कविता
नारायणगढ ।
बागमती साहित्य महोत्सव–२०८३ १३ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ। दुई दिनसम्म सञ्चालन भएको महोत्सवले नेपालका सबै भाषा, साहित्य, सङ्गीत, नाट्यकला, ललितकला तथा संस्कृतिको संरक्षण, अनुसन्धान र प्रवर्धनका लागि भएका विमर्श प्रभावकारी रहेको निष्कर्ष निकाल्दै यस्ता महोत्सवलाई निरन्तरता दिन सङ्घीय, प्रदेश, जिल्ला तथा स्थानीय तहका सरकार र प्राज्ञिक संस्थाहरूलाई आफ्ना नीति तथा कार्यक्रममा समावेश गर्न आग्रह गरेको छ । घोषणापत्रमा गोष्ठी तथा पुरस्कार वितरणमा मात्र केन्द्रित साहित्यिक गतिविधिभन्दा साहित्यलाई नयाँ चेतनाको कोणबाट अध्ययन–अनुसन्धान गर्नुपर्ने उल्लेख गरिएको छ । साथै मूर्तिकला, चित्रकला, सङ्गीत, नृत्य, संस्कृति, पर्यावरण र लैङ्गिकताजस्ता विषयसँग साहित्यलाई जोडेर अनुसन्धानलाई प्राथमिकता दिनुपर्नेमा जोड दिइएको छ ।
हरेक साहित्यिक उत्सव तथा सिर्जनालाई बहुभाषिक, बहुसांस्कृतिक र समावेशी बनाउँदै विश्वचेतनासँग जोड्ने तथा स्थानीय पहिचान र इतिहासलाई समेटेर कार्यक्रम तथा सिर्जना गर्नुपर्ने घोषणापत्रमा उल्लेख छ। देशको विविधता, मौलिकता र सौन्दर्यलाई आत्मसात् गर्दै भाषा, संस्कृति, ललितकला, सङ्गीत, दर्शन, रैथाने ज्ञान र सीपको संरक्षण तथा संवद्र्धनलाई सबै तहका योजनामा समावेश गरी त्यसअनुसार बजेट व्यवस्थापन गर्नुपर्ने सुझाव पनि दिइएको छ । घोषणापत्रमा बागमती प्रदेशलाई आध्यात्मिक, प्राकृतिक, सांस्कृतिक तथा ऐतिहासिक सम्पदाले सम्पन्न पर्यटकीय गन्तव्यका रूपमा चित्रित गर्दै साहित्यलाई पर्यटन, पर्यावरण र कृषिसँग जोड्नुपर्ने आवश्यकता औँल्याइएको छ। साथै ग्रामीण तथा सीमान्तकृत समुदायका अलिखित साहित्यलाई दस्ताबेजीकरण गरी तिनका कथा र अनुभवलाई साहित्यमा समेट्नुपर्ने उल्लेख गरिएको छ ।
साहित्यिक उत्सव तथा महोत्सव आयोजना गर्दा भूगोलअनुसारको मौसम र स्थानीय अनुकूलतालाई ध्यान दिनुपर्ने सुझाव दिँदै नयाँ पुस्तालाई साहित्य सिर्जनातर्फ आकर्षित गर्न स्थानीय तह तथा कला–साहित्यसम्बद्ध संस्थाहरूबीच सहकार्य आवश्यक रहेको घोषणापत्रमा उल्लेख छ ।बालबालिका तथा युवापुस्तामा पठनसंस्कृति विकास गर्न विद्यालय, क्याम्पस, विश्वविद्यालय र सार्वजनिक पुस्तकालयमा साहित्यिक पुस्तक तथा पत्रिका खरिदका लागि निश्चित बजेट व्यवस्था गर्नुपर्ने माग पनि गरिएको छ। साथै कृत्रिम बुद्धिमत्ता (एआई) जस्ता प्रविधिको उपयोग साहित्यमा गर्नुपर्ने तर त्यसले मानवको कल्पनाशक्ति र सिर्जनात्मक क्षमतालाई कमजोर बनाउन नहुनेमा जोड दिइएको छ ।
घोषणापत्रमा संस्कृति, ललितकला, साहित्य र सङ्गीतसँग सम्बन्धित सामग्री, कलाकृति तथा पुस्तकको बिक्री–वितरणमा रहेका भन्सार तथा कानुनी जटिलता हटाउनुपर्ने उल्लेख छ। कला तथा साहित्यका कथा, कविता, उपन्यास र नाटकलाई व्यावसायिक उत्पादन, रोजगारी र अर्थतन्त्रसँग जोड्ने गरी परियोजना निर्माण र सहकार्यको वातावरण बनाउनुपर्ने सुझाव पनि दिइएको छ । भाषा, साहित्य, ललितकला, नाट्यकला, सङ्गीत तथा दर्शन क्षेत्रमा विद्यमान मौलिक र रैथाने ज्ञान–परम्परालाई विद्यालय तथा विश्वविद्यालयका पाठ्यक्रममा समावेश गर्न आवश्यक समन्वय गर्नुपर्ने विषयमा पनि घोषणापत्रले जोड दिएको छ । “साहित्य, कला र संस्कृतिको प्रवद्र्धन, बागमती सभ्यताको संवद्र्धन” भन्ने मूल नारासहित शनिबारदेखि सुरु भएको महोत्सव बागमती प्रदेश सरकारको संस्कृति तथा पर्यटन मन्त्रालयको आयोजना तथा भरतपुर महानगर प्रज्ञा प्रतिष्ठानको संयोजनमा सम्पन्न भएको हो ।
बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले महोत्सवको उद्घाटन गर्नुभएको थियो। महोत्सवमा बागमती प्रदेशका १३ वटै जिल्लाका साहित्यकार, कलाकार, संस्कृतिकर्मी, अनुसन्धानकर्ता तथा सरोकारवालाको सहभागिता रहेको भरतपुर महानगर प्रज्ञा प्रतिष्ठानका सदस्यसचिव बालकृष्ण थपलियाले जानकारी दिनुभयो । महोत्सव समापनका क्रममा घोषणापत्र सार्वजनिक गर्दै घोषणापत्र तयारी समितिका संयोजक तथा विज्ञ प्रा। रमाकान्त सापकोटाले भाषा, साहित्य, कला र संस्कृति जति बलियो हुन्छ, समाज त्यति नै गतिशील हुने बताउनुभयो। “भाषा र साहित्यले नै देशको राष्ट्रियता बलियो बनाउँछ भन्ने सन्देश महोत्सवले दिएको छ,” उहाँले भन्नुभयो ।
