समाचार
आयो वर्ष नयाँ वसन्त ऋतुमा नौलो सवेरा बनोस्
बन्दै हर्ष सबै गुलाव जसरी सत्मार्ग नौलो खनोस्
नौला कार्य गरौं सबै जनमिली हाम्रो नयाँ वर्षमा
पुछ् दै आँसु सबै अलौकिक खुशी मिल्दा बसौं हर्षमा ।
१. चम्कोस् वर्ष नयाँ सबै मनुजमा इच्छा अपेक्षा नहोस्
नेपाली जनका हरेक मनमा सन्देश राम्रो रहोस्
तृष्णाका लहरो बढेन मनमा सौन्दर्य खोजीकन
ज्ञानी सन्त बनून् अमानव सबै निर्वाण होस् जीवन ।
२. कालो कोकिलको छ गीत मधुरो रानी बनैमा डुलौं
राता फूलहरू गुराँस कदली हेरेर पीडा भुलौं
छर्दै सौरभले सुवास युगको सन्देश हामी दिऊँ
गर्दै शिद्धिहरू अनेक तिथिमा पीयूष हामी पिऊँ ।
३. जे जे गुम्न गए भुलेर सजिलै बाँच्न सिकौं प्यारमा
पायौं थोर खुशी समाल दिलमा हाँसेर संसारमा
हेरौं अम्बरमा हजार थरिका तारा टुटे रातमा
हाम्रो बाग भरी फुले कुसुमका थुङ्गा झरे पातमा ।
४. हाँस्दै छन् रवि जून अम्बर डुली चम्केर तारा खुशी
त्यस्तै हाँस्न सिकौं यहाँ अबसबै एक्कै बनोस् धुक्धुकी
बाढी पस्छ कतै बहन्छ सपना खप्नै नसक्ने गरी
आशा बस्छ कतै लुकेर मनमा त्यो बन्छ है सायरी ।
५. स्रष्टा बन्न सके हिमाल नचढी अग्लन्छ छाया छवि
तारा इन्दुकला लुकेर नभमा झुल्कन्छ नौलो रवि
सारा विश्व चिनाउने मन हुँदा नेपाल होस् रोशनी
धर्ती भोलि खुशी म देख्छु जहिले त्यै बन्छ सञ्जीवनी ।
६. खाना पुग्छ भने कुनै तरहले ठूलो त्यहीँ आर्जन
के नै काम भयो जहानसँगमा बस्नै नपाए धन ?
ऐलेसाल खुशी बनौं सबजना साटौं मिली भावना
उत्साही मनभित्र हिम्मत थपौँ मेरो यहीँ कामना ।
७. चल्दा मग्मग वासना मुकुलको कस्तो खुसी यो मन
इन्द्रेनी रङ बन्छ पर्वतहरू रातो पहेँलो वन
हाँसेका गिरिराज छन् प्रकृतिले पङ्खा चलाईदिँदा
साँच्चै मोहित पार्छ पुष्पदलले वैशाख यो सम्झिँदा ।
शार्दूलविक्रीडित छन्द
(माधव अधिकारी)
योगी सारानन्द