समाचार
सुतिरहेको कालोपत्रे
जुरुक्क उठेर
मुकुट सम्झिन थालेपछि
यो सडकलाई
फेरि भन्न थालिएको हो- महेन्द्र राजमार्ग !
धागो चुडिएर छरिएको पोतेको
दाना-दाना उनेर आमाहरूले
सुन्दर तिलहरी बनाए जसरी
टुक्राटुक्रामा बाँडिएको
राज्यलाई सिलाएर
मजदुरले बनाएका हुन्
यो देशलाई सिङ्गो राष्ट्र
पूर्वको पालामलाई
पश्चिमको चाँचरीसँग भेट गराउन
आफ्नो रगत, पसिना र अधुरा सपनाको
चिप्लो र टल्कने तह हालेर
मजदुरले नै बनाएका हुन्
पूर्व–पश्चिम जोड्ने यो मार्ग
सडकको माथिल्लो तहमा
टल्किरहेको अलकत्रालाई सोधें-
यो बाटो बनाउँदा
सडक छेउमा आगो बालेर
टिनको ड्रमभित्र
तिमीलाई उमाल्ने को थिए ?
बर्षाको भेलबाट
गिट्टी, बालुवा र माटोलाई जोगाएर
तिमीलाई बचाउन
सडको दुबैतिर नाली बनाउँदा
मार्तल समाउने हात कसका थिए ?
हिउँदको चिसोले
फुटेका खुट्टा खोच्याउँदै
दिनरात ढाडमा ढुङ्गा बोकेर
तिमीलाई ढलान गर्न
वालुवामा मसला घोल्ने को थिए ?
यो सडक कस्को हो?
सडक बनाउनेलाई थाहा छैन
तर जसको नाममा यो ’राजमार्ग’ छ
उसले कहिल्यै सडक खनेको छैन
जब शासकहरू
घुँडा टेकेर
पुरानो सिंहासन अगाडि बस्छन्
उनीहरू इतिहास हैन
नाम पढ्न थाल्छन्
र बिर्सन्छन्
हजारौं मजदुरलाई
जो कहिल्यै पाठ्यपुस्तकमा छापिएनन्
जब सत्ताले
श्रमलाई हैन
सिंहासनलाई सलाम गर्छ
ऊ सम्झन पनि चाहदैन
ती महिलाहरूलाई
जसले इतिहासभन्दा गह्रौं
बाल्टिनमा बालुवा बोकेर
सम्याए सडकलाई
र जुटाए अलिकति सामल
आफ्ना सन्तानलाई हुर्काउन
जसले यो भूगोललाई जोगाएर
स्वाभिमानी राष्ट्र बनाए
कति सजिलो छ है
सत्यलाई अलकत्राले छोप्न
तर एकदिन
धूलो आँधी बनेर उठ्ने छ
र भन्ने छ-
यो सडक
सत्ताको छायाँ होइन
चिरिएका पैतालाहरूको नक्सा हो
ठेला फुटेका हत्केलाको इतिहास हो
यो ’राजमार्ग’
मजदुरहरूको हो ।
बालकृष्ण कट्टेल