• २०८० मंसिर २० बुधबार

राक्षसी

इन्दिरा प्रसाई

इन्दिरा प्रसाई

१.
उसले उठ भन्थ्यो
म उठ्थेँ
उसले बस भन्थ्यो
म बस्थेँ
उसले उत्तानो पर भन्दा
मउत्तानै परिदिन्थेँ
कहिले घोप्टे पर भन्थ्यो
कहिले कोल्टे पर भन्थ्यो
कहिले दौडी भन्थ्यो
कहिले नौटङ्गी नाच भन्थ्यो
मैले युगयुगसम्म
उसले जेजे भन्थ्यो
त्यही त्यही गरिरहेँ
त्यसै त्यसै गरिरहेँ ।

२.
उसले भकुर्थ्यो
उसले कोपर्थ्यो
उसले भुत्ल्याउँथ्यो
उसले थुक्थ्यो
यसो गर भन्थ्यो
उसो गर भन्थ्यो
नानाथरि गर्थ्यो
गर्नुहुने पनिगर्थ्यो
गर्नै नहुने पनिगर्थ्यो
जे निगर्थ्यो
जसो निगर्थ्यो
उगरिरहन्थ्यो
म चुपचाप चुपचाप
सहिरहन्थेँ, सहिरहन्थेँ ।

३.
जुनीजुनीसम्म मैले
उसका हरेक अत्याचार
धरासरी सहिरहेँ
मुटुदुखे पनि
दुखेकै मुटु नै
गहनाजस्तो
पहिरी रहेँ
उसले गरेका
अनाचार पनि
वरदान जस्तो
आफ्नो शिरमा
थपक्क थापिरहेँ ।

४.
उसका हरेक करतुतहरू
मेरै त्यागको
मेरै समर्पणको
साटोमा पाएको
अमूल्य उपहार झैँ
सम्हालिरहेँ, समेटिरहेँ
कतै कसैसँग नकही
प्रेमको अमूल्य बिरुवा जस्तो
लुकाएर
आफैँभित्र रोपिरहेँ ।

५.
जुनीजुनीदेखि
उसैका पाउपूजी रहेँ
आफू भित्रभित्रै
बलेको आगोको लप्काबोकेर
बाहिर उसैको शितल छहारी बनिरहेँ
उसका हरेक अपराधपनि
भाग्य र कर्मकै खेला मानेर
पूर्वजन्म र प्रारव्धको फल ठानेर
फगत स्विकारी रहेँ
भित्रभित्रै मरणनसन्न भएर
निस्सासिँदा पनि
उसका सामु
उसैको प्रेरणाका लागि नै सही
म साक्षात हाँसिरहेँ ।

६.
भित्रभित्रै मरेर पनि
बाहिर बाहिर म बाँचुञ्जेल
मैले सहुञ्जेल
म हाँसुञ्जेल
उ पनि हाँसिरह्यो
आफ्नो अधिकारको
शङ्खनाद गरेर उसले
मेरा शिरमा
आफ्नो पौरखको झण्डा गाडिरह्यो
मलाई खुबै जतन गरेर उसले
उसकै बङ्गाराका कापमा
साँचिरह्यो, साँचिरह्यो ।

७.
उसले मलाई देवी भन्यो
उसले मलाई सती भन्यो
उसले मलाई महान भनेर
मेरो आराधना गरिरह्यो
उसको वङ्गाराका कापमा
रमाएर म बसुञ्जेल
मेरो अर्चनामा
उसले पुष्प वृष्टि नै गरिरह्यो
पूजा थालीमा सिँधुर, पोते
र झिलिमिलि चुरा
छन्छनी बजाएर
उ कङ्कला शब्दमा गाइरह्यो
म अनवरत नाचिरहेँ
म अविरल हाँसिरहेँ ।

८.
उसले देवी भनिदिँदा
म पनि त
मख्ख परिरहेँ
नेल ठोकिएका
हातगोडा माझको कम्मरमा
साँचोको झुत्तो घुसारेर
म पनि त गमक्क परिरहेँ
उसकै सम्पत्ति बनेर
बेघर गृहलक्ष्मीको टाँचा लगाएर
वेवारिसे खित्का हाँसिरहेँ ।

९.
शनै शनै म भित्र
चेतनाको सानो झिल्को बलेपछि
बन्धक खुसीको मुक्ति खातिर
उसका प्रस्ताव
मैले अस्विकार गर्न थालेपछि
लगत्तै उसले मलाई
संस्कारहीन ठहर्यायो
मलाई उसैले वेश्या बनायो
संस्कारहीन र वेश्या बनाइएपछि
वाध्य र विवश
बचाई बाँचेकी म
आतङ्कै आतङ्क भोग्न
निर्धो महत्त्वाकाँक्षा बोकेर
सधैँ  त्रश्त जिजिविषा धारक म
भित्रभित्रै सल्किरहेको ज्वालामा
अनवरत दन्कि रहँदा पनि
मुटु रसाएर जमेको
आफ्नै मौन आँसुको पोखरीमा
आफ्नै लास
तैरिएको देख्दा समेत
म उसैको सेरोफेरोमा
अधमरो बाँचिरहेँ ।

१०.
उसले भने मेरो आँसुसँग
कहिल्यै सरोकारै राखेन
मेरो पीडाको तालमा पनि
रमाएर उ नाची नै रह्यो
म दुखेर छटपटिँ रहेँ
मेरै रगतको आहालको
रक्ताम्मे पोखरीमा पनि
उ भने उसरी नै चम्चमाइ रह्यो
मलाई गिजोली रह्यो
मेरो आत्मसम्मानमा
रजगज गर्दै
मेरो अस्मितामा लात हानिरह्यो ।

११.
मलाई नै थाहा थिएन
मेरो पीडाको पोखरी त
कुनबेला कुनबेला समुद्र बनिसकेछ
त्यही समुद्रको उर्लँदो लहरले
उसलाई बगाउन थालेछ
अनि उसँगै गाँसिएकी म पनि
बग्न थालेँछु ।

१२.
समुद्री जनावरको मुखमा परेको
उसलाई देखेर
रमाउने तरखरको मेरो स्वत्व
ढुङ्गामा ठोक्किए पछि
झल्याँस्स बिउँझिएँछु
तर त्यहाँ म पनि थिइन
समुद्री जीवकै पेटभित्र
परिसकेको अनुभूतिमा
खोइ कता हो कता म हराएँ
हराएको आफैँलाई म खोज्दै थिएँ
मैले मेरो म खोजिरहेँ ।

१३.
उसले तोकेको आसनमा
नचटपटाई बसेकी म
उसैले बनाएको भर्याङमा उक्लेर
म मनै हुन नसकेको सत्यसँग
साक्षात्कार गर्न खोज्दै थिएँ
अचानक
मेरो आकार बढ्दै गएको समेत
मलाई नै हेक्का भएन ।

१४.
मेरो रूपमा कतिबेला
र कसरी परिवर्तन भयो ?
म त अर्कै, अर्कै
र एकदम अर्कै भएँछु
म त उसका लागि
मात्रै होइन
आफ्नै लागि पनि
कतिबेला कतिबेला
पराई पो भइसकेँछु
मैले आफूले आफैँलाई पनि
पटक्कै चिन्न सकिन ।

१५.
एक दिन
अचानक ऐनामा
आफ्नै छायाँ देखेँ
आफ्नै पहिचान गुमाएका
न्यास्रा दृष्टि त्यहाँ थिए
विराना विराना
मेरा अनुभूति
मसँग अँगालो मारेर रून थाले
अत्तालिएँ म
म आफैँ तर्सिएँ
ऐनाभित्र म होइन
राक्षसी आकार थियो
राक्षसी आकारले
मलाई चिच्याउँदै भन्यो
’तँ तँ होइन
तँ अब राक्षसी !’

१६.
अहिले म भागिरहेछु
मेरै छायाँले
मलाई लखेटिरहेछ
म एकनास दौडिरहेछु
छायाँ नजिक नजिक छ
म थाकि सकेकी छु
अब चाँडै मैले
राक्षशी छायाँमा समाहित हुनैपर्छ
थाहा छैन
त्यसपछि के हुने हो ?


इन्दिरा प्रसाई स्थापित साहित्यकार हुन् ।
[email protected]


आवरण

Letters

गजल