English Poem

काठमाडौँ १ चैत २०७८
कृष्णभूषण बल स्मृति प्रतिष्ठान, विराटनगरले शनिबार नेपाल प्रज्ञा-प्रतिष्ठानका पूर्व उपकुलपति तथा यस अनलाइनका प्रधान सम्पादक कवि डा. विष्णुविभु घिमिरे, साहित्यकार डा. गीता त्रिपाठी र कवि सगुन सुसारालाई पुरस्कृत गरेको छ ।
प्रतिष्ठानले लामो समयदेखि नेपाली साहित्यको कविताविधामा दिएको योगदानका लागि कवि डा. घिमिरेलाई २५ हजार राशिसहित ‘कृष्णभूषण बल स्मृतिसिर्जना पुरस्कार- २०७७’ प्रदान गरेको थियो ।
यसै गरी कवि तथा समालोचक डा. त्रिपाठीलाई नेपाली कविता र समालोचना विधामा दिएको योगदानका लागि १५ हजार राशिसहित ‘कृष्णभूषण बल स्मृति सिर्जना विशेष सम्मान– २०७७’ र कविता विधामा दिएका योगदानका लागि कवि सुसारालाई ‘कृष्णभूषण बल स्मृति युवा सिर्जना पुरस्कार– २०७७’ प्रदान गरेको थियो ।
पुरस्कृत स्रष्टाहरूलाई वरिष्ठ कवि जसराज किराँती, प्रतिष्ठानका अध्यक्ष प्रा.डा. टङ्क न्यौपाने, प्रमुख संरक्षक शोभा लामा बल, वरिष्ठ साहित्यकार दधिराज सुवेदी, डा. गोपाल भण्डारी, विराटनगर–१० वडाध्यक्ष माधव वाग्लेलगायतले दोसल्ला ओढाएर नगद राशि र सम्मानपत्र प्रदान गरेका थिए ।
कार्यक्रममा आयोजक संस्थाका महासचिव प्राज्ञ विवश पोखरेलले वरिष्ठ कवि कृष्णभूषण बलको स्मृतिमा साहित्यका विभिन्न विधामा कलम चलाउने स्रष्टाहरूलाई प्रतिष्ठानले हरेक वर्ष पुरस्कृत गर्ने जानकारी दिए । सो अवसरमा कवि कृष्ण बराल, मुनाराज शेर्मा, राधिका गुरागाईं, देवान किराँती, मञ्जुश्री गिरी, भरत गुरागाईंं, सविता गौतम दाहाल, मीनकुमार नवोदित, राज माङ्लाक र दीपा दाहालले कृष्णभूषण बलका कविता वाचन गरेका थिए ।