• २०८३ जेष्ठ १३, बुधबार

धीरेन अनुपमको ‘प्रच्छाया’ गजल सङ्ग्रह विमोचन

सुर्खेत ।

सुर्खेती साहित्यकार तथा गजलकार धीरेन अनुपमको ‘प्रच्छाया’ नामक गजल सङ्ग्रह विमोचन गरिएको छ । शनिबार बेलुका मध्यपश्चिम विश्वविद्यालयमा एक कार्यक्रमको आयोजना गरेर उनको उक्त गजल पुस्तक विमोचन गरिएको हो ।

वरिष्ठ कलाकार प्रेमदेव गिरीले पुस्तक विमोचन गरेका थिए । उक्त गजल सङ्ग्रहमा समाज परिवर्तनशील, क्रान्तिकारी र पारिवारिक भावलाई प्रमुखताका साथ जोड दिइएको छ ।

अनुपम गजल साहित्यको चर्चित नाम हो । विगत ३ दशकदेखि पश्चिम नेपालको गजल साहित्यमा उनी क्रियाशील छन् । उनै अनुपमले तयार गरेको प्रच्छायाले समाजको वास्तविक चित्र देखाएको समालोचक ऋषि शर्मा सुदामले बताए ।

‘साहित्य भनेको सन्देश दिने हुनुपर्छ,’ उनले भने, ‘यो पुस्तकले सामाजिक चित्र बोकेको छ ।’ त्यस्तै, वरिष्ठ कलाकार प्रेमदेव गिरीले साहित्यले समाज बोल्नुपर्ने बताए । ‘यो पुस्तकमा मैले यही कुरा पाएको छु,’ गिरीले भने ।