• २०८१ फागुन ६ मङ्गलबार

१२ बुँदे घोषणा पत्र जारि गर्दै अन्तर्राष्ट्रिय बालसाहित्य सम्मेलन सम्पन्न

नेपाल प्रज्ञा प्रतिष्ठान, नेपाल बालसाहित्य समाज र रूम टु रिडको संयुक्त आयोजनामा नेपाल प्रज्ञा प्रतिष्ठान, काठमाडौँमा २ दिनसम्म पहिलोपटक सञ्चालन भएको अन्तर्राष्ट्रिय बालसाहित्य सम्मेलन बालहित, बालसिर्जना र बालबालिकाको शैक्षिक, साहित्यिक र सिर्जनात्मक विकासको पक्षमा उभिने, बालसाहित्यको विकासको लागि स्थानीय, क्षेत्रीय तथा वैश्विकस्तरमा व्यक्तिगत वा संस्थागत समन्वय गरी सहकार्य गर्ने कार्यलाई निरन्तरता दिने, एक- अर्काका देशमा वा विश्वमा कतै पनि प्रकाशित आफ्ना तथा अन्य सर्जकका अब्बल सिर्जनालाई एक- अर्कामा पुर्याउने कार्यमा अग्रसर रहने, एक- अर्काका देशमा रहेका शैक्षिक प्रतिष्ठानका पाठ्यक्रम तथा शोधकार्यमा एक- अर्काको बालसाहित्य पनि समाविष्ट होस् भन्ने हेतुले विशेष पहल गर्ने, बालसाहित्यका सर्जकहरूको जायज र कानूनसम्मत हक हित र अधिकारको हननका कुनै पनि घटना घट्न आएमा सर्जकसँग एकबद्ध भई उभिने र त्यस्ता निन्दनीय घटनाको अन्तर्राष्ट्रिय स्तरमै विरोध गर्ने, आ-  आफ्ना देशका बालबालिकाका हक, हित र अधिकार हनन हुन पुगेको थाहा हुन आएमा एकबद्ध भै त्यस्ता घटनाको विरूद्धमा उभिनेलगायतका १२ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ ।

उक्त सम्मेलनको पहिलो दिनको उद्घाटन सत्र नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति एवम् सम्मेलन आयोजक समितिका संयोजक विमलकृष्ण श्रेष्ठको सभाध्यक्षता एवम् नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । सम्मेलनमा सहभागी प्रमुख अतिथि, अतिथिगण, देश विदेशका सहभागीहरू सबैलाई आयोजक संस्थाहरूको तर्फबाट नेपाल बालसाहित्य समाजका अध्यक्ष प्रमोद प्रधानले स्वागत गर्नुहुँदै कार्यक्रमको औचित्यमाथि प्रकाश पार्नुभएको थियो । सम्मेलनको सफलताको कामना गर्दै अतिथिहरू प्रा. रामकुमार पाण्डे, रूम टु रिडका कन्ट्री डाइरेक्टर पुषकर लाल श्रेष्ठ, कामपाका प्रमुख कार्यकारी अधिकृत प्रदिप परियार, जापान, डेनमार्क, भारत, चीन, बंगलादेश, श्रीलङ्का, मलेशिया, नेदरल्याण्ड, दक्षिण कोरिया र भुटानका प्रतिनिधि अतिथिहरूलगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

सम्मेलनको पहिलो दिनमा देश विदेशका सहभागीहरूमध्ये बंगलादेश, जापान, भारत, चीन, नेपाल, दक्षिण कोरियाका गरी ८ जना प्रतिनिधिहरूले ८ वटा कार्यपत्र प्रस्तुत गरेका थिए । सोही दिनको दोस्रो भाग अन्तर्गत बालसाहित्य, किशोर साहित्य, पठन संस्कृति सम्बन्धीको प्रस्तुतिकरण र छलफलमा नेपाल, भारत, बंगलादेश र चीनका गरी ८ जना प्रतिनिधिहरूले गहन छलफल र वस्तुस्थिति, समस्या, समाधानका उपायहरू, चुनौती आदि विषयमा एक अर्कामा अनुभव साटासाट गर्ने कार्य भएको थियो ।

सम्मेलनको दोस्रो दिनको पहिलो भाग अन्तर्गत राष्ट्रिय तथा अन्तर्राष्ट्रय बालसाहित्यका विविध पक्षहरू, संस्कृति, पर्यावरण, ऐतिहासिक तथा राजनैतिक परिवेश, वंशानुगत आदि विषयहरू, बालसाहित्यसँग सम्बन्धित अन्य निकायहरूको भूमिका, महत्व, ऐक्यबद्धता आदि विषयमा श्रीलङ्का, भारत, नेपाल, चीन, डेनमार्क, मलेशियाका गरी १४ जना सहभागीहरूले सक्रिय सहभागिता जनाई आ-आफ्नो प्रस्तुतिकरण गरेका थिए । कार्यक्रमको दोस्रो भागमा बालसाहित्य र डिजिटल प्रविधि, बालसाहित्य र अनुवाद जस्ता विषयमा २ छुट्टाछुट्टै समुहमा नेपाल, बंगलादेश, भुटान, भारत, श्रीलङ्का र नेदरल्याण्डका गरी ८ जना सहभागी प्रतिनिधिहरूले सक्रिय सहभागिता जनाई समुहगत छलफल गर्ने कार्य रहेको थियो , जसको मोडरेटरमा प्रतिभा पाण्डे र मोनिका लोहनी रहनुभएको थियो । यी सबै प्रस्तुति र छलफलमा अन्य सहभागीहरूले पनि जिज्ञासा राखेका थिए ।

कार्यक्रमको समापन समारोहमा आयोजक समितिको तर्फबाट सबैलाई नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव डा. धन प्रसाद सुवेदीले कृतज्ञता ज्ञापन गर्नुभएको थियो । सोही समारोहमा प्रमुख अतिथि, अतिथिहरू, विदेशी सहभागी प्रतिनिधिहरूलाई मायाको चिनो र सम्पूर्ण सहभागीहरूलाई प्रशंसापत्र वितरण गरिएको थियो । उक्त सम्मेलनलाई भव्य रूपमा सफल पार्न काठमाण्डौ महानगरपालिका, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, पहिलो पाईला, SVA, द एशिया फाउण्डेशन, कथालय, thang जस्ता संस्थाहरूले सहआयोजकको भूमिका खेलेका थिए भने सहयोगी संस्थाहरू रिड नेपाल, नेशनल ट्रष्ट फर नेचर, परिचय प्रकाशन, भूँडिपुराण प्रकाशन, BSP, कोपिला किताव, बुक आर्ट नेपाललगायत संस्थाको सहयोग र समर्थन रहेको थियो ।

उक्त भव्य सम्मेलनमा नेबासासका १३० जना आजीवन सदस्यहरूलगायत आयोजक संस्था, सहआयोजक संस्था र सहयोगी संस्थाहरूका तर्फबाट व्यापक सहभागिता रहेको थियो भने भारतबाट ८ जना, बंगलादेशबाट ५ जना, श्रीलङकाबाट ५ जना, चीनबाट ७ जना, दक्षिण कोरियाबाट १ जना, जापान, डेनमार्क, नेदरल्याण्ड र मलेशिया गरी कूल ३१ जना विदेशी साहित्यकारहरूको सहभागिता रहेको थियो ।