बग्दै गरेको
एउटा फूलको पत्र भेटेँ
र हातमा उठाएँ
औँलामा बसेको
पत्रले सोध्यो-
तिमी मान्छे हौ ?
हो भने मलाई नबचाऊ
बग्न देऊ
बाँचेर मान्छेझैँ जम्नुभन्दा
मरेर पानीमा बग्नु
आनन्द लाग्छ मलाई !
बल्दै गरेको दियो
किनारमा बग्दै गरेको देखेँ
र औाँले च्यापेर
बगरमा निकालेँ
दियोले भन्यो-
तिमीजस्तै मान्छेले
बालेर बगाएको हो मलाई
बल्न देऊ
निभेर मान्छेजस्तै
पलपल जल्नुभन्दा
जल्दै बग्नुमा
मजा लाग्छ मलाई ।
आधा जलेर
आधै अँगार भएको
दाउराको टुक्रो
पछिपछि बग्दै थियो दियो सँगै
तर उसलाई मैले वास्तै गरिनँ
न म बोलेँ, न बोलाएँ
उसैले सोध्यो-
मलाई चैँ बाहिर निकाल्दैनौ ?
इसारामा मुन्टो हल्लाएँ- अहँ !
उसैले भन्यो- निकाल न
एकपटक भए पनि
तिमीजस्तै मान्छेलाई भन्नु छ-
न जल्नु आफैँलाई सिध्याएर
अरूको उज्ज्यालोका लागि जल्दा
कस्तो बनिन्छ
हेरे हुन्छ मलाई !
आफ्नै गतिमा थियो पानी
हात धोएँ र शिरतिर चढाएँ
बगिरहेको पानी
अलिकति छाल बनेर उठ्यो
र छेउमा आएर सोध्यो-
तिमीचाहिँ केही बगाउँदैनौं ?
यहाँ आउने त त्यसै फर्कंदैनन्
तिमीचाहिँ केही चढाउँदैनौ ?
म बोलिनँ !
तर पानी बोल्न रोकिएन-
तिमीजस्तै मान्छे
फूल चुँडेर ल्याउँछन्
र मलाई चढाउँछन्
अनि प्रेमको भाकल गर्छन्
दियो जलाउँछन् र बगाउँछन्
अनि प्रेमकै कामना गर्छन्
बल्दै गरेको दाउरा मैमाथि फाल्छन्
र आगो निभाउँछन्
अनि मायाकै कुरा गर्छन्
आफ्नो सिद्धि पूरा गर्न
मलाई फोहोर पार्छन् !
मसँग नबोले पनि
एउटा कुराचैँ सोधिदेऊ न मान्छेलाई-
चुँडेको फूलले
माया जोडिदिन्छ होला र ?
बगेको दियोले
माया खोजिदिन्छ होला र ?
माया त उज्ज्यालोको लागि पो गरिन्छ त
बलेको आगो निभाएर
मायाको ज्योती भेटिन्छ होला र ?
र यो पनि भनिदिनु उसलाई-
दुनियाँमा मान्छे
मायाविना मरेका छैनन्
तर मान्छेहरू
पानीविना बाँचेका छैनन्
बाँच्न चाहनेले
पानीलाई माया गरे हुन्थ्यो
फोहोर फालेर
ममाथि हिंसा नगरे हुन्थ्यो !
अरूलाई फोहोर पार्नेले
आफ्नो मायालाई बेदाग राख्न सक्दैन
अरूमाथि हिंसा गर्नेले
आफ्नो मायालाई निसाफ दिन सक्दैन !
(कट्टेल चर्चित साहित्यकार हुन् ।)
[email protected]