• २०८३ बैशाख २७, आईतवार

कवि दिनेश विक्रमको ‘जयसिंह धामीको देश’ सार्वजनिक

काठमाडौं ।

कवि दिनेश विक्रम थापाको कविताकृति ‘जयसिंह धामीको देश’ एक कार्यक्रमबीच लोकार्पित भएको छ । बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रमुख अतिथि डा. विष्णुविभु घिमिरे लगायतले कविताकृति सार्वजनिक गरे । प्रमुख अतिथि डा. घिमिरेले कविता लेखन आफैँमा गम्भीर विषय भएको बताउँदै कविले कविता लेखनमा ध्यानस्त रहनुपर्ने चर्चा गरे । दिनेश विक्रम कविता लेखनमा स्पष्ट भएको उल्लेख गर्दै उनका कविता मार्मिक र चित्रजस्तै भएको बताए ।

डा. घिमिरेले भने, “कविता लेख्न गाह्रो छ । लेखिएका कविता पाठकको मनमा बस्न झन् गाह्रो हुन्छ । त्यसैले कविले पाठकको मनमा बस्ने कविता लेख्नुपर्छ ।” उनले दिनेशका कविता पाठकको मनमा पुग्ने खालको भएको बताए । कवि विधान आचार्यले लोकार्पित कृतिमाथि समीक्षात्मक मन्तव्य राख्दै दिनेशले इमानदारीपूर्वक कविता लेखेको उल्लेख गरे । उनले २५ पात्रमा लेखिएको कृतिभित्रको २५ कवितामा दुई सयभन्दा बढी पात्रहरूको चरित्र चित्रित भएको बताए ।  साहित्यकार श्रीओम श्रेष्ठ ‘रोदन’ले लोकार्पित कृतिभित्रका कविताले नेपाली जनता विशेषगरी सुदूरपश्चिमको नेपालीको अवस्थालाई संकेत गरेको बताए ।

कवि थापाले कृति प्रकाशित हुनुको रचनागर्भ सुनाउँदै आफू कवितामै लागेकोले अर्को कविताकृतिको तयारी गरिरहेको उल्लेख गरे । कार्यक्रममा साहित्यकार रामबहादुर पहाडी, विनोद नेपाल, लक्ष्मी पराजुली, कविलाई स्कुलमा पढाउने शिक्षक तुलसीदास गौतमले आफ्ना धारणा राखे । उक्त अवसरमा कृतिभित्रबाट कवि रीता खत्री, कमला थापा लगायतले कविता वाचन गरे ।