• २०८३ जेष्ठ २०, बुधबार

पर्यासाहित्यको अर्थ र उद्देश्य विषयक विमर्श सम्पन्न

चितवन ।

पर्यासाहित्यको अर्थ र उद्देश्यका बारेमा नारायणगढमा विमर्श भएको छ । दोस्रो बागमती साहित्य महोत्सव उद्घाटनका दिन भरतपुरका डिभिजनल वन अधिकृत (डीएफओ) विष्णुप्रसाद आचार्यले लेखक साहित्यकार रोशन शेरचन, लक्ष्मी रुम्बा र कमलजंग कुँवरसँग ‘पर्यासाहित्यको आँगन, फराकिलो कि साँधुरो’ शीर्षकमा केन्द्रित रहेर यसबारे मन्थन गरेका हुन् । वन विज्ञान नै अध्ययन गरेका शेरचनले नेपाली साहित्यमा प्रकृतिको वर्णन नौलो विषय नभएको र पर्यासाहित्यको इतिहास पनि लामो नभएको बताए । ‘प्रकृतिलाई बिम्ब र रसमा मात्रै नभएर पर्यावरणले बेहोरेको संकटको चर्चा गर्दै त्यसका कारणहरु पनि खोतल्नु पर्दछ । त्यसपछि संरक्षणको सन्देश दिन सक्नु पर्छ, पर्यासाहित्यको अर्थ यही हो । प्रकृतिको गुणगान गरेर मात्रै हुँदैन,’ उनले भने ।

अर्का वक्ता लक्ष्मी रुम्बाले पर्यावरणीय संकटको सिधा असर आदिवासी जनजातिहरुलाई पर्ने देखिएको बताइन् । ‘रुख, जंगल मासिए सिंगो समुदायको जीवनशैलीलाई असर गर्दछ । यो आवाजलाई उठाउन आवश्यक छ,’ उनले भनिन् । पर्यासाहित्य प्रतिष्ठानका कोषाध्यक्ष रहेकी रुम्बाले पर्यावरण संकटले निम्त्याउने दुःखका बारेमा सजग र सचेत गराउन पर्यासाहित्य आवश्यक भएको विचार राखिन् ।

चर्चित पुस्तक ‘गैंडालाई चार वर्ष’का लेखक चितवन राष्ट्रिय निकुञ्जका पूर्वप्रमुख संरक्षण अधिकृत कमलजंग कुँवरले रुख प्रकृतिको सन्तुलन मिलाउने आधार हो भनेर बुझ्ने कि काटेर कुर्ची, टेवल दराजजस्ता सामग्री बनाउन उपभोग गर्ने भन्ने बोध पर्यासाहित्यले गराउनुपर्ने बताए । साहित्यका सबै विधा आख्यान, काब्य, निबन्ध, नाटकहरुमा पर्यासाहित्यलाई फराकिलो ठाउँ दिन उनले आग्रह गरे । नेपालमा पर्यासाहित्यको सुरुवात भएको तीन दशकको हाराहारी मात्रै भएकोले यसको अवस्थाबारे मूल्यांकन गर्न हतार हुने शेरचनको मत थियो । लक्ष्मी रुम्बाले विश्वव्यापी संकटका कारण उदाएको पर्यासाहित्य साँधुरोबाट फराकिलो यात्रामा लागेको र अहिले मध्यम अवस्थामा पुगेको धारणा राखिन् । कमलजंग कुँवरले यसलाई शैक्षिक, प्राज्ञिक र आध्यात्मिक क्षेत्रमा पनि जोड्नु पर्ने बताए ।

प्रकृतिविरुद्धको युद्ध जित्न नसक्ने हुँदा दोहन हैन, सही उपभोग गर्नु पर्ने कुँवरको भनाइ थियो । निकुञ्ज, आरक्ष, संरक्षित क्षेत्रहरुको अवधारण यही सोचले आएको उनले उल्लेख गरे । निकुञ्ज या संरक्षित क्षेत्रमा स्थानीयले उपभोग गर्ने विभिन्न उत्पादनहरु रोकिँदा परम्परागत ज्ञान र प्रविधि हराउन थालेको र यसले पर्यावरणमा संकट थप्ने चिन्ता गर्दै बिना थिङले सोधेको प्रश्नमा कुँवरले यस्तो जवाफ दिएका थिए । ‘आदिवासीको परम्परागत पेसा र जीवनका आधारबारे विचार हुने गरेका छन् । निकुञ्ज हुँदै बग्ने खोलाहरुमा सुरुमा हो माछा मार्न बन्दै भएको । पछि यसैमा आश्रित आदिवासीलाई निश्चित मापदण्ड बनाएर दिइयो,’ कुवँरले भने ।

बागमती साहित्य महोत्सव दुई दिनसम्म चल्ने छ । जहाँ साहित्यका विभिन्न पक्षहरुका बारेमा बहस हुनुका साथै, नाटक, गीत, संगीत, गजल र कविता प्रस्तुत हुने छन् ।