासकार राणाको १०९औँ जन्मजयन्तीको अवसर पारेर आयोजना गरिएको कार्यक्रममा ‘डायमनशमशेर राणा प्रतिभा पुरस्कार’ साहित्यकारहरू माधव वियोगी, डा. टीकाराम पोखरेल र डा. विष्णु न्यौपानेलाई प्रदान गरियो । पुरस्कारकासाथ जनही नगद राशि २५ हजार रुपैयाँ प्रदान गरियो ।
पुरस्कृत तीनै सर्जकले राणामाथि केन्द्रित रहेर कृति लेखेका छन् । कार्यक्रमका प्रमुख अतिथि प्रा.डा. कुलप्रसाद कोइरालाले पुरस्कार प्रदान गर्दै डायमनशमशेरको साहित्यिक योगदानको चर्चा गरे । उनले ऐतिहासिक उपन्यास लेख्न गाह्रो हुने बताउँदै यस्तो आख्यान लेख्न बुद्धि, कल्पना र समर्पण चाहिने बताए । उनले उपन्यासकार राणासँग तुलना गरिने ऐतिहासिक उपन्यासकार नभएको पनि उल्लेख गरे । प्रा.डा.गोविन्दराज भट्टराईले राणाले आफ्नो उपन्यासमा पहिलोपटक म्याजिक रियालिज्मको प्रयोग गरेको उल्लेख गरे । उनले राणासँगको आफ्नो सम्बन्धबारे चर्चा गर्दै प्रतिष्ठान र राणाको परिवारजनले उल्लेख्य काम गरेकोमा प्रशंसा गरे ।
प्रा.डा. कुमारप्रसाद कोइरालाले राणा परिवारका तीन चर्चित साहित्यकार बालकृष्ण सम, डायमनशमशेर र जगदीशशमशेर राणाको लेखनबारे बोले । तीनैजना प्रजातन्त्रवादी सर्जक भएको उनले उल्लेख गरे । राणाका छोरा रघुशमशेर राणाले आफ्ना पिताको नेपाली साहित्यमा जाज्वल्यमान छवि भएको उल्लेख गर्दै पिताको कर्मले आफ्नो र परिवारको शिर उँचो भएको बताए । उक्त अवसरमा पुरस्कृत साहित्यकारहरूसँगै डा. तुलसी भट्टराई, श्रीओम श्रेष्ठ रोदन, अनिता कोइराला, ऋषिराम पाण्डे, हरि गौतमले आफ्नो धारणा राखे ।
