• २०८१ माघ २७ आइतबार

बुढ्यौली साहित्य समाजको आयोजनामा योग विषयक कविता गोष्ठी सम्पन्न

भक्तपुर, बुढ्यौली साहित्य समाजको आयोजनामा अक्सफोर्ड प्राक्टिकल स्कुल सल्लाघारीको सभाकक्षमा योग विषयक कविता प्रतियोगिता सम्पन्न भयो । आयोजक संस्थाका सचिव जीवनाथ अधिकारीले सञ्चालन गरेको कार्यक्रमको सभापतित्व समाजका उपाध्यक्ष दीनानाथ पोख्रेलले र प्रमुख आतिथ्य पतञ्जली योग समिति, नेपालका संरक्षक योगी डा. चन्द्रमणि खनालले गर्नुभएको थियो ।

प्रतियोगी कविताको मूल्याङ्कनकर्ताको भूमिकामा प्रा. डा. देवी नेपाल र साहित्यिक पत्रकार अभय श्रेष्ठ हुनुहुन्थ्यो । कार्यक्रममा मञ्चासिन व्यक्तित्वका रूपमा शंकरप्रसाद मानन्धर पूर्वप्रशासक तथा सल्लाहकार भक्तपुर बुढ्यौली साहित्य समाज, कविराज घिमिरे अध्यक्ष भक्तपुर बुढ्यौली साहित्य समाज, लालबहादुर भुजेल अध्यक्ष चागुनारायण साहित्य समाज तथा हरिबहादुर केसी रहनुभएको थियो ।

मञ्चासिन व्यक्तिलाई संस्थाका सदस्यद्वय वसन्ती भुजेल र जुनु घिमिरेद्वारा खादार्पण गरिएको थियो । कार्यक्रमको प्रारम्भ राष्ट्रिय गानबाट र समाजका अध्यक्षबाट स्वागत मन्तव्य सहित कार्यक्रममाथि संक्षिप्त प्रकाश पारेपछि प्रतियोगी कविता वाचन गरिए । कार्यक्रममा छनौट भएका ३० कवितामध्ये २८ कविहरूले आफ्ना रचना पाठ गर्नुभएको थियो ।

अभय श्रेष्ठ निर्णायक मण्डलका सदस्य, योगसम्बन्धी मन्तव्य र प्रतिदान कविता पछि प्रमुख अतिथिको मन्तव्य योगाभ्यासका चरण र योगको महत्ताबारे सारगर्भित प्रकाश पारिएको थियो । प्रा. डा. देवी नेपाल निर्णायकका तर्फबाट वाचित रचनाबाट केही सूक्तिवाचन सहितको मन्तव्य र बुढ्यौली विषयक कविता वृद्धबालक वाचनपश्चात् निर्णय प्रस्तुत भयो। पुरस्कृत कविहरूलाई प्रमाणपत्र वितरण र फोटो सेसनपश्चात् सभापतिको आज्ञाले सञ्चालकबाटै प्रतियोगिता विसर्जन भयो ।