समाचार
काठमाडौं ।
तरेली साहित्य प्रतिष्ठानको १३५औं शृंखलाअन्तर्गत प्रतिष्ठानका आजीवन सदस्य कवि भरतमणि ढुंगानाको दोस्रो कृति ‘आमा’ खण्डकाव्य शुक्रबार थलीस्थित कान्तिपुर एकेडेमीमा लोकार्पण गरिएको छ । प्रतिष्ठानका अध्यक्ष रामेश्वर श्रेष्ठ ‘शैलेन्द्र’को सभापतित्व तथा कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख उपेन्द्र कार्कीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा विभिन्न साहित्यकार, प्राध्यापक, पत्रकार तथा समाजसेवीहरूको उपस्थिति रहेको थियो । कार्यक्रममा प्रमुख अतिथि कार्कीले पानसमा दीप प्रज्वलन गरी उद्घाटन गर्नुभएको थियो ।
‘आमा’ खण्डकाव्यको प्रमुख अतिथि, सभापति तथा विशिष्ट अतिथिहरूले संयुक्त रूपमा लोकार्पण गरेका थिए । कृतिमाथि कविर शर्मा फुयाँल, कृष्णप्रसाद नेपाल, बाजुराम पौडेल, गोविन्द घिमिरे ‘वेदमणि’, कलानिधि दाहाल, प्रा. पुरुषोत्तम दाहाललगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो भने ज्ञाननिष्ठ ज्ञवालीले कृतिको समीक्षा प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा राजेशमान केसी, राजेन्द्र श्रेष्ठ, तेजनाथ दंगाल, अच्युत प्याकुरेल ‘निरस’, इच्छाराम थापा, केशवप्रसाद घिमिरे, गोविन्द कुइँकेल र सागरमणि ढुंगानालगायतले रचना वाचन गर्नुभएको भने विष्णु तिवारीले हास्यव्यंग्य प्रस्तुत गर्नुभएको थियो । सो अवसरमा नगरप्रमुख कार्कीले तरेली साहित्य प्रतिष्ठानलाई साहित्यिक गतिविधिको प्रवद्र्धनका लागि आर्थिक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । कवि भरतमणि ढुंगानाको मन्तव्यपछि सभापति श्रेष्ठले कार्यक्रम समापन गर्नुभएको थियो ।
