समाचार
परीक्षा र परीक्षितको सुन्दर परिवार । परिक्षित सरकारी विद्यालयका कुशल शिक्षक, परीक्षा कुशल गृहणी । छोरो प्रवेश बाबासँगै स्कूल जान्छ ।
परीक्षा घरको धन्दा सकेर दिनभर फूलबारीमा हुन्छिन् । विश्राम भनेको बाबु-छोरा स्कूलबाट आइपुगेपछि मात्र चियाको चुस्कीसँग हुन्छ ।
फागुनको महिना, घर वरिपरि रङ्गी-विरङ्गी फूलहरू फूलेका छन् । बगान बेलियाको सिजन भएर होला यो वर्ष एघारवटा रङ्गमा फूलेका छन् ।
फूल भनेपछि अरू केही चाहिँदैन परीक्षालाई, फूलको पातसम्म कसैलाई छुन दिन्नन् ।
परीक्षाका दाजु धेरै दिनपछि बहिनीलाई भेट्न आएका थिए । बरन्डामा उभिएर चिया खाँदै भने, “हेर त कान्छी ! यो फूल त कस्तो लटरम्म फुलेर उत्तापट्टि नुहेछ ।” “हो नि दाजु ! तर यहाँ फूलको कदर हुँदैन, काटिने पो हो कि ! बरू यतापट्टि तानिदिनुहोस् न ! मैले सकिँन।”
बहिनीको कुरा सुनेर गगनले फूलको हाँगो तान्न लाग्दा परिक्षितले भने, “दाजु के गर्न लाग्नु भएको! कति मज्जाले फुलेको छ । आफू खुशी फुल्न पाएर कति खुशी छ हेर्नु त ! यता न सही उताकै भए पनि आँगन उज्यालो पारिदिएको छ । तान्दा ऐले ठक्क भाँचिन्छ अनि ज्या भन्यो सकियो ।”
फूलको हाँगो समातिसकेका गगनको हात टक्क रोकियो ।
केही दिनपछि परीक्षाले देखिन् लहलह फुलेको फूलको हाँगा ओइलिएको छ, जुन छिमेकीको घरपट्टि झुलेको थियो । सोचिन् पानीको कमी होला, एक बाल्टी पानी हालिन् । भोलिपल्ट फेरि हेरिन् फूलको बोटमा फुलेका अरू फूलहरू ज्यूँका त्यूँ छन्, अर्कोपट्टि निहुरिएको हाँगामात्र ओइलिएको छ । राम्ररी हेरिन् त्यो हाँगालाई बीचमै काटिएको रहेछ। मनमनै सोचिन् कसको हातमा कीरा परेछ। परीक्षाको मुटु दिनभर दुखिरह्यो, आखिर यो फूलको दोष के थियो ! भगवानको पूजा गरिँदा दुइथुँगा लगेर चढ़ाएको भए हुने के को दुस्मनी, त्यो पनि फूलसँग, थुक्क मानिसको जुनी !
बाबु-छोरा स्कूलबाट आएर घर पस्दै थिए, परीक्षाले परिक्षितलाई सुकेको फूलको हाँगा देखाउँदै भनिन्, “देख्नुभयो हजुरको संसार अटाउने उदार हृदयको करामत, मैले त भनेकै हो, तपाईँको जस्तो हनुमानको छात्ती सबैको भए राम सबैका घरघरमा हुने थिए नि ! रावण केलाई चाहियो ! आफ्नो जस्तै अर्काको घर पनि उज्यालो हेर्ने तपाईँको इच्छा यसरी ऐना जस्तो चकनाचूर भएर गयो । ।” भावविह्वल हुँदै परीक्षाले भनिन् ।
परिक्षित भने घरी त्यो फूलको बोट, घरी परीक्षालाई हेर्दै कल्पना गरे “आखिर प्रकृतिको दोष के ! “
गान्तोक, सिक्किम