• २०८३ जेष्ठ २४, आईतवार

झिल्का कवितासङ्ग्रहका पुस्तकहरू सार्वजनिक

काठमाडौँ ।

झिल्का साहित्य समाजको आयोजनामा झिल्का कवितासङ्ग्रहका पुस्तकहरू विमोचन तथा वाचन कार्यक्रम सम्पन्न गरिएको छ । झिल्का साहित्य समाज नेपालका अध्यक्ष एवम् झिल्का प्रवर्तक वसन्त अनुभवको अध्यक्षता र नेपाल प्रज्ञा प्रतिष्ठानको पारिजात प्रवचन कक्षमा नेपाल प्रज्ञा प्रतिष्ठानका निवर्तमान सदस्य सचिव डा. धनप्रसाद सुवेदीको प्रमुख आतिथ्यतामा नवीनतम् काव्यिक विधा झिल्का कविताका ३ वटा पुस्तकहरू विमोचन भएका थिए ।

विमोचित पुस्तकहरूमा नेपाल, भारत लगायत विश्वका विभिन्न मुलुकहरूमा रहनुभएका ८३ जना नेपाली भाषी झिल्काकारहरूको संयुक्त झिल्का कवितासङ्ग्रह ’आवाज’, झिल्काकार वसन्त अनुभवको एकल झिल्का कवितासङ्ग्रह ’अनुभव’ र झिल्काकार सुरेशकुमार पाण्डेको झिल्का कवितासङ्ग्रह ’आँगन’ रहेका थिए ।

कार्यक्रमका सभाध्यक्ष अनुभव र प्रमुख अतिथि सुवेदी लगायत् विशिष्ट अतिथिहरू साहित्यकार ललिता दोषी, हरिवन नगर वाङ्मय प्रतिष्ठानका कुलपति घनश्याम पन्त, हाम्रो लघुकथा केन्द्रका संस्थापक अध्यक्ष लता के.सी. , नेपाल हाइकु समाजका अध्यक्ष चेतनाथ धमला, टुक्का साहित्य समाजका कोषाध्यक्ष होम प्रसाद नेउपानेले कृतिहरूको सामूहिक विमोचन गर्नु भयो । विमोचित कृतिहरूमध्ये ’अनुभव’को समीक्षा समीक्षक प्रमोद नेपालले, ’आँगन’को समीक्षा समीक्षक अनुराग अरुणले र ’आवाज’ संयुक्त झिल्का कवितासङ्ग्रहको समीक्षा समीक्षक अरुण बहादुर खत्री नदीले गर्नुभएको थियोे ।

कार्यक्रममा कृति निकालेवापत ’झिल्का साहित्य समृद्धि सम्मान २०८३ बाट झिल्काकार सुरेशकुमार पाण्डेलाई, झिल्का कवितालाई पत्रिकामा प्रकाशित गरेर टेवा पु¥याए वापत झिल्का साहित्य समान २०८३ ’द्वारा, अग्रिम साप्ताहिक र संसार न्युजलाई सम्मान गरिएको थियो। त्यस्तै आवाज झिल्का संयुक्त सङ्ग्रहमा समाविष्ट सबै सर्जकहरूलाई ’झिल्काश्री साहित्य सम्मान २०८३ द्वारा सम्मानित गरिएको थियोे । उक्त अवसरमा दुई दर्जन बढी अतिथिहरूलाई मायाको चिनो प्रदान गरिएको थियो । पानसमा दीप प्रज्वलन गरी उद्घाटन गरिएको उक्त कार्यक्रममा राष्ट्रिय गान बजाएपछि झिल्काकार रामप्रसाद पुरीले सबै अतिथिलाई स्वागत मन्तव्यद्वारा स्वागत गर्नुभएको थियो ।