काठमाडौं ।
वरिष्ठ गायक तथा संगीतकार योगेश वैद्यको ७७ वर्षको उमेरमा निधन भएको छ । वैद्यको बिहीबार राति निधन भएको पारिवारले जानकारी दिएको छ । उहाँको सुन्धारास्थित काठमाडौं भ्याली अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।
बिहीबार बेलुकी स्वास्थ्यमा समस्या आएपछि अस्पताल लगिएको थियो । वैद्य लामो समयदेखि मधुमेह रोगबाट पीडित हुनुहुन्थ्यो । नेपाली आधुनिक संगीतका सदावहार गायकको पहिचान बनाउनुभएका वैद्यले लामो समय सरकारी सेवा पनि गर्नुभएको थियो । उहाँले ०६१ मा सहसचिव पदबाट अवकाश लिनुभएको थियो ।
वैद्यका नेपाली र नेपालभाषामा थुप्रै गीतहरु लोकप्रिय छन् । सपना भुलाइ सारा आँसु पिएर जाऊ, आखैँमा रात गले बाटोमा हुरी चले, मेरो आँसुमा नहाँसे घायल यो दिल के हाँस्थ्यो, नेपाल मेरो उपहार भो, कति प्यासी छ जिन्दगी, जय नमो सिरि बुद्ध भगवान लगायत थुप्रै गीतहरु लोकप्रिय छन् ।राष्ट्रिय गीत सम्मेलनमा प्रथम तथा छिन्नलता गीत पुरस्कार, विख्यात त्रिशक्तिपट्ट प्राप्त गर्नुभएका वैद्यका विभिन्न कृति समेत प्रकाशित छन् ।उहाँको पशुपति आर्यघाट शुक्रबार अन्तिम संस्कार गरिने परिवारले जनाएको छ ।