सिरियाको कविता

म चुपचाप छु यतिबेला
नाङ्गा नाँचहरू
एक तमासले हेरिरहेछु
नियालिरहेछु दूर देशसम्म
अबोध बालिकामाथि
बाघलेझैँ झम्टिएर
मारिदिने नरभक्षी
सम्झिँदा पनि
मथिङ्गल हल्लिएको छ
के थाहा
त्यो कलिलो मस्तिष्कलाई ?
यौनको विषय
कस्तो पिपासु सन्तानलाई
जन्म दियौं आमा ?
कस्तो अशुभ समयमा
गर्भधारण गरेर
लिएर आयौ यस लोकमा ?
मेरो प्रश्न छ तिमीसँग
यस्ता कलङ्कलाई
जन्म दिनुभन्दा
कोख बाँझै रहेको भए
अति वेश हुन्थ्यो तिम्रो
आमा
र बहिनी नचिन्ने
आफ्नै रगतमा
आफ्नै बीज उमारेर
आफ्नै रगत
घट्घट पिउन सक्ने
यो कस्तो
पुरुष जन्तु हो आमा ?
कुन रतिरागलाई
उजागर गरेर
कुन समयमा
कस्तो बीज रोपिदियौ
आमाको गर्भमा
र यस्तो कुलङ्गार जन्मियो ?
बाबा !
तिमीलाई प्रश्न छ मेरो
यस्ता नरपिचाशलाई
जन्म दिनुभन्दा
तिम्रो बिजाणु
नपुंसक भएको भए
अति वेश हुन्थ्यो ।
म छोरी हूँ
म एउटी नारी हूँ
एउटा अद्भुत
सोच लिएर
कुन्तीले
भगवान् सूर्यको गर्भधारण गरेर
सन्तान जन्माएझैँ
जल
तेज
पृथ्वी
वायु
र आकाशको
गर्भाधारण गरेकी छु
मेरो कुमारित्व भर्खरै
नष्ट गरेर
म गर्भिणी भएकी छु
यतिबेला
तपाईं ठान्नुहुन्छ
मैले पेट बोकेकी छु
तर
मैले मेरो पेटभित्र
पेट बोकेको होइन
महाशय !
अन्यायका विरूद्ध
एक्लै लड्न सक्ने
जिम्मेवार
र कर्तव्य निष्ठ
एउटा
नागरिकको भ्रूण
तयार गरिरहेकी छु
त्यसले
निकट भविष्यमै
नराधमहरूको
समाप्ति पश्चात्
एउटा, बुद्ध विश्वास
र अर्को कृष्णसाहस
फैलाएर समाजमा
स्थापना गर्नेछ
सत्यम् , शिवम् ,सुन्दरम् ।
हो म गर्भिणी छु यतिबेला
एउटा नागरिकको
भ्रुण तयार गरिरहेकी छु ।
(काफ्ले चर्चित कवि हुन् । )
[email protected]