कविता
काठमाडौँ ।
लेखक वसन्त थापाको संस्मरणात्मक कृति ‘एउटा औसत जिन्दगी’ सार्वजनिक गरिएको छ । आइतबार (असार ७) काठमाडौंमा एक कार्यक्रमबीच पुस्तक लोकार्पण गरिएको हो । लेखक थापा, साहित्यकार खगेन्द्र संग्रौला, विश्लेषक हरि शर्मा तथा थापाका नातिनातिनीले संयुक्त रूपमा पुस्तक सार्वजनिक गरे ।
कृतिमा विभिन्न पत्रपत्रिका तथा पुस्तकमा प्रकाशित थापाका संस्मरणात्मक लेख संगृहीत छन् । कार्यक्रममा साहित्यकार संग्रौलाले लेखक थापासँग उनको लेखनयात्रा, संघर्ष तथा तत्कालीन धरानको साहित्यिक परिवेशलगायत विषयमा संवाद समेत गरेका थिए । पुस्तकमा संगृहीत ‘म किन लेखक होइन’ शीर्षकको लेखको प्रसंग उठाउँदै संग्रौलाले दर्जनौँ निबन्ध लेखिसकेका र कृति प्रकाशन भइसकेका व्यक्तिले आफूलाई लेखक नभन्नु कत्तिको उचित हो ? भन्ने प्रश्न गरे । जवाफमा थापाले आख्यान विधामा कलम नचलाएकाले आफूलाई लेखकको परिभाषाभित्र राख्न संकोच हुने सुनाए ।
कार्यक्रममा विश्लेषक हरि शर्माले थापाको लेखनशैलीको प्रशंसा गरे । पुस्तकले एक पुस्ताको भोगाइ र समयचेतलाई जीवन्त रूपमा अभिव्यक्त गरेको उनको भनाइ छ । नयाँ पुस्ताले अघिल्लो समयको समाज, सोच र जीवनपद्धति बुझ्न पनि यो पुस्तक उपयोगी रहेको उनले जनाए । “समयचेत बुझ्न नपढी नहुने पुस्तक हो, एउटा औसत जिन्दगी,” शर्माले भने, “सम्पादकहरू खासमा अरूको कृति या रचना काँटछाँट गर्न सिपालु हुन्छन्, तर वसन्त थापा आफैँमा कुशल सम्पादक भएर पनि आफ्नो लेखन पनि उत्तिकै चुस्तदुरुस्त बनाउन सक्ने व्यक्ति हुनुहुन्छ ।”
कार्यक्रममा फाइनप्रिन्टका प्रकाशक अजित बरालले वसन्त थापाको भाषाशैली र संस्मरण लेखनले नेपाली समाजको परिवर्तनशील चरित्रलाई बुझ्न महत्त्वपूर्ण आधार प्रदान गर्ने बताए । भाषा र अभिव्यक्तिका दृष्टिले पनि यो पुस्तक पठनीय रहेको उनले उल्लेख गरे । “भाषाका लागि मात्रै पनि यो पुस्तक पढिन्छ,” उनले भने, “थापाका संस्मरणात्मक आलेख पढिरहँदा नेपाली समाजको परिवर्तनको दिशा र यहाँको समाजको चरित्र थाहा पाइन्छ ।” यति शक्तिशाली पुस्तक प्रकाशन गर्न पाउँदा आफूहरू हर्षित बनेको उनको भनाइ छ । पुस्तक फाइनप्रिन्टद्वारा प्रकाशित गरिएको हो ।
