समाचार
काठमाडौँ ।
दायित्व वाङ्मय प्रतिष्ठानले वरिष्ठ कवि तथा लघुकथाकार महेश प्रसाईंको लघुकथासङ्ग्रह ’इब्राहिमको घोडा र बिकिनीहरू’ को लोकार्पण गरेको । दायित्व वाङ्मय प्रतिष्ठानको अध्यक्ष रामप्रसाद पन्तको अध्यक्षता, नेपाल प्रज्ञाप्रतिष्ठानका पूर्व कुलपति गङ्गाप्रसाद उप्रेतीको प्रमुख आतिथ्यमा कृतिको लोकार्पण भएको हो । साहित्यकार अच्युत घिमिरेको अनुसार कार्यक्रममा सुव सेन, गोपी मैनाली, युवराज मैनाली, अमर शाह, प्रमोद प्रधान, श्रीओम श्रेष्ठ, दिव्य गिरी, विमल भौकाजी, बुलु मुकारुङ, राजेन शिवाकोटी, गोविन्द गिरी प्रेरणा, रासा, कलानिधि दाहाल, शेषराज शिवाकोटी, त्रिभुवनचन्द्र वाग्ले, खेमराज पोखरेल, श्रीबाबु कार्की, विनोद मञ्जन, हरि सिलवाल, भागवत ढकाल, महेन्द्र चालिसे, वियोगी बुढाथोकी, दिपक लोहनी, रामचन्द्र दाहाल, मेनका पोखरेल लगायतको उपस्थिति थियो ।
साहित्यकार यादव भट्टराईले सञ्चालन गरेको कार्यक्रममा गोपी मैनालीले ’इब्राहिमको घोडा र बिकिनीहरू’ को समीक्षात्मक टिप्पणी प्रस्तुत गरेका थिए। उनले भने, ‘महेश प्रसाईमा ईश्वर बल्लभ र मोहन कोइरालाको प्रभाव पाइन्छ। यसमा पनि उहाँले बढी मात्रामा ईश्वर बल्लभलाई पछ्याएको देखिन्छ। इब्राहम भन्ने शासकको पदचाप पछ्याउँदै उहाँ आफ्ना प्रत्येक लघुकथामा प्रश्न उब्जाउनुहुन्छ। उहाँको एउटै लघुकथाले धेरै प्रश्न उठाउने सामथ्र्य राख्छ । सानो कुरा फैलाउन सक्ने, प्रेमप्रणय छोपेर लेख्न सक्ने, प्रथम दृष्टिको स्रष्टाको रूपमा हामी महेश प्रसाईलाई चिन्छौं। उहाँका पहिलो पङ्क्तिमै विषय र शीर्षक दुवै आउँछन्। लघुकथाका नाममा उहाँका कथाहरू साँच्चै लघुकथा हुन्। सौन्दर्य, बिम्ब, लघुकथामा निबन्धकारिता र काव्यात्मकता पाइन्छ। उहाँ विषय बोधसँगै राज्य, राज्यबाट अन्तरिक्ष, ब्रह्माण्ड, घरपरिवार र प्रविधिमा आउनुहुन्छ। ओशोको चेत भएका उहाँका लघुकथाहरू बिम्बात्मक छन्। उहाँले आफ्ना लघुकथामा सत्ता थरीथरीको तर औपचारिक सत्ताको कुरा गर्नुभएको छ ।’
लघुकथाविद् खेमराज पोखरेलले महेश प्रसाई लघुकथाभित्र काव्यको प्रवेश गराउने विशिष्ट सर्जक भएको बताए। उनले भने, ‘लघुकथाकार प्रसाईमा अदभूत लेखकीय क्षमता छ। यस्ता सर्जक नेपाली लघुकथामा छैनन् , उहाँका लघुकथामा शीर्षक लामा, विषय छोटा, भाषा दुरूह, अङ्ग्रेजी मिथकको प्रयोगले सामान्य पाठकले बुझ्न नसक्ने छन् ।’ शुभकामना मन्तव्यकै सन्दर्भमा सिक्किमका स्रष्टा राजेन शिवाकोटीले महेश प्रसाईले सिक्किमेली साहित्यमा पु¥याएको योगदानको मुक्तकण्ठले प्रशंसा गरेका थिए। भूगोलमा देश फरक भए पनि साहित्यमा हामी एउटै हौ भन्ने कुरा उनले बताए । यसरी नै पुस्तकको लघु समीक्षाको क्रममा हरिप्रसाद सिलवालले महेश प्रसाईका लघुकथाहरूले लघुकथाको मर्म, अन्तर्य र विधा सिद्धान्तलाई अवलम्बन गरेको बताए ।
कवि र कथाकार भएर उनले लेखेका लघुकथाहरूमा काव्यात्मकता पाइन्छ। बिम्बभन्दा माथि प्रतीक, प्रतीकभन्दा माथि रूपकमा गएर व्यञ्जनात्मक अभिव्यक्ति दिएका लघुकथाहरू पाठकका लागि पक्कै पनि सरल छैनन्। उहाँका लघुकथाहरू श्याम व्यङ्ग्यका छन्। रूपक, मिथकको सांस्कृतिक चेतनाबाट अब कसैले यी लघुकथाहरू अनुवाद गर्न सक्छन् त ? यो चुनौती दिनुभएको छ महेश प्रसाईले। अब लघुकथामा महेश प्रसाई एरा स्थापित भएको छ भन्ने धारणा राखे । समीक्षाकै क्रममा विनोद मञ्जनले भर्खरै धरानमा सँगै घुमेको, चारपाँच दिन सँगै सुतेको आधारमा मैले बोलेको होइन। पैसा भएर भकाभक साहित्यका पुस्तक निकाल्नेहरूलाई मेरो व्यङ्ग्य हो। म २०२९ सालमा जन्मेको हुँ। २९ सालबाटै लेख्न थालेका महेश प्रसाई साँच्चिकै स्रष्टा हो। मञ्जनले इतिहासमा थुप्रै स्रष्टा हराएर जान्छन् तर उहाँ बाँच्नुहुन्छ भनेर किटानीसाथ भनेका थिए ।
सिधा बाटोमा हिँड्ने आलोचनात्मक चेत नभएका वान डाइमन्सन हुन्। समीक्षक भएर आलोचना गर्नुपर्छ भन्ने मेरो मान्यता छ । महेश प्रसाई आलोचनाबाट डराउने स्रष्टा होइन, त्यही भएर उहाँ खारिनुभएको छ । उहाँका लघुकथाहरूमा अस्तित्ववादी, विद्रोही चेतना र विचारका कुराहरू छन् करुण, वीर, रौद्र,अद्भुत, हास्य रसका प्रयोग छन् उहाँका लघुकथाहरूमा। रूपक प्रतीक र विरोधाभास अलङ्कारको पनि प्रयोग छन् । उहाँमा दर्शन, विचार र समाजप्रतिको बुझाइमा कमी छ । लघुकथामा स्पष्टताको अभाव छ। लघुकथामा भावनात्मकताको अभाव छ, पाठक अनुसारका लघुकथा छैनन् । उहाँ प्रत्येक दिन सेविङ गर्ने, सेन्ट छर्केर हिँड्ने ,कपाल कोर्ने, चिटिक्क परेर हिँडेजस्तै, उहाँका लघुकथाहरू पनि त्यस्तै छन् ।
मन्तव्यको क्रममा युवराज मैनालीले महेश प्रसाईका लघुकथाहरूमा आयामेली स्रष्टाहरूको प्रभाव परेको बताए । लघुकथा लघुकथा जस्ता हुनुपर्छ । कथा, कविता, निबन्ध सबै छन् महेश प्रसाईका लघुकथामा। महेशले आफूलाई चिन्दैन अरूलाई चिन्छ यो महेश प्रसाईको युग हो । ईश्वर बल्लभ, मोहन कोइरालाको संयुक्त रूप हो महेश प्रसाई । यस सङ्ग्रहका लघुकथाहरू विशिष्ट र उत्कृष्ट छन् भन्ने भनाइ राखे । लेखकको धन्यवाद मन्तव्यमा महेश प्रसाईले म आत्मरतिका लागि लेख्ने स्रष्टा हुँ भने। लेख्छु चित्त बुझेन भने छाप्दिनँ भन्ने अभिमत राख्ने प्रसाईका लघुकथा यही भएर उत्कृष्ट छन्। उनले हामी जुनसुकैवादका भए पनि साहित्यमा एउटै हौँ भन्ने धारणा राखे ।
प्रमुख अतिथिको मन्तव्य दिने क्रममा नेपाल प्रज्ञाप्रतिष्ठानका पूर्वकुलपति गंगाप्रसाद उप्रेतीले महेश प्रसाई नेपाली साहित्यमा औंलामा गर्न सकिने विशिष्ट साहित्य सर्जक भएको कुरा बताए भने कार्यक्रमलाई समापन गर्दै रामप्रसाद पन्तले महेश प्रसाईको विशिष्ट लेखन सिपले नै उनलाई नेपाली लघुकथामा स्थापित गराएको हो भन्दै कार्यक्रममा सहभागी सम्पूर्णलाई धन्यवाद व्यक्त गर े। लेखनसिपले नै उनलाई नेपाली लघुकथामा स्थापित गराएको भन्दै कार्यक्रममा उपस्थित सबैलाई धन्यवाद ज्ञापन गरेका थिए ।
