• २०८१ मंसिर १७ सोमबार

गाँठो’ कथासङ्ग्रह तथा ’मौन अक्षरका सुस्केरा’ लघुकथासङ्ग्रह लोकार्पण

हाम्रो लघुकथा केन्द्र तथा सुसेली साहित्यिक प्रतिष्ठान, फर्पिङको संयुक्त आयोजनामा दक्षिणकाली नगरपालिका वडा नं ४ को कार्यालय बाँसबारीमा आयोजित एक कार्यक्रममा डा. शेखरकुमार श्रेष्ठद्वारा लिखित ’गाँठो’ कथासङ्ग्रह तथा ’मौन अक्षरका सुस्केरा’ लघुकथासङ्ग्रहको लोकार्पण गरिएको छ । मञ्चमा आसीन व्यक्तित्वहरू तथा लेखक स्वयम्बाट सामूहिक रूपमा पुस्तकहरूको लोकार्पण गरिएको थियो ।

दक्षिणकाली नगरपालिका वडा नम्बर चारको विशेष सहयोग रहेको उक्त कार्यक्रम लघुकथा केन्द्रकी अध्यक्ष लता के.सी. को सभापतित्व तथा दक्षिणकाली नगरपालिकाका मेयर मोहन बस्नेतको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । कार्यक्रममा उपस्थित अन्य विशिष्ट अतिथिहरू स्रष्टा किशोर पहाडी, वडा अध्यक्ष पुष्कर खड्का, समालोचक आर. एम. डङ्गोल तथा नवप्रज्ञापन साहित्यिक पत्रिकाका प्रधान सम्पादक नवराज रिजालको उपस्थिति रहेको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै विशिष्ट अतिथि स्रष्टा पहाडीले फर्पिङमा बितेको आफ्नो बाल्यकालको स्मरण गर्नुका साथै हाल दक्षिणकाली नगरपालिकाभित्र साहित्यिक कृयाकलाप बढ्नुमा डा.शेखरकुमार श्रेष्ठको ठूलो योगदान रहेको बताए। डा. श्रेष्ठले विद्यावारिधि गरेपछि उनको साहित्यिक लेखनले निरन्तरता पाइरहेको र हाल ज्यादै उर्जाशील भई अरूलाई पनि लेख्न प्रोत्साहित गर्ने गरेको बताए ।

सभापति लघुकथा केन्द्रकी अध्यक्ष लता के.सी.ले जनप्रतिनिधिहरू साहित्यमा रूचि राख्ने मात्र नभई आफैँ स्रष्टा भएकोमा खुसी व्यक्त गर्दै सर्जक डा.शेखरकुमार श्रेष्ठको कृतित्व तथा व्यक्तित्वमाथि पनि संक्षेपमा प्रकाश पारेकी थिइन् । कार्यक्रममा विमोचित पुस्तक’ गाँठो’माथि समालोचक आर.एम. डङ्गोलले संक्षिप्त समीक्षात्मक डा. श्रेष्ठको अर्को विमोचित पुस्तक’मौन अक्षरका सुस्केरा’ माथि नवप्रज्ञापन साहित्यिक पत्रिकाका प्रधान सम्पादक नवराज रिजालले संक्षिप्त समीक्षात्मक टिप्पणी गरेका थिए ।

डा. श्रेष्ठका १३ कृतिहरूपछिका यी दुई कृति थपिएर हालसम्म उनका १५ थान कृतिहरू प्रकाशनमा आइसकेका छन् । कार्यक्रममा १० जना कविहरूले कविता वाचन तथा लघुकथा वाचन गरेका थिए थिए । कविता वाचन गर्नेहरूमा सिद्धि कर्माचार्य, सरिता बलामी, पुष्कर खड्का, बद्री कार्की, चन्द्रलाल तामाङ्ग, विश्वनाथ वाग्ले, रमेश सुवेदी, किरण नेपाली, रामकुमार के.सी. तथा अञ्जु शर्मा रहेका छन् ।