बीसको दशकदेखि कविताका क्षेत्रमा कलम चलाउँदै आएका शैलेन्द्र साकार कविसँगसँगै कथाकार र निबन्धकार पनि हुन् । अहिलेसम्म उनका छ कविता, तीन कथा र एक निबन्ध तथा दुई सहलेखन, चार सम्पादन गरी १६ वटा कृति प्रकाशित छन् । प्रस्तुत छ- साहित्यकार साकारसँग उनको सिर्जनायात्रा र अहिलेको साहित्य सम्बन्धमा अक्षरङ्गका लागि रमण घिमिरेले गरेको वार्तालापको सम्पादित अंश ।
अहिले के लेख्दै हुनुहुन्छ ?
आफू जन्मेदेखि २०५० सालसम्मको आत्मकथा जस्तो लेखेको थिएँ- ‘भोजपुरे हुलाकीको कथा’ । त्यो गत वर्ष प्रकाशित भयो । त्यसपछिका घटनाक्रमहरूलाई समेटेर अर्को भाग लेखिसकेँ । ०३६ सालदेखि प्रकाशित भएका र पछि लेखेका उत्कृष्ट कविताहरू छानेर एउटा अर्को सङ्ग्रह निकाल्दैछु ।
तपाईं त साहित्यमा आन्दोलन गर्ने कवि । ‘अस्वीकृत जमात’, ‘बुटपालिस’ र ‘सडककविता- क्रान्ति’ जस्ता साहित्यिक आन्दोलनहरूमा मा सक्रिय सहभागी हुनुभयो । यी क्रान्तिका उद्देश्य के थिए ?
यस्ता क्रान्तिमा समकालीन कुरा हुँदारहेछन् ।
जस्तो ‘अस्वीकृत जमात’ किन गरिएको थियो ?
त्यस वेला कवि बासु शशी दाइकहाँ तीनजना बङ्गाली कविहरू आएका थिए । कुराकानीका सिलसिलामा तिनीहरूले भने- ‘जीवनमा सत्य कुरा नलेख्ने भए अरू नै व्यवसाय गरेर जीविका गरे भइहाल्यो नि ! किन कविता नै लेख्नूु ?’ यसले हामीलाई प्रभाव पारयो । अनि कुनै ठूलो पद नभएका, खास अस्तित्वमा पनि नरहेका, समाजबाट अस्वीकृत, हेपिएका र शोषित मानिसहरूका बारेमा लेख्ने भन्ने आधारभूमिमा २०२६ सालमा कविताराम श्रेष्ठ र मैले ‘अस्वीकृत जमात’ घोषणा गरेर आन्दोलन छेड्यौँ । मानिसको जीवन पानीजस्तै सलल बग्ने गतिशील हुनुपर्छ र मानिसलाई पुनप्रतिष्ठापन गर्नुपर्छ भन्ने विचारबाट प्रेरित थियो अस्वीकृत जमात ।
अनि ‘बुटपालिस’ आन्दोलन ?
सूर्यबहादुर थापा प्रधानमन्त्री हुँदा पत्रपत्रिका दर्ता गर्न प्रतिवन्ध लगाइयो । सामयिक सङ्कलन प्रकाशित गर्न पनि अञ्चलाधीशको स्वीकृति अनिवार्य गरियो । अनि शिक्षित मानिसले पत्रिका निकाल्न पाउँदैन भने अब बुटपालिस गर्ने भनेर हामीले साङ्केतिक रूपमा २०३१ सालमा ‘बुटपालिस’ आन्दोलन गरेका थियौँ ।
तपाईंले बुटपालिस पनि गर्नुभयो कि आन्दोलन मात्र चलाउनुभयो ?
गरेँ नि । बिहान आठ बजे नै नयाँसडक पीपलबोटमा म, ध्रुव सापकोटा, मोहन घिमिरे र कविताराम श्रेष्ठ हामी चारजना ब्रस र पालिस अगाडि राखेर बुटपालिस गर्न बस्यौँ । दिउँसो त अरूहरू पनि थपिए । भवानी घिमिरे, कुमुद देवकोटा, मनु व्राजाकीहरू चाहिँ बुटपालिस गराउने मान्छे खोज्नेमा थिए । बालकृष्ण समले आफ्ना जुत्तामा पालिस गराएर पाँच रुपियाँ दिए । बुटपालिस गर्न बसेका हामीले सडकमा त चप्पल लगाउनेहरूको मात्र आोहार दोहर देख्यौँ । जुत्ता लगाउने नै नभएपछि केको बुटपालिस ? तर विदेशी मिडिया र अरू सचेत मानिसको आन्दोलन हेर्न ठूलो भीड लागेको थियो, । मैले त्यो वेला ‘बुटपालिस’ शीर्षकमा एउटा कविता पनि लेखेको थिएँ । बेलुका हामीले त्यसको सजाय पनि पायौँ ।
कस्तो सजाय ? प्रशासनले समात्यो ?
होइन । भवानी दाइले बेलुका भएपछि ‘सांस्कृतिक कार्यक्रम’ (मापसे) गर्नुपर्छ भनेपछि असनको एउटा रेन्टुरेन्टमा गएर दारुपानी गर्न थालेको त सादा पोसाकमा प्रशासनका मानिसहरू आएर धम्क्याए । ‘दिउँसो बुटपालिस आन्दोलन गर्ने तैँ होइनस्’ भनेर तिनीहरूले कविताराममाथि आक्रमण गरे । म युवा र बलियो थिएँ- तिनीहरूसँग भिडेँ । मैले एउटालाई पछारेँ, उसले पनि मलाई पछार्यो । एउटाले मेरो मुखैमा मुक्का हान्यो । मैले त मेरो दाँत गयो भन्ने ठानेको थिएँ तर केही भएनछ ।
अनि ‘सडककविता- क्रान्ति’को रूपरेखा कसरी बनाइयो ?
यो २०३६ सालको कुरा हो । जनमतसङ्ग्रहको घोषणा भइसकेको थियो । नयाँसडकको एउटा होटलमा चिया खाँदै भवानी दाइले बनाउनुभएको योजना हो यो । मोहन कोइरालाले चाहिँ ‘सडकमा कविता’ मात्र भन्नुभयो । तर भवानी दाइले ‘सडक कविता- क्रान्ति’ भनेर आन्दोलनकै रूपमा कविता वाचन गर्नुपर्छ भनेपछि सडकमा उत्रियौँ ।
त्यस वेलाको एउटा रोचक कुरा छ । भवानी दाइले एउटा हाते माइक खोज्नुभयो, माइक बोक्ने मान्छे सहित । पछि थाहा भयो, त्यो माइक बोक्ने मान्छे त सिडिओले पठाएको सिआइडी पो रहेछ । तर राजाबाट नै जनमतसङ्ग्रहको घोषणा भइसकेकाले हामीलाई कार्बाही त भएन तर त्यस वेला कसरी सिआइडी पछि लगाइन्थे भन्ने कुराको भने यो एउटा उदाहरण हो ।
तपाईंको कार्यालयले रोकेन ?
गर्यो नि ! म कृषि विकास बैङ्कमा काम गर्थें । बहुदल हारेपछि मलाई सरुवा गरेर सुनसरीको दुर्गम गाउँ हरिनगरा सरुवा गर्यो । त्यहाँ रातीराती डाका लाग्थ्यो । डाकालाई घरहरू लुटेर पनि सन्तोष नहुने, सबै घरमा आगो झोसेर फर्किन्थे । बैङ्कमा एउटा मोटरसाइकल थियो । दिनहुँ कसै न कसैलाई सर्पले टोक्थ्यो, त्यसलाई उपचार गर्न इनरुवा पुर्याउनु पो हाम्रो जागिर भयो ।
तपाईंको खास नाम त शङ्करप्रसाद श्रेष्ठ हो, कसरी शैलेन्द्र साकार हुनुभयो ?
परिवारमा सबैले प्रधान लेख्थे, म मात्र कसरी श्रेष्ठ हुनपुगेँ ? थाहा छैन । हिन्दीका ‘नीरज’, ‘अज्ञेय’हरूको सिको गरेर साहित्यमा ‘साकार’ लेखेर ‘रचना’मा कविता पठाएको थिएँ । घनानाथ शर्मालाई ‘रचना’ को सम्पादक हुँदा भैरव अर्यालले रोचक घिमिरे बनाइदिएछन् । हो, तिनै रोचकले मेरो पहिलो कविता छाप्दा ‘साकार’ अगाडि शैलेन्द्र जोडिदिए । त्यस वेला शैलेन्द्रकुमार उपाध्याय प्रसिद्ध राजनीतिज्ञ भएकाले सायद तिनैको नामको प्रभावले होला, मलाई शैलेन्द्र साकार बनाइदिए ।
तपाईं कुन कविताबाट प्रसिद्ध हुनुभयो ?
शरद्चन्द्र शर्मा भट्टराई हाम्रो हाइस्कुलको हेडमास्टर भएर भोजपुर आएपछि हरेक शुक्रबार कविगोष्ठी हुनथाल्यो । त्यहाँ कविता सुनाउने क्रममा कहिले पहिलो, कहिले दोस्रो- तेस्रो भएँ । काशीनाथ तमोट आदि अरूले पनि लेख्थे । म सँगै लेख्ने मञ्जुल पनि थियो । मञ्जुल र म समवयी र सहपाठी हौँ । प्रसिद्ध कहिलेदेखि भएँ, त्यो भन्न सक्दिनँ । ०३६ सालको ‘सडककविता-क्रान्ति’मा मेरा कविता धेरैले सुने । त्यही वर्ष मेरो दुई कवितासङ्ग्रह एकैचोटि प्रकाशित भए- ‘शैलेन्द्र साकारका कविता’ र ‘कोलाज’ । त्यहाँ देखि म चर्चित भएँ होला ।
सबैभन्दा बढी खुसी कहिले हुनुभयो ?
यो प्याट्टै भन्न सक्दिनँ । बरु दुःखको क्षण चाहिँ थाहा छ ।
कहिले ?
सन् २०१३ मा छोराले आत्महत्या गरेको खबर आयो, अमेरिकाबाट । यो मेरो जीवनको सबैभन्दा दुःखद क्षण हो ।
अमेरिकामा बस्दा के काम गर्नुभयो ?
त्यहाँ पढाइको मतलब हुने कुरै भएन । मैले त्यहाँ एकजना भारतीय र मेक्सिकी भएर खोलेको रेस्टुरेन्टमा पिज्जा बनाउने काम गरेँ । बैङ्कमा हुँदा टिप्पणीमा सही गरेर जागिर खाएको हातले अमेरिकामा पिज्जा बनायो । एकदमै राम्रो पिज्जा बनाउन थालेपछि साहुले पुरस्कार नै दिन्थ्यो । म घुम्न गएको थिएँ । बस्ने क्रममा पिज्जा बनाएँ ।
अहिलेका कवितामा के पाउनुहुन्छ ?
एक वस्तु । अहिले कवितालाई वस्तु बनाइँदै छ । पहिलेका कवितामा विचार हुन्थ्यो, चेतना हुन्थ्यो । समाज र राष्ट्रप्रतिको सोच हुन्थ्यो । अहिले त कवितालाई रोटी बनाएर बेचिँदैछ । त्यो बनाएको रोटी बिकेपछि सकियो कविता । अहिलेको कविता कोम्मोडिटी भएको छ, सामान भएको छ । रोटी बनाएर बेचिसकेपछि त्यो कसैले किन्छ र खान्छ ।अनि सकियो कविता !