• २०८१ भाद्र २५ मङ्गलबार

मधुपर्क प्रतिभा सम्मान तीन सर्जकलाई

यस वर्षको मधुपर्क सम्मान तथा मधुपर्क प्रतिभा सम्मानका लागि तीनजना सर्जक छनोट गरिएको छ । लेखक तथा साहित्यकार पुरुषोत्तम बस्नेत, साहित्यकार गणेश रसिक र युवा सर्जक मोमिला जोशी सम्मानित हुनुहुने भएको हो । सर्जक बस्नेतलाई मधुपर्क सम्मान (गद्य) २०७९ प्रदान गरिने भएको छ । उहाँले मधुपर्क प्रकाशनको शुरुदेखिनै यस मासिक तथा अन्य विभिन्न प्रकाशन मार्फत नेपाली साहित्यमा विशिष्ट योगदान दिनुभएको हो ।

कथा, कविता, निबन्ध, संस्मरण, राजनीतिक लेखनमा कलम चलाउनु भएका बस्नेतले सिउँडी, मुकुट, कल्पना, नेपाल पुकार जस्ता ऐतिहासिक प्रकाशनको सम्पादन गर्नुभएको छ । नेपाली कांँग्रेसको इतिहास (दुई भाग) प्रकाशित गर्नुभएको उहाँले नेपाली राजनीतिक इतिहासका विभिन्न विषयमा फुटकर तथा अनुसन्धानात्मक लेख प्रकाशन गर्दै आउनुभएको छ ।

त्यस्तै, अर्का सर्जक गणेश रसिकलाई मधुपर्क सम्मान (पद्य), २०७९ प्रदान गरिने भएको छ । उहाँले मधुपर्क मासिक तथा अन्य विभिन्न प्रकाशन मार्फत नेपाली साहित्यमा विशिष्ट योगदान दिनुभएको छ । उहाँ कविता, गीत, संस्मरण, उपन्यास र गायनमा सुपरिचित हुनुहुन्छ ।

युवा पुस्ताका सर्जक मोमिला जोशीलाई मधुपर्क प्रतिभा सम्मान-२०७९ प्रदान गरिने भएको छ । उहाँका रचना मधुपर्क मासिक लगायत विभिन्न पत्रिकामा प्रकाशित छन् । कविता, निबन्ध र सम्पादनमा उहाँको कलम सशक्त मानिन्छ । उहाँहरूलाई सम्मानसहित जनही ३५ हजार रुपियाँ प्रदान गरिने छ ।

सम्मान प्रदान गरिने सर्जकको नाम सिफारिस गर्न गोरखापत्र संस्थानले वरिष्ठ साहित्यकार डा. धु्रवचन्द्र गौतमको संयोजकत्वमा मधुपर्कका सम्पादक जयदेव भट्टराई(सदस्य) र नायव कार्यकारी सम्पादक त्रिभुवनचन्द्र वाग्ले (सदस्य सचिव) रहेको सिफारिस समिति गठन गरेको थियो । उहाँहरूलाई यही जेठ ३० गते मधुपर्कको ५५औँ वार्षिकोत्सवका अवसरमा काठमाडौँमा सम्मान प्रदानगरिने जनाइएको छ । विक्रम संवत् ०५९ देखि प्रदान गर्न थालिएको उक्त सम्मानका लागि मधुपर्क मासिक मार्फत साहित्यिक योगदान पुर्याएको व्यक्ति हुनुपर्ने मापदण्ड तय गरिएको छ ।