• २०८१ भाद्र २६ बुधबार

लगानी

इन्दिरा गौतम

इन्दिरा गौतम

धेरै बर्षसम्म परदेशमा काम गर्दा गर्दा थाकेर रामचन्द्र अब आफ्नै गाउँमा बस्ने योजनामा देश फर्किन्छन् । आफ्नो जग्गा जमिन पनि थोरै हुनाले खेती देखि बाहेक अन्य के के गर्न सकिन्छ भनेर ठुला ठालुसँग सल्लाह सुझाव माग्छन् ।
धेरैले आ-आफ्नो सुझाव दिन्छन् । कसैले पसल खोल्ने, कसैले गाडी किनेर चलाउने र कसैले गाई, भैंसी, कुखुरा अथवा बाख्रा फार्म खोल्ने । उनलाई कसैको सल्लाह पनि चित्त बुझ्दो लागेन । पसल खोल्दा बाँकीमा डुब्ने डर, गाडी किन्दा एक्सिडेन्ट भयो भने सिरिखुरी हुने डर । उता पशुपालनमा, कुखुरा पालनमा पनि अनेक हैजा फैलिएर सखाप हुने डर । कुराकुरैमा बेंकबाट पनि पैसा हराउँछन् भनेको सुनेपछि त्यस दिन देखि उसलाई शंका र डरले निन्द्रा पनि हरायो ।
श्रीमतीको सल्लाह सुझावमा ससुराली तिर पैसा भरिको जग्गा किन्न राजी भयो । भोलिपल्टै ससुराली गाउँमा गएर एक बिघा जग्गा दरदाम मिलाइ बैना पनि दियो । नजिकको अरू जग्गा पनि मन पर्यो । त्यो पनि किन्ने निर्णय भयो र दुईचार दिनमै रहल पैसा पनि पठाई दिने र अर्को पल्ट ससुराली जाँदा किनबेचको दलिन लेख्ने वचनबद्ध भएर आयो । पैसाको सही ठाउँमा लगानी हुँदा ऊ अब ढुक्कले निदाउँन थाल्यो ।
एक महिना पछि ससुरालीबाट एकाबिहानै फोन आयो । उसले हत्तपत्त आफैं सुरु गर्यो “नमस्ते, म हजुरलाई फोन गर्नैआटेको थिएँ बुवा । हिजै मैले जग्गाधनीको एकाउन्टमा रहल पैसा पनि हालि दिएँ ।”
उताबाट जवाफ आयो, “हैन ज्वाइँ, त्यो जग्गाधनीको त हिजो रातिदेखि नै अत्तोपतो छैन । त्यही जग्गा देखाएर अरु दुईचार जनाबाट पनि धेरै रकम लिइ सकेको रहेछ …………..।


इन्दिरा गौतम, ओदालगुडी, असम,भारत
[email protected]