समाचार

नेपाल सङ्गीत तथा नाट्य प्रज्ञाप्रतिष्ठानले विविध विधामा दिइने ‘नेपाल सङ्गीत तथा नाट्य राष्ट्रिय प्रज्ञापुरस्कार – २०७९’ वितरण गरेको छ । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञाप्रतिष्ठानकी कुलपति निशा शर्माको सभापतित्वमा सम्पन्न पुरस्कार समर्पण कार्यक्रममा उपराष्ट्रपति रामसहायप्रसाद यादव प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो ।
हरेक वर्ष सङ्गीत, नाटक तथा नृत्य विधामा महत्त्वपूर्ण योगदान पुर्याउने स्रष्टाहरूको पहिचान गरी नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले ‘नेपाल सङ्गीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार’ प्रदान गर्दै आएको छ । प्रतिष्ठानले यसअघि नै, आफ्नो स्थापना दिवसको अवसरमा आयोजिक कार्यक्रममार्फत् पुरस्कृत स्रष्टा तथा सर्जकहरूको नामवली घोषणा गरेको थियो । उक्त घोषणाअनुसार आज (असार १२) गते पुरस्कृत स्रष्टाहरूमा पुरस्कार तथा सम्मानपत्र समर्पण गरिएको हो ।
पूर्व घोषणाअनुसार सङ्गीत विधातर्फको पुरस्कार सङ्गीतकार तथा साहित्यकार गणेश रसिकलाई प्रदान गरिएको छ भने लोकसङ्गीत विधातर्फको लोकगायक नवीनकिशोर राईलाई समर्पण गरिएको छ । त्यस्तै, परम्परागत तथा शास्त्रीय सङ्गीत विधातर्फको पुरस्कार सङ्गीत साधक विजयकुमार श्रेष्ठ, नाटक विधातर्फको प्रा.डा. रामचन्द्र पोखरेल, रङ्गमञ्च विधातर्फको पुरस्कार निर्देशक भैरव क्षत्री तथा नृत्य विधातर्फको पुरस्कार लोक–नृत्यकार कुलमान नेपालीलाई प्रदान गरिएको छ ।