• २०८१ फागुन ६ मङ्गलबार

साहित्यसुधा नेपालद्वारा आचार्य र न्यौपाने सम्मानित

साहित्यसुधा नेपालले आफ्नो चौथो वार्षिक उत्सवको अवसर पारेर दुई स्रष्टालाई सम्मान तथा काव्य वाचनको कार्यक्रम सम्पन्न गरेको छ । वरिष्ठ कवि प्रह्लाद पोख्रेलको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा साहित्य सुधा नेपालले नेपाली साहित्य क्षेत्रमा महत्त्वपूर्ण योगदान पुरयाएकोमा सशक्त पद्य कवि प्रभा भट्टराई आचार्यलाई हरिभक्त साहित्य सुधा सम्मान तथा पुरस्कार–२०७९ र प्रसिद्ध महाकाव्यकार चन्द्रप्रसाद न्यौपानलाई सुधा स्रष्टा सम्मान तथा पुरस्कार–२०७९ बाट सम्मान गरेको छ ।

कार्यक्रमका प्रमुख अतिथि प्रल्हाद पोखरेल, साहित्य सुधा नेपालका अध्यक्ष कल्पना काफ्ले र पुरस्कार दाताले दुवै स्रष्टालाई १५ हजार रुपैयाँ नगद राशि, प्रमाणपत्रको साथ दोसल्ला ओढाएर सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो । कार्यक्रममा कवि कलानिधि दाहालले सम्मानित स्रष्टाको योगदानबारे बोलका थिए । कार्यक्रममा विवश पोखरेलले कार्यक्रममा शुभकामना मन्तव्य दिएका थिए । प्राज्ञ भागवत आचार्यले संस्था फल्दै- फुल्दै जावस् भन्दै नेपाल प्रज्ञाप्रतिष्ठानमा जिम्मेवार भई खट्ने बताए । उनले भने, ‘नेपाल प्रज्ञा प्रतिष्ठानमा आबद्ध भएपछि म पहिलोपटक साहित्य सुधाको कार्यक्रममा सहभागी हुन पाएको छु । प्रज्ञाप्रतिष्ठान भाषा, साहित्य, कला, दर्शन जस्ता पक्षको उत्थानका लागि खुलेको संस्था हो । म कुनै पक्ष विशेषमा नलागी उक्त संस्थाको गरिमा बढाउन सधैं जागरूक हुनेछु ।

हरिभक्त सुधा साहित्य सम्मान तथा पुरस्कारका संस्थापक हरिभक्त सिग्देल महेशले साहित्यको उत्थान गर्न सबै नागरिक जागरूक हुनुपर्ने बताए । उनले भने, ‘राज्यले भाषा, कला र साहित्यका लागि गरोस् नगरोस् तर हामी सधैं यसरी नै आफ्नो ठाउँमा खटिरहनुपर्छ । हामीले साहित्यसुधा नेपाल जस्ता संस्थालाई साथ- सहयोग गरिरहनुपर्छ ।’ सम्मानित कवि प्रभा भट्टराईले सम्मानले लेखनमा सधैं हौसला थपिरहने बताइन् । अर्का सम्मानित व्यक्तित्व चन्द्रप्रसाद न्यौपानेले समाजमा कसैले कसैलाई चासो नदिने संस्कार बढिरहेको बेला संस्थाले सम्मान गरेर लेख्न अझ हौसला मिलेको बताए ।

साहित्य सुधा नेपालको संरक्षक एवं वरिष्ठ समालोचक डा. रामप्रसाद ज्ञवालीले सहित्य सुधाले आफैं बाटो खनेर हिंडेको बताए । उनले भने,‘अरूले खनेको बाटो हिंड्न सजिलो हुन्छ । तर, आफैं बाटो खनेर हिंड्न गाह्रो हुन्छ । साहित्य सुधाले आफैंले बाटो खन्दै हिंडेका छन् । हामीले सधैं यस्ता संस्थालाई साथ दिनुपर्छ ।’

डा. ज्ञवालीले प्रभा भट्टराई शिष्ट, शालीन र बहु क्षेत्रमा उत्तिकै सक्रिय र महाकाव्यकार न्यौपानेका सबै विधाको सिर्जना उत्तिकै मन छुने, झकझककाउने र जीवन बदल्ने रहेको बताए । प्रमुख अतिथि वरिष्ठ कवि प्रल्हाद पोखरेलले साहित्यिक संस्थागत हितका लागि खटिरहने बताए । उनले भने, ‘जन्माउन सजिलो छ त र हुर्काउने निकै गाह्रो छ ।’

कार्यक्रममा कल्पना भुसाल, गजेन्द्र मोक्तान, डम्बर घिमिरे, राजेन्द्र घिमिरे सगर, निर्मलरमण पराजुली, पवित्रा दाहाल, बोधराज पौडेल, रामचन्द्र ढकाल आरसी, लक्ष्मी पोखरेल, आचार्य, रश्मि रिमाल, विष्णु आचार्य अतृप्त, सुशीला घिमिरे लगायतले कविता, गजल, मुक्तक जस्ता आ-आफ्नै सिर्जना वाचन गरेका थिए ।