• २०८१ श्रावाण ११ शुक्रबार

दिलबहादुरको चिया

बालकृष्ण कट्टेल

बालकृष्ण कट्टेल

यही चौतारो मास्तिर थियो
मेरो साह्रै मिल्ने साथी
दिलबहादुर विश्वकर्माको घर ।

एकदिन दशैंको मौलो सकिएपछि
उसले मलाई
खजुम काकाको घर पर्तिर
सुगन्धी काँडाघारी छेउमा लग्यो
र दियो पढ्नलाई
म्याक्सिम गोर्कीको आमा
लेनिनको राज्य र क्रान्ति
जोन रिडको
ती दस दिन जसले संसार हल्लायो
रोजा लक्सेम्बर्गको
सामाजिक सुधार कि क्रान्ति
अर्थर कस्ट्लरको
मध्याह्नको अँध्यारो
र भन्यो-
हामी ज्ञानमा दह्रो हुनुपर्छ
हामी विचारमा बलियो बन्नुपर्छ
संसारमा भएका क्रान्ति र प्रतिक्रान्तिबाट सिकेर
हामीले नयाँ क्रान्ति निर्माण गर्नुपर्छ
जीवन त संघर्ष हो
हामीसँग खारिएको बिचार र
क्रान्तिकारी ज्ञान भयो भने
हामीले हार्ने कुनै युद्ध हुदैन
हामीलाई हराउने कुनै योद्धा हुँदैन ।
समाज त मान्छेले बनाएको न हो
हामीले यसलाई पनि जित्नुपर्छ
र नयाँ समाज बनाउनु पर्छ
विभेद, हिंसा र जात नभएको ।

ती सबै किताब पढिसकेर
म दिलबहादुरलाई भेट्न गएँ
मेरो स्वागतमा उसले चिया पकायो र दियो
तर मैले खाइनँ,
एउटा बहाना बनाएर हिँडे
फेरि फर्केर उसकोमा गईँन ।

बत्तीस वर्ष भएछ हामी छुटेको
अहिले म
त्यही चौतारो मास्तिर
दिलबहादुरको घरमा पुगेको छु
र उसैलाई सोधिराछु-
मित्र, त्यो नयाँ समाज त नबनाइ भएन
मभित्रको क्रान्तिलाई
अझ सहासिलो र इस्पातिलो बनाउन
भन न अब म कुन किताब पढौँ  ?
माओको रातो किताब कि
लेनिनकै अब के गर्ने ?
मार्क्सको कम्युनिष्ट घोषणा पत्र कि
मदनको जनताको बहुदलीय जनबाद ?
क्रान्ति त हामीले हाम्रै माटोमा गर्नुपर्छ नि हैन र ?

मेरो स्वागतमा
आज पनि दिलबहादुरले
चिया पकाएर अगाडि राखिदिएको छ
र, भन्दैछ- मित्र, पहिले चिया खाऔँ
अनि पुस्तक र क्रान्तिको कुरा गरौंला !

मैले चिया खाइहालेको छैन
गिलास मेरै छेउमा छ
म उठेर हिँडिहालेको पनि छैन ।
तर मनभित्र भने जब्बर प्रश्न खेलिरहेको छ-
क्रान्ति गर्छु भनेर हिँडेको एउटा योद्धा
दिलबहादुर विश्वकर्माले दिएको
एक गिलास चियासँग
किन पटकपटक तर्सिरहेको छ ?


बालकृष्ण कट्टेल