कविता
चितवन ।
साहित्य सङ्गम चितवनद्वारा आयोजित एक कार्यक्रममा तीन स्रष्टा सम्मानित भएका छन् । प्रगतिवादी विचारधारा बोकेकी, २०२२ सालमा मदन पुरस्कार प्राप्त गर्न सफल उपन्यास ‘शिरीषको फूल’ कि उपन्यासकार पारिजातको ३३ औँ स्मृति दिवसका अवसरमा भएको कार्यक्रमको अध्यक्षता सङ्गमका अध्यक्ष शशीकिरण रेग्मीले गरेका थिए ।
सङ्गमका पूर्व अध्यक्ष प्रकाश चापागाईँले स्वागत मन्तव्य दिएका थिए भने वरिष्ठ अनुसन्धाता डिआर पोखरेलले पारिजातको व्यक्तित्व र कृतित्वका बारेमा जानकारी दिएका थिए । सो क्रममा पोखरेलले पारिजात गरिबको पक्षमा, विपन्नताको पक्षमा वकालत गर्ने, विद्रोही स्वभावकी, देशभक्ति र स्वाभिमानी पारिजातबाट सिक्नुपर्ने धेरै कुरा रहेको बताए । सञ्जीव पौडेलले सम्मानित भएका तीन स्रष्टाहरूको बारेमा संक्षिप्त टिप्पणी गरेका थिए । प्राज्ञ रामहरि श्रेष्ठले पुरस्कार र स्थापनाका उद्देश्यहरूमाथि प्रकाश पारे ।
कार्यक्रममा पाल्पाका आरबी निश्चललाई डा. धनेश्वर भट्टराई (सपरिवार)ले स्थापना गरेको ‘नेत्रमाया-मुक्तिनाथ भट्टराई स्मृति राष्ट्रिय पुरस्कार–२०८२’, झापाकी भवानी क्षेत्रीलाई रामहरि श्रेष्ठ (सपरिवार)ले स्थापना गरेको ‘खड्गनारायण–गणेशलक्ष्मी श्रेष्ठ स्मृति राष्ट्रिय नारी प्रतिभा पुरस्कार –२०८२’ र चितवनका खनाल रेवतीरमणलाई प्रकाश चापागाईँ (सपरिवार)ले स्थापना गरेको ‘गजाधर–डिकुरादेवी चेतकान्त चापागाईँ स्मृति राष्ट्रिय पुरस्कार–२०८२’ द्वारा पुरस्कृत गरिएको थियो । प्रमाणपत्र र नगद १८ हजार राशिद्वारा सम्मानित स्रष्टाहरूले आफ्ना एक–एक वटा कविता पनि सुनाएका थिए । सो क्रममा वरिष्ठ साहित्यकार कुन्ता शर्माको कविताले चर्चा पाएको थियो ।
कार्यक्रममा प्रा. डा. नारायणप्रसाद खनाल, प्रा. डा. कर्ण बानियाँ, ईन्द्र रेग्मी, उदय अधिकारी, रमेश प्रभात, राजेन्द्र घायल, विष्णु तिवारी ‘उषा’, शिवराज लामिछाने, शूर्यप्रकाश जमरकट्टेल, डा. एकनारायण पौड्याल, डा. केशव चालिसे, बालकृष्ण थपलिया, अमृता रामदाम,कृष्ण शर्मा’करुणा’ शूर्यमणि रेग्मी, किसान प्रेमी, हरिप्रिया रिजाल, लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम सङ्गमका सचिव लीलाधर पौडेलले सञ्चालन गरेका थिए ।
