• २०८१ पौष २९ सोमबार

बिमार छ मेरो देश

दीपक चौलागाई

दीपक चौलागाई

आमाको अधरबाट
खुसीको एक थुङ्गा मुस्कान टिपेर
मुग्लान पसेको
तपोभूमिको मान्छे म
मरूभूमिलाई हराभरा पार्न
अरब आएको छु

पुराण कालमा
मरेपछि पापको सजाय कटाउन
रौरव पठाइन्थ्यो रे
भोको पेटमा अन्नको तरान हाल्न
जिउँदै
रौरव अर्थात् अरब आएको छु

आफ्नै देशको कानून नजानेर
विदेसिएको मान्छे म
अरबको कानुन कसरी जानू !

यो हन्डरको खाडीमा
तेलखानीका खाडलहरू झैं
कानुनका निर्दयी खाल्डाहरू छन्
कतिखेर
कुन खाल्डोमा खस्ने हो थाहा छैन
कानुनको कुन दफामा फसेर
कुन भुक्तमान भोग्नु पर्ने हो थाहा छैन

छाडिजाने बटुवालाई
सुखको बाटो बनाउँदा बनाउँदै
स्वयं बाटो बनेका ‘बा’
बुढेसकालको ढाड सोझ्याउँदै
दमले थलिएकी आमाको उपचार गर्न
अस्पताल धाउँदै होलान्
बाको भरोसाको पाखुरा समाउँदै
आमा खलातीले झैं लामो सास फेर्दै होलिन्
आमाको आयुको म्याद थप गर्न
बा डाक्टरसंग बिन्ती बिसाउदै होलान्
तर मेरो देशमा बाँच्न
सास पनि किन्नु पर्छ भन्ने
मेरा बालाई थाहा छ कि छैन !

डाक्टरले
दशौं वर्ष पुरानो पुर्जीमा
दसथरि औषधि लेखिदिए होलान्
ओखती किन्ने पैसा नभएर
बा फुटेको कर्मलाई दोष दिदै होलान्
दमको रोगी आमाको उपचार गर्न
दामको बिटो चाहिन्छ भन्ने
मेरा बालाई थाहा छ कि छैन !

सन्तानका लागि सुखको मूल फुटाउन
सिङ्गो जवानी लुटाउने बा
दुःसखको पहिरो पन्छाउन
सिमे, भूमे मन्छाउँदै होलान्
पन्ध्रै वर्षको उमेरमा
पसिनाको भारी बोकेका
मेरा परिश्रमी बालाई
गरीवीको कारण थाहा छ कि छैन !

अरबको
पचास डिग्री रापमा
कहिले आउछ हनहनी ज्वरो
ड्युटीमा गयल हुदा
हरेक दिन
काटिन्छ मेरो सपनाको एक अंश
बा !
ड्युटी नजाउँ गैरीखेतको डर छ
जाउं रातो बाकसको सम्झना आउँछ

साहुलाई
गैरीखेतको तमसुक लेखेर
खाडी पसेको
अग्लो देशको मान्छे म
भूगोलको किताबमा लेखिएको छ
मेरो देश प्राकृतिक सम्पदाले भरिपूर्ण छ
धर्मशास्त्रले तर्क गर्छ
मेरो देश तपस्वीहरूका लागि स्वर्ग छ
समाजशास्त्रले ठोकुवा गर्छ
मेरो देशमा
रातमा पनि चेतनाको सुर्य जागा बस्छ
इतिहासले दाबी गर्छ
मेरो देशसंग
शान्ति र संस्कृतिको पुरानो साइनो छ
तर पनि मेरो देश किन यति बिमार छ !

बाबाको आखाबाट
आशाको एक झिल्को रंग टिपेर
आमालाई अक्सिजनको परान हाल्न
मुगलान झरेको
जिउँदो तारा जन्माउने देशको मान्छे म
दुखको अरेवियन सागर तरेर
हराएको आभा खोज्दै अरब आएको छु ।


दीपक चौलागाई