भक्तपुरको साहित्यिक संस्था समाजको आयोजनामा भएको कार्यक्रममा स्रष्टा मञ्जु हाडा निरौलाद्वारा आफ्ना मातापिताको नाममा स्थापित श्री आशागोपाल भुवनेश्वरी हाडा स्मृति पुरस्कार पद्म माध्यमिक विद्यालयका जेहेनदार छात्र सज्जन नेहम्फु फुकीलाई प्रदान गरियो । कार्यक्रममा सभाध्यक्ष धनमान श्रेष्ठले प्रमाणपत्र र स्रष्टा हाडाले नगद राशि दसहजार एक प्रदान गरे ।
समारोहमा बोल्दै कथाकार ध्रुव मधिकर्मीले यसप्रकारको सामाजिक कार्यले सिर्जनात्मक संस्थाको परिचयलाई अझ फैलाउन मद्दत पुग्ने बताए । पुरस्कारका दाता हाडाले आमाबुबाको स्मृतिलाई जीवन्त राख्नका लागि पुरस्कारको व्यवस्था गरेको बताइन् ।
विद्यालयका प्रधानाध्यापक राम हाडाले आमाबाबुको स्मृतिमा गरिने पुनीत कार्यको सम्मान गर्नुपर्छ भन्दै यसले अध्ययन र अध्यापन कार्यको जीत भएको विचार व्यक्त गरे । दीक्षा हाडा स्मृति प्रतिष्ठानका अध्यक्ष तथा संगीतकार राजेश हाडाले यस्ता कार्यबाट शोकलाई शक्तिमा रुपान्तरण गर्न मद्दत पुग्नेछ भने । कार्यक्रममा महिमा हाडा, मिमला शर्मा र पुरस्कृत छात्रले पनि बोलेका थिए ।