• २०८१ असोज २८ सोमबार

औँलाहरू

सेम्बेन उस्मान

सेम्बेन उस्मान

औँलाहरू दक्ष छन् मूर्तिकलामा
ढुङ्गामा मूर्ति कुँद्नमा
विचारहरूलाई रूपान्तरित गर्नमा
औँलाहरू जसले चकित बनाउँछन्
कलाकारका औँलाहरू ।

मोटा र बलिया औँलाहरू
जसले खेत जोत्छन्
र अन्न फलाउँछन्
किसानका औँलाहरू ।

बन्दुकको ट्रेगरमा अडिएको औँला
निसानामा तैनात औँला
जिन्दगीको लाममा उभिएकाहरू
निर्भर छन् ती औँलाको कृपादृष्टिमा
जसले खोस्छ जीवन
सैनिकका औँलाहरू ।

नदी र भाषाहरूभन्दा पर
युरोप, एसिया, चीन र अफ्रिका
भारत र एटलान्टिकभन्दा पर
आऊ ती सबै औँलाहरूलाई जोडौँ
जसले भाँच्न सकोस्
मानवतालाई शोकाकुल बनाउने औँलाहरूलाई ।

अनुवाद: राजेन्द्र शलभ