लघुकथा
काठमाडौं ।
मुक्तिनाथ दर्शन साहित्य समाज नेपाल, नवपुस्तकालय तथा ज्येष्ठ नागरिक समाजको संयुक्त आयोजनामा सञ्चालित ‘मानव पुस्तक कार्यक्रम’ को चौथो वार्षिकोत्सव तथा ४८औँ संस्करण काठमाडौंमा सम्पन्न भएको छ । शनिबार नेपाल प्रज्ञा–प्रतिष्ठानको पारिजात सभाकक्षमा आयोजित कार्यक्रममा अध्यात्म चिन्तक तथा मुक्तिनाथ दर्शन साहित्य समाज नेपालका संस्थापक अध्यक्ष एवं संरक्षक कवि हरिभक्त सिग्देलको सभापतित्व रहेको थियो । कार्यक्रममा बहुविषयविद् जयराज आचार्य प्रमुख आमन्त्रित अतिथि तथा बालकृष्ण शर्मा प्रसाईं विशिष्ट अतिथिका रूपमा सहभागी हुनुभएको थियो ।
कार्यक्रमको उद्घोषण घुम्ती मुक्तकका संस्थापक अध्यक्ष तथा मुक्तक अभियन्ता निर्मलरमण पराजुलीले गर्नुभएको थियो भने अतिथिहरूलाई शशिश्री आचार्यले खादा ओढाएर सम्मान गर्नुभएको थियो । पानसमा दीप प्रज्वलन, राष्ट्रियगान तथा वटुकद्वारा ऋचावाचनपछि वरिष्ठ युरोलोजिष्ट प्रा. डा. अर्जुनदेव भट्टले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा वर्षभर ‘मानव पुस्तक’ बनेर योगदान पु¥याएका विभिन्न क्षेत्रका व्यक्तित्वलाई सम्मान गरिएको थियो । सम्मानित हुनेहरूमा वियोगी बुढाथोकी, यज्ञप्रसाद बस्याल, डा. लवदेव अवस्थी, राधेश्याम लेकाली, शंकरप्रसाद पाण्डे, घनश्याम न्यौपाने, डा. केशरबहादुर भण्डारी, प्राडा. गोविन्दराज भट्टराई, वसन्त रिजाल, अच्युतरमण पौडेल, डा. रामप्रसाद दाहाल, प्राडा. भागवत ढकाल, शेषराज सिवाकोटी, दिव्य गिरि, प्रा.डा. रमेश ढुंगेल, डा. रमेश शुभेच्छुक, डा. चिन्तामणि योगी, रामबाबु नेपाल, डा. तुलसी थपलिया, टेकबहादुर तामाङ, कृष्णमुरारी गौतम, उषा शेरचन तथा बालकृष्ण प्रसाईं रहनुभएको थियो ।
सम्मान कार्यक्रमपछि युवराज मैनाली, गोपी मैनाली र कलानिधि दाहालले स्वागत मन्तव्य राख्नुभएको थियो । मानव पुस्तक कार्यक्रमका अर्का परिकल्पनाकार विष्णुप्रसाद पन्तले धन्यवाद मन्तव्य व्यक्त गर्दै कार्यक्रमको उद्देश्य र प्रभावबारे प्रकाश पार्नुभएको थियो ।
प्रमुख आमन्त्रित अतिथि जयराज आचार्यले वर्तमान विश्व परिवेशको चर्चा गर्दै साहित्यिक कार्यक्रममा सहभागी हुँदा आफूलाई गौरवान्वित अनुभूति हुने बताउनुभयो । कार्यक्रमको समापन सभापति हरिभक्त सिग्देलको मन्तव्य तथा प्रमुख अतिथिलाई मायाको चिनो प्रदान गर्दै गरिएको थियो ।
