कविता
काठमाडौं ।
साहित्यकार गोविन्द गिरी प्रेरणाको लामा कथाहरू समावेश कृति ‘अ–विधवा’माथि विमर्श सम्पन्न भएको छ। आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा कृतिमाथि पाठकीय टिप्पणी राख्दै समीक्षक डा. ज्ञानु अधिकारीले लामो कथा लेख्नु मात्र चुनौतीपूर्ण नभई त्यो पढ्नु पनि आफैँमा चुनौतीपूर्ण काम भएको बताइन् । उनले कृतिका कथाहरूमा मनोवैज्ञानिक र दार्शनिक पक्ष सबल रूपमा रहेको उल्लेख गरिन् ।
डा. अधिकारीले भनिन्, “यस कृतिभित्रका कथाहरूले मान्छे आफ्नो मनबाट दुखी छ भन्ने देखाउँछ,” उनले थपिन् “कृतिका सबै कथाका पुरुष पात्र केटीप्रति आशक्त देखाइएको छ । तथापि पुरुष संवेदना पनि कथामा प्रस्तुत छ ।” अर्का समीक्षक डा. अशोक थापाले कृतिभित्रका कथाहरूमा बहस गर्नुपर्ने धेरै विषयहरू रहेको बताए । उनले कथाकृतिभित्र गहन मनोविज्ञान, गहिरो दृष्टिकोण र दार्शनिक द्वन्द्व रहेको उल्लेख गर्दै लामा कथा भए पनि कृति पठनीय रहेको बताए ।
कार्यक्रमका प्रमुख अतिथि प्रा.डा. दयाराम श्रेष्ठले लामा कथा लेखनले माग गर्ने निर्माण पद्धतिको चर्चा गर्दै भने, “सिस्टमले मान्यो भने लामा कथा भयो, मानेन भने भएन ।” उनले लामा कथा हुन एउटा सिस्टम हुनुपर्नेमा जोड दिँदै त्यो तोडिन नहुने बताए । साहित्यकार श्रीओम श्रेष्ठ ‘रोदन’ले कृतिकार प्रेरणाले करिब पाँच दशकदेखि कथा लेख्दै आएको बताउँदै उनको लेखन यात्रा र शिल्पको चर्चा गरे ।
कृतिकार प्रेरणाले आफूलाई लामो कथा लेख्ने रुचि रहेको बताउँदै आफूले आज पनि सिक्दै गरेको उल्लेख गरे । उनले आफूमा अहिले पनि सिक्ने भोक रहेको बताए । कार्यक्रममा यादव भट्टराईले पनि आफ्नो धारणा राखे ।
इम्प्रिन्ट पब्लिसर्सले प्रकाशित गरेको यस कथाकृतिभित्र सात वटा कथा रहेको छ ।
