कथा
काठमाडौं ।
लेखक तथा राजनीतिक विश्लेषक राजेन्द्र महर्जनको नयाँ पुस्तक ‘उन्मादः फासीवाद मन्थन’ प्रकाशित भएको छ । फासीवाद, नाजीवाद, सामूहिक उन्माद, श्वेत श्रेष्ठतावाद तथा समकालीन लोकप्रियतावादी राजनीतिको विश्लेषण समेटिएको पुस्तकमा लेखकका विभिन्न समयमा लेखिएका तथा पुनःपरिमार्जित रचनाहरू सङ्कलित छन् । पुस्तकको प्रारम्भमा फासीवादको अवधारणा, यसको ऐतिहासिक विकासक्रम तथा बीसौँ शताब्दीदेखि एक्काइसौँ शताब्दीसम्म देखिएका विभिन्न स्वरूपबारे चर्चा गरिएको छ । फासीवादलाई चिन्ने आधार र त्यसका प्रमुख विशेषताबारे विभिन्न विद्वान्का विचारलाई आधार बनाएर विश्लेषण प्रस्तुत गरिएको छ ।
पुस्तकका विभिन्न खण्डमा सामूहिक उन्मादको मनोविज्ञान, इटालीको फासीवाद र जर्मनीको नाजीवाद, अडोल्फ हिटलरको उदय, यहुदी नरसंहार, जर्मन समाजमा नाजीवादको विस्तार, फासीवाद र पुँजीवादबीचको सम्बन्ध, श्वेत श्रेष्ठतावाद तथा अमेरिकी राजनीतिक संरचनालगायत विषयमाथि विमर्श गरिएको छ । साथै प्यालेस्टाइन–इजरायल द्वन्द्व र नेपाली राजनीति तथा समाजमा देखिएका फासीवादी प्रवृत्तिबारे पनि पुस्तकमा चर्चा गरिएको छ ।
लेखक महर्जनले पुस्तक कुनै एकल अनुसन्धानात्मक ग्रन्थ नभई फासीवादी विचार र व्यवहारलाई बुझ्न तथा विश्लेषण गर्न सहयोग पु¥याउने वैचारिक प्रयासका रूपमा तयार गरिएको बताउनुभएको छ । पुस्तकको भूमिकामा उहाँले फासीवादबारे थप अध्ययन र विमर्शको आवश्यकता औँल्याउनुभएको छ । यसअघि महर्जनका ‘चे ग्वेभारा’, ‘समाजवादको सपना’ र ‘सिलु म्ये र सामाजिक प्रतिरोध’ लगायतका पुस्तक प्रकाशित भइसकेका छन् । उहाँले ‘मूल्याङ्कन’, ‘नवयुवा मासिक’, ‘विकास पत्रिका’, ‘रूपान्तरणः समाज अध्ययन जर्नल’ तथा ‘मधेश अध्ययन जर्नल’को सम्पादनसमेत गर्नुभएको छ ।
विश्वव्यापी रूपमा दक्षिणपन्थी राष्ट्रवाद, धार्मिक ध्रुवीकरण तथा लोकप्रियतावादी राजनीतिको प्रभाव बढिरहेका बेला प्रकाशित ‘उन्मादः फासीवाद मन्थन’ ले नेपाली भाषामा फासीवादसम्बन्धी वैचारिक बहसलाई थप विस्तार गर्ने अपेक्षा गरिएको छ । इन्डिगो इन्क प्रा.लि.द्वारा प्रकाशित ४ छ ।
