• २०८१ भाद्र २४ सोमबार

कवि दुर्गा ढकालका दुई कविता

दुर्गा ढकाल

दुर्गा ढकाल

१. हिजोका सबै हराएछन

मैले बालेका टूकीहरू अब बल्न छोडेछन्
मैले कुटेका ढीकीहरू अब चल्न छोडेछन
मैले कुदेका गोरेटोमा कोही हिड्न छोडेछन्
मैले खेलेका लिंगेपिंगहरू बत्तिनै छोडेछन्
हिजोका अब सबै हराएछन् !

मैले खाएको फापर र कोदो अब फल्नै छोडेछन्
मैले रोपेका जाई चमेली अब फूल्नै छोडेछन्
धानका वाला लहलह झूल्न छोडेछन्
दुम्सी र स्याल रातभरी डुल्न छोडेछन्
हिजोका सबै हराएछन् !

मैले रोपेका आँप, कटहर अब फल्न छोडेछन्
मैले काटेका दाउरा मूढा अब बल्न छोडेछन्
धान नाच र माघे मेला लाग्न छोडेछन्
धामी झाक्री रातभरी जाग्न छोडेछन्
हिजोका अब सबै हराएछन !

तूने चोली, सारी, पटूकी अब लाउनै छोडेछन्
बोके टिम्बुर, जिम्मु अब पाउनै छोडेछन्
कोइली र मैनाले गीत गाउनै छोडेछन्
प्रेमिल जोडीहरू प्रीतमा रमाऊनै छोडेछन्
हिजोका अब सबै हराएछन् !

पाटि पौवाहरूमा वास अब पाईन छोडेछन्
ढुंगेधाराहरूमा कलकल पानी बग्न छोडेछन्
मेलापातमा गीतका भाका बज्न छोडेछन्
गाईने र कुसुले अब डुल्न छोडेछन्
हिजोका सबै हराएछन !

रातोमाटो र कमेरोले भित्ताहरू पोतीन छोडेछन्
दारमे र तिल्केबारीमा जोतीन छोडेछन्
पाथी, मानाले धान, मकै जोखीन छोडेछन्
देबीथान र देउरालीमा भाकल भाकीन छोडेछन्
हिजोका सबै हराएछन् !

वनमान्छेहरू ओढारमा लुक्न छोडेछन्
भोटेकुकुर रातभरी भुक्न छोडेछन्
ढुंगा र बाँसका पर्खाल लाग्न छोडेछन्
सेउला र खरले छाना छाप्न छोडेछन
हिजोका सबै हराएछन !

पानीघट्ट र कोलहरू चल्न छोडेछन्
अगेनो र चूलोमा आगो बल्न छोडेछन्
ढीकुटी र भकारीहरू भरीन छोडेछन्
आँगनभरी बिस्कुन छरीन छोडेछन्
हिजोका सबै हराएछन !

गोठ्धूप र चण्डी पूर्णिमाका रीतहरू अब चल्न छोडेछन्
माया र प्रेमका गीतहरू बज्न छोडेछन्
न्वागी खाने र वनभोजहरू बन्द भएछन्
जाँगर र जोशहरू सबै मन्द भएछन्
हिजोका सबै हराएछन !
हिजोका सबै हराएछन् !!!

२. तिमी उठ !!

विचारहरूलाई जोड्न ऊठ
अन्धबिश्वाशलाई तोड्न ऊठ
अन्यायसंग भिड्न ऊठ
कुरीतीलाई मेट्न ऊठ
तिमी उठ !

दिलहरूलाई पगाल्न ऊठ
खिलहरूलाई निकाल्न ऊठ
रूझेकालाई सेकाउन ऊठ
झुधेकालाई मिलाउन ऊठ
तिमी ऊठ !

निधाएकालाई ब्युझाऊन ऊठ
तिर्खाएकाको प्यास मेटाउन ऊठ
भोकाहरूको पेट भर्न ऊठ
शोकलाई शक्तिमा बदल्न ऊठ
तिमी ऊठ !

पाईलाहरूलाई अघि लम्काउन ऊठ
अँध्यारोलाई चम्काउन ऊठ
ज्ञानको ज्योती फैलाउन ऊठ
अज्ञानतालाई सेलाउन ऊठ
तिमी ऊठ !

जर्जरती घाउहरूमा
मलमपट्टी लगाउन ऊठ
वनझर ति फाँटहरूमा
धानका वाला झुलाउन ऊठ
तिमी ऊठ !

तिमी स्वच्छ न्यायधिस बनी
स्वच्छ न्याय दिलाउन ऊठ
तिमी एक प्रेरक बनी
प्रेरणाको श्रोत बन्न ऊठ
तिमी ऊठ !

तिमी एक वाहन बनी
समयसंग गुड्न ऊठ
अविरल नदीझैँ गतिशील बनी
जीवनलाई बहाऊन ऊठ
तिमी ऊठ !

तिमी एक दियालो बनी
अँध्यारोलाई मेटाउन ऊठ
तिमी अक्षर, शब्द बनी
असाक्षरलाई हटाउन ऊठ
तिमी ऊठ !

पहाड बनेर ऊठ
पर्खाल बनेर ऊठ
चट्टान बनेर ऊठ
फलाम बनेर ऊठ
तिमी नऊठी केही हुन्न यहाँ
अब वियालो नगरी ऊठ
तिमी ऊठ ! तिमी ऊठ !!


दुर्गा ढकाल, लण्डन
[email protected]