समाचार
लेखक रञ्जु दाहालको नियात्रा सङ्ग्रह डोहोडोहो डोल्पोको चर्चापरिचर्चा यसको प्रकाशन भएपछि चलेकै थियो । रञ्जु दाहालका विभिन्न अनलाइन पोर्टलमा र पत्रिकामा बेलाबेलामा आइरहने नियात्रा र निबन्धको म पाठक पनि हुँ । सामाजिक सञ्जालमा जोडिएपछि यसैमार्फत पनि रञ्जुका लेखहरू पढ्ने अवसर मिलिरहन्छ र रञ्जुको चित्रात्मक भाषाशैलीले लोभ्याइरहन्छ । यस अर्थमा म रञ्जुको लेखन कर्मको प्रशंसक हुँ ।
अक्षरको नाताले जोडिएका हामी संयोगले अहिले सहकर्मी पनि भएका छौँ । सहकर्मी भएपछि झनै नजिक र अपनत्व बढ्ने नै भयो । लेखन कर्म मन पराउने हामी बेलाबखत साहित्यिक छलफलमा पनि जुटने गर्दछौँ । यसै सेरफेरोमा फेरि डोहोडोहो डोल्पो दोहो¥याएर पढ्न मन लाग्यो । दुई तीन पटक पढेपछि कृतिका विषय र प्रस्तुतिलाई लिएर आफ्ना केही निजात्मक अनुभूति समेटेकी छु ।
नेपाली समाज, दसैँको समय , दुईओटा बच्चाकी आमा झोला बोकेर लामो पदयात्रामा निस्कन्छु भन्ने हिम्मत गर्नु नै आफैंमा एउटा विद्रोह हो भन्दा फरक नपर्ला । नियात्राकार रञ्जु दाहालले विद्रोह सुरु भएको छ । घरका मान्छेले “जाऊ” भन्ने अनुमति नदिनु र डोल्पाको सौन्दर्य नियाल्ने अवसर छोड्न नचाहनु बिचको द्वन्द्वले नियात्रालाई रोचक र गम्भीर दुवै बनाउँछ ।
नारीवादी दृष्टिकोण र अस्तित्ववादी चिन्तनको दृष्टिकोणले हेर्दा आफूलाई मन लागेमा स्थानमा घुम्न जान पनि नेपाल जस्तो पितृसतात्मक समाजमा घरका छोरीबुहारीले एक्लै यात्रामा निस्कन खोज्नु पनि ठुलै क्रान्ति झैँ हुन्छ । त्यसमा पनि दसैँको समय घर पाहुनापासाको सेवा गर्नुपर्ने विशेष समय । यस्तो समयमा घुम्न निस्कनु भनेको वर्ग सङ्घर्षको ठुलै विद्रोह हुन आउँछ । अस्तित्वको खोज पनि समय अनुसार फेरिने रहेछ । हिजोको समयमा समान काम समान ज्याला, मतदान अधिकार , शिक्षा, स्वास्थ, स्वैच्छिक विवाह जस्ता विषयमा केन्द्रित महिला सशक्तिकरणका विषय पनि समय सापेक्षतामा परिवर्तित हुँदै जाने रहेछन् । सन् १९७२ मै महिला सशक्तिकरणका लागि ःबचथ ध्यििकतयलभअचबात द्वारा लेखिएको पुस्तक ब् ख्ष्लमष्अबतष्यल या तजभ च्ष्नजतक या धयmभल ले विश्वव्यापी रुपमा लैङ्गिक समानताको लागि आधारशीला तयार गरे पनि , हाम्रै देशमा वि. सं. १९२४ मा जन्मेकी योगमायाले महिला सशक्तिकरणका लागि,न्याय र समानताका लागि बलिदान स्वरूप सामूहिक आत्मदाह गरे पनि , महिला साक्षरताको प्रतिशत बढे पनि , सरकारले आरक्षणको नीति अवलम्बन गरेर समावेशी सिद्धान्त अनुसारको समतामूलक समाजको परिकल्पना गरे तापनि नजानिँदो रुपमा अझै पनि कतिपय सन्दर्भमा महिला भएकै कारण आर्थिक तथा सामाजिक र मानसिक रुपमा महिलाहरू हेपाइमा परेका बग्रेल्ती घटना समाजमा देख्न सकिन्छ हाम्रै वरिपरि ।
विज्ञान प्रविधिले सम्पूर्ण विश्वलाई अघिनस्त गरिरहेको वर्तमान समयमा हामी नेपाली भने जागरणका नाममा बाटोमा सडक बत्तीको व्यवस्था गरेर घरमा टुकी बाल्नमै उद्यत देखिन्छौँ । डोहोडोहो डोल्पो पढ्दै गर्दा लेखकको अनुभूति र अस्तित्व खोजको अनुभूति दुवैको खुब माया लागिरह्यो । सडकमा झिलिमिली बत्तीको नारा ,घरका कोठा अँध्यारा अँध्यारा भन्ने भइरह्यो ।
पढ्न लेख्न भनेपछि हुरुक्कै हुने लेखक रञ्जु र लेखकमैत्री नभएको पारिवारिक वातावरण । यी दुवैलाई समायोजन गर्दै लेखन कर्ममा जुटिरहेकी छन् । विचारको आँखाले अध्ययनको क्षेत्र विस्तारमा लागेकै छिन् । लेखक मनलाई प्राकृतिक सौन्दर्यले लोभ्याउनु स्वभाविक हो । साहसिक र जोखिमूर्ण यात्रामा निस्कन लागेकी महिलालाई घरबाट हाँसीखुसी बिदा दिएर ,“आफ्नो ख्याल गर है,” भन्ने मायालु व्यवहार आइदिएको भए त्यो लेखक मन कति फुरुङ्ग हुन्थ्यो होला ? कति रमाउँथ्यो होला प्रकृतिको त्यो जादुमय सौन्दर्यमा ? घर छोड्ने समय घरमुली ( श्रीमान् ) ले “शुभयात्रा” भन्ने औचारिकतासम्म निभाइदिएको भए पनि लेखक मनले सकस महसुस गर्नुपर्ने थिएन । घरमा नभने पनि यात्राअवधिमा एकपटक नै सही ,“राम्ररी यात्रा गरेर आऊ “, यति भनिदिएको भए पनि जोखिमपूर्ण यात्रामा राहत मिल्थ्यो होला तर त्यस्तो हुँदैन । प्रकृति नियाल्न हिँडेकी लेखक केहीबेर मन नियाल्नमै अल्झिनु पर्ने बाध्यता आइपर्दछ । मन नियाले पछि यात्रा जसरी पूरा गर्ने दृढ अठोटले यात्रा सफल भएको देखिन्छ । यात्रा संस्मरणका रूपमा आएको नियात्रा कृति डोहो डोहो डोल्पोमा विभिन्न १० शीर्षकमा यात्रा संस्मरणहरूको व्याख्या गरिएको छ । प्रकृतिलाई नजिकबाट नियाल्न मन पराउने नियात्राकार रञ्जु दाहालले यस कृतिमा प्रकृतिका विभिन्न विषयवस्तुलाई मानवीकरण गरेर प्रस्तुत गरेको पाइन्छ । विभिन्न हिमालहरू सिस्ने हिमाल ,कान्जिरोवा हिमाल, भेरी नदी तालतलैया र प्राकृतिक विकटताको खुलेर वर्णन गरिएको यस नियात्रा सङ्ग्रह पढ्दै जाँदा पाठकले चित्रात्मक दृश्यको आस्वादन सजिलै लिन सक्दछन् ।
एकातिर नेपालको प्राकृतिक सौन्दर्य र आन्तरिक पर्यटनको प्रवर्धनमा यस पुस्तकले विशेष भूमिका खेल्न सक्ने देखिन्छ भने अर्कोतर्फ नारी अस्तित्व र अस्मिताको सवालमा पनि यस कृतिले गम्भीर विषयको उठान गरेको स्पष्ट रुपमा देख्न सकिन्छ । यात्रामा भेटिएका पदम बुढा जो नेपाली छोरीचेलीहरु देश दर्शनका लागि निस्किएको कुराले अति खुसी भएको कुरा व्यक्त गर्ने उदारवादी चरित्रका रुपमा देखा परेका छन् । तर उनको उदारता घरपरिवार भन्दा बाहिरका मानिसहरूलाई उक्साउनका लागि मात्र भएको देखिन्छ । उनकै घरमा भने उनकी बुहारी अस्मिता जो २०,२५ को हाराहारीको उमेरमा छिन् । उनलाई उनका श्रीमानले सौता ल्याएर छाडेका छन् । जन्मिएको सन्तान पनि दिवंगत भइसकेको छ । त्यस्तो अवस्थामा पनि आफ्नै बुहारी अस्मितालाई धोका दिएर हिँडेको उनको छोरोलाई बुहारीले कुरेरै बस्नुपर्छ भन्ने मान्यताले जकडेर राखेको देखिन्छ । यही विषयलाई नियात्राकार रञ्जु दाहालले ,‘मनै कँुड्याउने अस्मिता’ शीर्षकको नियात्रामा उठाएको देखिन्छ । यहाँनेर संसारका हरेक महिलाप्रति उदार र आदर्शवादी हुने तर आफ्ना घरका छोरीबुहारीप्रति अति नै निरंकुश हुने नेपाली पुरुष मनोवृत्तिको छर्लङ्ग चित्र देख्न सकिन्छ । यसले नारीहरूप्रति नेपाली समाजले राख्ने दृष्टिकोणको प्रतिनिधित्व गरेको छ । समाजले खडा गरेको साँघुरो मानसिकता बोकेर नेपाली छोरी बुहारीहरू अझै कति प्रताडित हुनुपर्ने हो भने गम्भीर प्रश्न पाठकप्रति लक्षित रहेको सजिलै बुझ्न सकिन्छ । त्यसैले डोहो डोहो डोल्पो नियात्रा सङ्ग्रह यात्रा सङ्ग्रह मात्र नभएर समाजमा रहेका असामानता र कुरीतिहरुलाई छर्लङ्ग बनाएर देखाउने ऐनाको रूपमा पनि उभिएको छ । त्यसैले यस कृति यात्रा संस्मरण मात्र नभएर नारी अस्मिताको र अस्तित्वको खोज गर्ने सशक्त आवाज हो पनि भन्न सकिन्छ ।
त्यसपछि बजेन मोबाइलबाट सुरु भएको नियात्रा त्रिपुरासित जम्काभेट गरेपछि सक्किएको छ । यात्रामा भेटिएका भेलपुरी जोडीको प्रेमालाप र बातचित, बीचबीचमा प्रयोग भएका काव्यात्मक श्लोकहरू, बाटामा भेटिएका यात्रीहरूका विविध कथाव्यथा आदिले नियात्रालाई सरस र सुललित बनाएको छ । कवि उमानाथ शास्त्री र कवि निर्मोही व्यासका काव्यांशहरू यस सङ्ग्रहमा प्रयोग प्रयोग भएको देखिन्छ । ती काव्यांशहरूले पनि जीवन दृष्टिको, अस्तित्वको र साहसको उत्खनन गरेर मानवीय चेतनामा सकारात्मक ऊर्जा प्रवाह गरेको पाइन्छ ।
समग्रमा भन्नुपर्दा डोहो डोहो डोल्पो नियात्रा सङ्ग्रह साहस, अत्यास र संत्रासकाबिचमा पनि सफलतापूर्वक पार लगाइएको यात्रा संस्करणको प्रतिछायाँ बनेको छ । प्राकृतिक विकटता भन्दा ठुलो सकस भावनात्मक विकटताले दिने गर्दछ भन्ने कुराको पुष्टि यस कृतिले जीवन्त ढङ्गले गरेको छ । अनुमति पत्रबिनाको यात्रा, त्यसमा पनि जोखिम क्षेत्रको यात्रा आफँैमा चुनौतीपूर्ण त हुन्छ नै ,त्यसमाथि आफ्नो अस्तित्वको रक्षा आफँै गर्न सक्ने स्वतन्त्रताको विषयमा बोल्दा “बास्ने पोथीको” ट्याग हरेक कर्मशील महिलालाई लगाइएकै हुन्छ । लेखकले यी विषयका कुनै प्रर्वाह नगरी आफ्नो लक्ष्यमा दृढ रहेर यात्रालाई सफल बनाएर टुङ्ग्याएको देखिन्छ । आफ्नै देशको सौन्दर्य नियाल्नका लागि कतिपय परिस्थितिहरूबाट वञ्चित रहेका आम नेपाली पाठकलाई यो एउटा दृश्यात्मक सामग्रीका रुपमा प्रभावशाली भएर रहनेछ भन्ने कुरामा कुनै दुईमत छैन ।