संस्मरण
एउटा अभिमन्यु चक्रव्यूहभित्र
निस्सासिएर,
असंख्य वाण र तरबारका घाउसँग
देह त्याग गर्दा
हजारौँ अभिमन्यु अगाडि आउँछन् ।
द्रोणाचार्यको चक्रव्यूह तोडिन्छ,
कुरुसेनाका हरेक महारथीको शिरमाथि
काल आएर बस्छ ।
स्वयं सेनापति द्रोणाचार्य भयभीत हुन्छन्,
सन्त्रास फैलिन्छ,
अभिमन्यु, अभिमन्यु देखिन्छन् ।
“अभिमन्यु, तिमी जित्यौ, हामी हा¥यौँ ।
गोलोकमा तिमी स्वामी, हामी चाकर हुनैछौँ ।
यसलोकमा हाम्रा शाखा–सन्तान
देवरूपमा तिम्रो पूजा गर्नेछन् ।“
एउटा अभिमन्यु ढल्दै गर्दा
कैयौँ अभिमन्यु उठ्छन् ।
महारथीहरूलाई प्राप्त श्रापहरू
अभिमन्युका अस्त्र बन्छन्,
एक–एक गरी सबै मारिन्छन् ।
पुत्रशोकमा मृत्युको श्राप थियो
द्रोणाचार्यलाई ।
कठोर तपबाट पुत्रलाई
चिरञ्जीवी बनाएका थिए ।
“अश्वत्थामा हतः“ सुन्दै
देह त्याग गरे ।
गुरुबाट श्रापित
अमोघ अस्त्रले
अङ्गराज कर्ण ढले ।
जिउनका लागि धेरै कवच थिए
जयद्रथसँग ।
सूर्यास्त नहुँदासम्म बचाउने
जिम्मा पनि लिएका थिए ।
न त कवचले काम ग¥यो,
न त जीवन बचाउन सके ।
अट्टहास हाँसोसँगै
इहलिला समाप्त भयो ।
अभिमन्यु–वधले
अर्जुनमा ईख पलायो ।
ईख नभएको मान्छे
विष नभएको सर्प हुँदैन भनेझैँ,
कुरुसेनामा प्रलय मच्चायो ।
समयको गति हो,
समय काल हो
र सबैका लागि आउँछ ।
त्यही समय आयो,
अभिमन्युलाई लगेर गयो ।
कैलासकुमार पाण्डेय
परशुराम–१२, डडेल्धुरा