• २०८१ माघ २ बुधबार

शुभकामनाको आभा

बाबुराम न्यौपाने “ उत्स“

बाबुराम न्यौपाने “ उत्स“

निधारमा जब मान्यजनको
पवित्र हातको स्पर्श हुन्छ
प्रेम र स्नेहको
जीवन्त प्रवाह
युगको लयमा समाहित हुन्छ ।

जमराका पहेँला मुजुराबाट
आशीर्वचनका
चहकिला किरणहरू
अद्भुत तेज बनेर- छरिन्छन्
मौलिकता
संस्कृतिको बहुरङ्गी बगैंचामा मुस्कुराउँछ
सुखदुःखका भावनाहरू
मायाँलु आँचलभित्र
अंकमाल गरेर
निस्फिक्री साउतीमा रमाउँछन् ।

शुभकामनाका
पवित्र भावनामा- छचल्किन्छन्
सद्भाव र प्रेमका- स्पन्दित तरङ्गहरू
परिस्कृत
सुसंस्कार र सभ्यता
सुन्दर परम्पराको- संवाहक बनेर
उषाकालीन
सूर्यका प्रकाशसँगै- मन मनमा झुल्कन्छन् ।

द्वैष र अभावमा पोल्ने
कुचक्रका रापहरू
मलिन बन्छन्
मीठो बाल्यकाल
पुतली बनेर नाँच्छ आँखामा ।

सहनाई, ट्याम्को र नरसिङ्गाको धून
मनलाई आह्लादित बनाउँछ
चङ्गाको उचाइसँगै कावा खान्छन्
मीठामीठा कल्पनाका तरेलीहरू
करेसामा
धानको लहलह बालामा झुल्छ
मनोहर शरद
दोहोरीको झुलनमा ।

प्रेमको स्वर्ग भेट्टाउँछन्
प्रेमिल जोडिहरू
लिङ्गेपिङ र रोटेपिङको
उत्साह र उमङ्ग
आँखामा- उत्सव बनेर चम्कन्छ ।

आपसी प्रेम र सम्मानका
चहकिला चन्द्रमा
हृदयको
मायालु आँगनमा उदाउँदछन्
स्नेहको आभाले आलोकित हुन्छ
समस्त भूमण्डल
उत्सवको पर्व- बडादसैँ
सहिष्णुता र एकतामा सूत्रबद्ध
शुभकामनाको आभामा चम्कन्छ ।


बाबुराम न्यौपाने “ उत्स“, दमक, झापा
[email protected]