लघुकथा

टुङ्नाको तार रेटेर
तिमीले नै बजाइदिएका हौ
मेरो हृदयमा रहरहरूको पहिलो धुन !
टोटलाको फूल टिपेर
तिमीले नै लेखिदिएका हौ
मेरा आँखाहरूमा सपनाको मीठो गीत !
र यो मन भिजाएर
तिमीले नै सल्काइदिएका हौ
मेरा विश्वासका यी सहस्र छ्योमेहरू पनि !
हो च्याङ्बा !
दुःखहरू सिलाएर
तिमीले नै टालिदिएका हौ
खुसीको जून उदाउने मेरो मनको आकाश !
आशाहरू जगाएर
तिमीले नै बनाइदिएका हौ
सागर तैरिँदै गरेको मेरो जिन्दगीको डुङ्गा !
र कपाल सुमसुम्याएर
तिमी नै त सिकाइदिएका हौ
यो जीवनमा पिरतीको पहिलो बाह्रखरी पनि !
पातको शोलीभरि
कट्मिरे काफलका दाना टिपेर
फिरफिरे घुमाउँदै
कटुसे खोलाको किनारै–किनार
सँगसँगै दौडिएर पुग्थ्यौं- माझीगाउँको हटिया !
बयरबुङ होलीमा
एकाविहानै दुवाली छेकेर
माछा समात्न कुरभित्र सँगै हात हालेका थियौं !
सैलुङेडाँडामा
दिनभरि गट्टी खेलेर
गाईवस्तुले छिमेकीको फापर ढुट्याएपछि
आँखेले सिर्कना हानेर
लखेटेको त्यो साँझ पनि सँगसँगै रोएका थियौं !
कोदो पिसेर
पानीघट्टबाट फर्किंदै गर्दा
उतिसको अग्लो रूखमा चढेर
तिमीले भनेथ्यौ
ऊ त्यो ठुलो याम्बु सहरमा गएर
एक थानथाक्रो र काइँयो
म तिमीलाई किनी ल्याइदिन्छु, है मैच्याङ !
थाहा छ, च्याङ्बा ?
त्यति नै खेर मलाई लागेथ्यो
सेतो घोडामा चढेर
मतिरै आइरहेछ- मेरो राजकुमार
र बिस्तारै भनिरहेछ
जाऊँ पियारी ऊ माथि बादल पारिको देशमा !
यतिखेर म सम्झिरहेछु !
झगडा गरेर
नबोली–नबोली भारी घचेडिदिएको ढिस्को !
हलेसोका बचेरा भेटेपछि
मलाई बोकेर तिमी दौडिएको आरूबारी !
गिँझरी घाँस काटेर
पाखर झोडाबाट घर फर्किंदै गर्दा
अररी काँडाले दफारेर
कसरी बगेको थियो- पिँडुलामा रगतको भेल ?
र मैले फ्रकको फेरो च्यातेर
तिम्रो नलीखुट्टामा बाँधिदिएको त्यो पट्टी
जति बिर्सन खोजे पनि
म कसरी बिर्सिन सक्छु र- मेरो च्याङ्बा ?
अनुहारभरि
तिम्रै सम्झनाका रङहरू पोतेर
यतिखेर म,
तिमीले एक्लै छोडेर
उदास बनेको भीरमा गुराँस फुलेकी छु !
यो उमेर नुहाएर
बैँसका सुरिला डालीहरूबाट
एकाएक झरिरहेछन्
तिम्रै यादहरू फिरफिराउने मायालु पातहरू !
आऊ च्याङ्बा !
म तिम्रै लागि फुलेकी हुँ
आखिर फूल आफ्नो लागि कहाँ फुल्छ र ?
हो च्याङबा !
चाँपको बोट खोपेर
तिमीले लेखेका हाम्रा नामहरू
वर्षौपछि पनि,
अहँ, मेटिएका छैनन्- उस्ताको उस्तै छन् !
विश्वासको त्यही डोरो समाएर
म त हिँडिरहेकी छु
तिम्रै जोवनका सुनसान बाटाहरू !
भन न च्याङ्बा !
कहाँनेर छ
हाम्रो जिन्दगी बिसाउने प्रेमको चौतारी ?
प्रथा
[email protected]