गयौ तिमी दुनियाँलाई रमिता देखाएर गयौ
गल्ती आफैँ गरेर घुँडा मलाई टेकाएर गयौ ।
हिउँदको चिसो मौसममा सडककै हुने भयो बास
महल पाएपछि झुपडीमा आगो लगाएर गयौ ।
नखाएको बिषले पनि पोल्दो रहेछ कलिमा
केको रिसले निर्दोषलाई जेल पठाएर गयौ ।
प्रेमको बगैँचामा फल्दै थिए मायाका फलहरू
अमृतको बोटमा ऐँजेरु कसरी फलाएर गयौ ।
जगतकै महानतम प्रेमिका ठान्थ्यौ आफूलाई
धोकेबाजीमा पो नयाँ कीर्तिमान बनाएर गयौ ।
अर्को जुनी पनि तिम्रै हुन पाऊँ भन्ने प्रेयसी
वर्ष पनि नबित्दै अर्कैको हात समाएर गयौ ।
(हाल मन्ट्रियल, क्यानडा निवासी भण्डारी चर्चित साहित्यकार हुन् ।)
[email protected]