• २०८० असोज १३ शनिवार

आफ्नो मान्छे

सिर्जना शर्मा

सिर्जना शर्मा

रातको ११ बजे । जेठ महिनाको उखुरमाउलो गर्मी । निदको पर्खाइमा छटपटाउँदै थिएँ । पल्लो कोठा तिरबाट आएको गुनगुन आवाजले झस्कायो । के हो ? कोही बोले जस्तो ? केही दिन यता यस्तै गुनगुन सुन्छु । झस्किएँ । कोसंग बात मार्र्छे आजकल गोमती रातीराती ? ओछयानबाट जुरूक्क उठेँ । कान टाठो परेँ । भँमरा भुनभुनाएझैँ गुनगुन आवाजमा सम्बाद भइरहे छ । मैरो धैर्यताको बाँध फुट्यो । सुस्त चालमा उठेँ र गोमतीको ढोका नजिक पुगेँ । आधा बन्द ढोका, हल्का हातले धकेल्दै भित्र चिहाएँ । अन्धकारको कालो ढिस्को पारी गोमतीको मोवाइलको सानो उज्यालोले लम्पसार उसको सानो शरीर र हातमा समाएको मोवाइल देखियो । ओछ्यानमा ढल्केकी गोमती संम्बादमा व्यस्त थिई । यथा स्थितिमा उभिएर म सम्बाद सुन्ने प्रयासमा रहेँ । बढिरहेको स्वास अझ तिब्र गतिमा बढन थाल्यो । एउटा पुरुष आवाज जोडले कानमा ठोकियो ।
‘ फेसबुक हे¥यौ त…?’
‘हेरेँ । ‘हजुरलाई दर्शन नगरी म कहाँ निदाउन सक्छु र ?’ भनाइसंगै खितितिती हाँसो सुनियो ।
‘तिमीसंग अंगालो हाली खिचेको फोटो फेसबुकमा राखुँ प्यारी ?’
‘किन चाहियो त्यो स्वाङ । दुनियाँलाई देखाउन होर हाम्रो माया पिरती ?’
उताबाट आएको जवाफ बुझीन ।
‘तपाईँले अंगालो हालेर म्वाई खाँदा मलाई कस्तो आनन्द आएको थियो । राती ओछयानमा बस्यो कि त्यही कुरा याद आउँछ…। ’
‘मैले तिम्लाई अंगालोमा बाँधेनी त फुच्ची….ल म्वाई पनि खाएँ । चुम्मा….। ऋनि त्यसपछि…’
‘छ्या फोनमा म्वाइ खाएको के स्वाद….। साँच्चीकै भए पो । अब फेरी कहिले होला बरै रमाइलो गरन पाइने.. ।’ यति भन्दै गोमती खितितिती हाँसी ।
गोमतीको हाँसो नरोकिदै उताको आवाज सुनियो …
‘आउला नी बेला ।…अनि खाना खायौँ ?’
‘खाएँ । यति बेलासम्म नखाइ किन बस्थे र ? तपाईँले खानु भो ?’
‘म त बाहिरतिर निस्केको थिएँ, उतै खाएर आएँ ।’
‘काँ जानु भा ? काम थिएन आज ?’
‘किन हुन्थेन ? कामै गर्न भनी हाम फालेको हूँ यो भुँङ्गोमा ।…कोठामा फर्कियो कि मनै दिक्क हुन्छ । मरू झैँ लाग्छ ।’
‘सधैँ यस्तै कुरा किन गर्नु हुन्छ ? …खुसीको कुरा सुनाउनु होस् न ।’
‘साला पाप गरेछि पुगिने ठाउँमा के खुसीको कुरा हुन्छ ?’
‘साथीहरू कोही छैनन् नजिक ? यसो भेटघाट गफ गर्दा रमाइलो हुन्छ ।’
‘को हुन्छ परदेशमा अर्काको फूर्सदमा बात मार्न भ्याउने ? सबै आआफ्नै काममा व्यस्त । ….आज त गएँ एकठाउँ मन वहलाउन । ’
‘कहाँ ? ..हेर स्वर पनि लरबरिएको जस्तो छ । रक्सी खान थाल्नु भो कि क्या हो ?’
‘रक्सीको त यो ठाउँमा नाम लिन पनि गाह्रो छ, खान को त कुरो छौड ।’ …
‘काँ जानु भो त अनि मन बहलाउन ?’
‘तिमीले नजानु है भनी कबुलाएको ठाउँमा । ’
‘छि ऽऽ नचाहिने कुरा गर्नु हुन्छ ….। ….एफएमले परदेश गएका ठिटाहरूलाई साबधान भन्दै प्रचार दिन्छ सुन्नु भा छ कि नाईँ ?’
सुन्या छु,… कान टट्टाउन्जेल सुन्या छु । …त्यसको भन्ने काम हो भन्छ । …. तिमी मलाई माया गर्छ्यौ गोमती । त्यसैले जाँ गए नि, जे गरे नि न मलाई रोगले भेटाउछ, न कालले ।’
‘नचाहिने कुरा नगर्नुस् है ? मलाइ माया गर्ने यो संसारमा तपाईँ बाहेक को छ र ? तपाईलाई केही भयो भने त ? यति बोल्दा बोल्दै गोमती सुक्क सुक्क गर्न थाली ।

गोमती म संग बसेकी ३ वर्ष भो । काम सकियो कि फुत्त कोठाबाट बाहिर निस्किन्थी र फोनमा रमाउँथी । फोनमा लामो गफ गर्ने उसको बानी यस अधि पनि ख्याल गरेकी हुँ तर कोसंग कस्तो कुरा गर्थी चासो थिएन् । हाल सुनेको प्रेमालापले भने मेरो मस्तिष्क हलचल भयो । भित्ता समाउँदै सुस्तचालमा आफ्नो कोठामा छिरेँ र ओछ्यानमा पल्टिएँँ । छरीएका तोरी झैँ गोमतीका असंख्य कुरा मेरो मानस पटलमा गुडन थाले ।
करीब साढे ३ फीटको उचाइ, ९ वर्षे बालिकाकाको जत्रो मसिनो सानो कद, सम्म छाती, पोलियोले लुलो बनाएको दाहिने गोडा, ३० किलो वजनको शरीर, दाँत सबै झरेकाले नक्कली दाँत हालेकी । बिहान बेलुका दिनहुँ अल्सरको औषधी खान्छे । अनुहार भने हिस्सी परेको छ गोमतीको । गोरो वर्ण, कोस तानी गाजल लगाउँछे सधैँ । ओठमा लिपिस्कि सुहाउँछ । म कहाँ आउँदा आफ्नो उमेर उसैले ३१ वर्ष बताएकी थिई । यो हिसाबले अहिले ऊ ३४ वर्ष नाघी । मीठो बोली बोल्न जानेकी छ । श्रृगारमा उसलाई अति सौख छ । बाहिर कतै जानु पर्यो कि शरीरमा डियो छर्कन भ्याई हाल्छे । घाँटीमा १ तोलाको सुनको सिक्री, कानमा रातो पत्थर सहितको पहेँलो सानो टप र हातमा सुनको औँठी दिनरातै लगाएकी हुन्छे । गहना तथा पहिरन बारे मैले केही सल्लाह दिएमा ऊ भन्छे, ‘मेरो आयू लामो छैन, कतिबेला पुरलुक्क हुन्छु के थाह दिदी । बाँचुनजेल रहर पुर्याउँछु । कसलाई पो छ र जाबो यो कमाइ साँचेर राख्नु पर्ने ? मोरेको भोलीपल्ट २ दिन भै हाल्छ । …आ ऽऽऽ’ भन्दै ऊ मस्कीमस्की हाँस्थी । यही गोमतीलाई केटासाथी बनाउने सबैभन्दा ठूलो रहर रहेछ ।
। गोमती बारे मेरो मनमा अनेक सोच आइरह्यो, ‘गोमती फोनमा छिल्लिएर कुरा गर्ने मात्र होला कि कसैसंग साँच्चै लहसिएकी छ ?..को होला त त्यसले मन पराएको मान्छे ? कुरा सुन्दा त यसको मान्छे टाढा भए जस्तो लाग्यो । …के थाह एउटै मात्र केटा छ कि फेरीफेरी हिँडने गर्छे… । ….यस्ती दुर्वल केटीलाई राम्रो नियत भएको केटोले त के मन परायो होला ? कुन गुन्डाले प्रेमको नाटक रची लुटदै छ । बेलाबेलामा आफन्त नातेदारलाई भेटन जाने भनी घरबाट निस्कन्छे । बानेश्वरमा मेरी बहिनी पर्ने छ भन्छे, कहिले पुरानो घरपति आन्टीले बोलाउनु भा छ भन्छे । त्यहाँ जाने बहानामा ऊ कता जान्छे कुन्नी ?…. केटा साथी बनाउनु प्रेमका बातचित गर्नु उसको व्यक्तिगत मामिला हो । यो स्वतन्त्रता उसलाई छ । तर बाहिर अबैध पेट बोकेर आइभने मलाई पनि अनेक तनाब हुने आइलाग्ला । …यो केटीको स्वभाव पाको छैन । रोमाको घरमा बसेकी केटीले अबैध गर्भ बोकेर उसको भाइलाई देखाएकी थिई रे । यस्ता घटना धेरै सुनिन्छन् । यस्ताको सम्पर्कमा रहेका नानाथरी मान्छे घरमा छिरी लुटपाट गर्न पनि सक्छन् । यस्ता घटना समाजमा धेरै सुनिन्छन् । पत्रिकामा पनि आउँछ । यो केटीका कारण झन्झट मोल्नु पनेर्, इज्जत गुमाउनु पर्ने हो कि ? मैले अब यसलाई तुरुन्त बिदा दिनु बेस हुन्छ ।’ मनमा कुरा खेिलरह्यो । …. लामो स्वास फेरेँ । एकै छिनमा अर्को सोच आयो ‘केटी त यो सज्जन नै हो । अहिलेसम्म यसले केही नराम्रो काम गरेकी छैन । हामी काममा गएका बेला छोरीको रेखदेख ढुक्कले गरेकी छ । यसलाइ विदा दिए छोरीको रेखदेख कसले गर्ला ?…. हामीले विदा दिए दैनिक आफूले खाने औषधी पनि यसले किन्न सक्दिन होला । अनि विचरी मर्छे त्यसै… ।’ म आफैलाई सम्झाउन थालेँ, …..आजकल फेसबुकले उमेर ढल्कन लागेकालाई समेत कस्तो विघ्न अल्लारे बनाएको छ । उसको गफगाफ पनि फेसबुक कै देखासिखी मात्र हो ।’ अनेक संका गरेर यसलाई बिदा दिन केही जरूरी छैन् ।’ आफैलाई सम्झाएँ ।
तर्क वितर्कमा मन हलचल भइरह्यो । त्यो रात आँखा चिम्लनै परेन । उज्यालोर्ले हाल्यो ।
बिहान सदा झैँ भान्साको डाइनिङ टेबलमा चिया खान बसेँ । मायालु लाग्ने गोमतीको अनुहार आज बिरानो लाग्यो । रात भरको अनिदोले शरीर चंगा थिएन् । सदा चियाको गिलास हातमा समाए देखिनै गोमतीसंग गन्थन् शुरू हुन्थ्यो । त्यो आज भएन । बोली घाँटीमै नौ गाँठो परेर बस्यो । गोमतीले मेरो अनुहारमा क्वारक्वारती हेरी र अवोध भाकामा भनी,
‘दिदी किन आज हजुरको अनुहार मलिनो देख्छु । संचो छैन ?’
मैले उसलाई प्रतिप्रश्न गरेँ
‘गोमती तिमी आजकल राती राती को संग कुरा गरेर बस्छ्यौ ?’
मेरो प्रश्नले उसको शिर निहुरायो । टेबलको छेउको रहेको गिलास समाएर सिङ्क तिर राख्दै उसले भनी ‘भाइसंग कुरा भाथ्यो हिजो । ’
‘भाइसंगको कुराकानी जस्तो त लागेन मलाई । साँचो कुरा भन । …मैले तिम्रो फोनका कुरा सुनिसकेँ ।’
गोमतीले म तर्फ ढाड फर्काएकी थिई । मैले उसका आँखा हेर्न पाइन ।
‘छिटो भन गोमती । किन मुख लुकाएको ?’ मैले फेरी सोधेँ ।
ऊ अझै बोलिन ।
‘भनन के हो कुरा ? आज अरू काम गर्नु अघि मलाई यो कुराको जवाफ चाहिन्छ ।’ मेरो स्वर कर्कस भएको थियो ।
यसपछि अवोध आँखामा निर्मल आँसु टल्काउँदै उसले सानो स्वरमा भनी,
‘मेरो साथीसंग कहिले कही कुरा गर्छु… ।’
‘को साथी हो तिम्रो ? केहो नाम ? कहाँ छ ? के गर्छ ?’ असिना वर्षेझैँ मैले एक साथ प्रश्न वर्षाएँ ।
‘बिनोद क्या । हजुरले पनि त देख्नै भाछ । …अस्ती नै भिसा लाउन आको बेला यहीँ खाना खाएर गएको थियो । ….त्यसबेला मैले उसलाई भाइ भनी चिनाएको थिएँ । …अहिले ऊ साउदी गा छ ।’
मैले आश्चर्यको भावमा सोधेँ, ‘को विनोद त्यही अग्लो पातले केटो ?’
‘हो । त्यही हो मेरो साथी ।’ आँखाका आँसु  हत्केलाले पुछदै उसले भनी
गोमतीका कुराले म स्तब्ध भएँँ । मैले सपनामा पनि नचिताएको कुरा यो ।

‘…प्रेमका लागी कुनै निस्चित नियम परिभाषा हुँदैन, तर यहाँ गोमती र विनोदको मन कुन ताराले जोड्यो होला ? विनोद अग्लो, अन्दाजी २३, २४ वर्ष उमेरकोे, हृष्टपुष्ट शाररीक व्यक्तित्व सुन्दर, क्षेत्री परिवारको केटो । प्रेमको नाटक रची यो केटाले गोमतीलाई लुटने उपाय रचेको हो ।’ म आफ्नै सोचमा दृढ भएँ । मस्तिष्कमा सोच सल्बलाउँदै गर्दा मेरो आँखा गोमतीको घाँटीमा पुग्यो । जनै झैँ दिनरात भिरिरने उसको सिक्री गलामा थिएन । मैले हतारिदै सोधे, ‘ तिम्रो सिक्री खै ?’
‘बहिनीलाई बिएभोजमा जानु छ गरे । लगेर गकी छ । ’
गोमतीका कुरामा मलाई संका लाग्यो । म फेरी झर्कीएँ ‘हर कुरामा ढाँटछयौ गोमती तिमी । …केहो साँचो कुरा ?’
गोमती मौन रहेपछि मैले भने,
‘मायाको नाटक रची तिमीलाई घर न घाटको पार्ने केटा हो त्यो । …बुझ गोमती समयमै ।’
मेरो कुरा सकिन नपाउँदै ऊ हत्तपत्त बोली,
‘विवेक त्यस्तो छैन दिदी, उसलाई मैले चिनेको ३, ४ वर्ष भैसक्यो, कहिल्यै मसंग सुको पैसा लेको छैन । यस पाला साउदी जाँदा भने मैले सिक्री बन्धक राखेर उसलाई २० हजार रीन देकी थिएँ । यो रीन पनि फिर्ता गर्छु भनेको छ । हेर्नुस् न साथीको हात उसले मलाई यस्तो दामी मोवाइल कोशेली पठाइ सक्यो ।’ गोमतीले अनुहारमा बत्ती बाल्दै आफ्नो मोवाइल देखाई ।
‘कसरी चिनजान भो त तिमीहरूको ?’ मैले जिज्ञाशा राखेँ
‘चितवनबाट काठमाडौँ आउँदा हामी बसको एकै सिटमा थियौँ । हाम्रो कुराकानी भो । ऊ पनि मै जस्तो आमा नभएको टुहुरो रैछ । बाटोमा मलाई रिंगटा लागेर बान्ता भयो र म बेहोस झैँ भाकी थिएँ । बस रोकेको ठाउँमा उसले मलाई तातो खाना ल्याइदियो । यो खाएपछि मेरो ज्यानमा प्राण भरिएझैँ भो । काठमाडोँमा पुगी छुट्टिदा उसले आफनो फोन नंम्बर दियो । त्यहीबाट हाम्रो कुराकानी भेटघाट हुन थाल्योे ।
अनि भेटघाटमा के कुराकानी हुन्छ ? तिमीलाई बिहे गर्छ रे उसले ?
बिहे त हुन्न हाम्रो । जवान केटो छ विवेक । उसलाई घरबार बनाउने, छोराछोरी पाउने केटी चाहिन्छ । म त यस्ती ठुटी, यो स्यानो ज्यानले पेट बोक्न पनि हुन्न भनी भन्या छ डाक्टरले । जातभात, उमेर कुनै हिसाबले उसका आफन्तले मलाई बुहारी बनाई भित्राउन्नन । …तर म विवेकलाई माया गर्छु, किनकि ऊसंग नजिक हुँदा मलाई साह्रै आनन्द आउँछ । ऊसंग सुख दुखका सारा कुरा पोख्न पाइन्छ । मलाई माया गर्छ भित्रै मनले ।
यत्ति हो हाम्रो सम्बन्ध ।’
उसका कुरा मलाई अनौठो लाग्यो । मैले खश्रो बोलीमा भने, ‘अनि के त तिमी उसकी रख्खेल भएर बस्छ्यौ ? उसकी विवाहिता स्वास्नीलाई धोका दिन्छयौ ?’
‘यस्ता कुरा मलाई थाह छैन । मलाई यत्ति थाह छ कि खाइस खाइनस ? संच विसंच के छ भनी मलाई माया गरी सोध्ने मेरो आफ्नो भन्ने मान्छे उही छ । मेरो लागी सुर्ता लिने मानिस यो दुनियाँमा अरू को छ र ? आमा मरिन, बा सौतिनी आमाको व्यवहार गर्छन् । दाइभाइको साइनो मेरो कमाइ संग मात्र हो । दुख विराम केही भए सबैलाई झर्को हुन्छ । सानो कुरामा चित्त फाटे आफू बसेको घर छोडिहाल्नु पर्छ । …पोख्न नमिल्ने व्यथा यो मनमा धेरै छ । आफ्नो भन्ने एउटा मान्छेको रहर जीवनमा सबैलाई हुन्छ । उसलाई भेटेदेखि मेरो पनि आफ्नो मान्छे छ भनी यो मन खुसी छ । …उसले विहे गरेपछि मसंग उसको यो माया नरहला । तर यतिनजेल उसले मलाई माया सम्झी रमाउँला । ..मौका लागे कुनै अर्को आउला माया गर्ने । भाग्य ओरालो लागे उसैलाई मेरो खुसी यै हो भनी मन बुझाउँला… ।’
बोल्दाबोल्दै गोमतीका शब्द गलामा अडकिए । उसका आँखाबाट बिवसताका आँसु भिरको पहिरो झैँ ओरालो लागिरहे । गोमतीबारेका मेरा संकोच भावहरू चक्काफोरको खेलमा बालकहरूले भकुन्डो हानी छरपष्ट पारेको ढुङ्गाझैँ भए । गोमती सामु पोखिन तछाड मछाड गर्दै गलामा आएका शब्दहरू हावाले उडाएको बादलझैँ टाढा गए । मायाको सीमा कति व्यापक, कति अनन्त ? क्षितिज जस्तो अगम्य र विशाल मनको अथाह संसार । म स्तब्ध भई गोमतीको अबोध अनुहारमा हेरी रहेँ ।


सिर्जना शर्मा
[email protected]