• २०८३ बैशाख २, बुधबार

डा. मुरारि पराजुलीको ’मेरो कविताको जन्म’ लामो कविता लोकार्पण

तिलोत्तमा, रूपन्देही ।

तिलोत्तमा साहित्य कला सङ्गीत प्रतिष्ठानको आयोजनामा प्रख्यात कवि तथा समालोचक डा. मुरारि पराजुली द्वारा रचित काव्यकृति ’मेरो कविताको जन्म’ (लामो कविता) को लोकार्पण कार्यक्रम तथा तिलोत्तमा साहित्य सङ्गमको १९औँ शृङ्खला होराइजन गौतम बुद्ध मा.वि.को सभाहल, तिलोत्तमा–१, ड्राइभरटोलमा भव्य समारोहबीच सम्पन्न भयो ।

साहित्यप्रेमी तथा विशिष्ट व्यक्तित्वहरूको उल्लेखनीय उपस्थितिमा सम्पन्न यस कार्यक्रमको अध्यक्षता तिलोत्तमा साहित्य कला सङ्गीत प्रतिष्ठानका अध्यक्ष एवम् कृतिकार डा. मुरारि पराजुली ले गर्नुभयो । साहित्यकार एवं पूर्वसांसद देवेन्द्र घिमिरेको प्रमुख आतिथ्य , प्राज्ञ बूँद राना र वरिष्ठ आख्यानकार वनमाली निराकारको विशिष्ट आतिथ्य तथा पूर्वमन्त्री सोमप्रसाद पाण्डे, विजय सागर, रुद्र ज्ञवाली, डिल्लीराम भट्टराई, गोपाल आचार्य, प्रलेसका अध्यक्ष कृष्ण गाउँले, रमेश समर्थन, यज्ञलाल सुवेदी तथा ज्ञानेश्वर ज्ञवाली लगायतका साहित्यिक एवं सामाजिक व्यक्तित्वहरूको आतिथ्यले कार्यक्रमलाई विशेष गरिमा प्रदान ग¥यो ।

कार्यक्रमको स्वागत मन्तव्य प्रतिष्ठानका उपाध्यक्ष तथा छन्द अभियन्ता कविराज पौडेल ले राख्नुभयो भने लोकार्पण गरिएको कृतिमाथिको समीक्षा साहित्यकारहरू शंकर भण्डारी, माधव कुमार पौडेल र रामचन्द्र श्रेष्ठ ले गर्नुभयो। समीक्षकहरूले कृतिको भाषिक सौन्दर्य, भावगाम्भीर्य र कलात्मक अभिव्यक्तिको मुक्त कण्ठले प्रशंसा गर्दै डा. मुरारि पराजुलीको कृति “मेरो कविताको जन्म“ (लामो कविता) लाई नेपाली काव्यजगतको एक विशिष्ट उपलब्धि भएको बताए ।

शुभकामना मन्तव्य राख्दै कृष्ण गाउँले, गोपाल आचार्य, रुद्र ज्ञवाली, विजय सागर, वनमाली निराकार, प्राज्ञ बूँद राना र सोमप्रसाद पाण्डेले डा. पराजुलीको साहित्यिक योगदानको सराहना गर्दै वक्ताहरूले यो कृतिले नेपाली साहित्यका पाठकलाई फरक स्वाद दिन सफल रहने धारणा व्यक्त गरे । कार्यक्रममा उपमा पाण्डेय, हृदयी लेकाली, कमला भण्डारी ढकाल, नारायण प्रसाद भण्डारी र उद्धव देवकोटाले आफ्ना मौलिक काव्यरचना वाचन गरी उपस्थित श्रोताहरूलाई साहित्यको रसास्वादन गराए। कार्यक्रमको कुशल सञ्चालन प्रतिष्ठानका महासचिव लिलाधर पाण्डेय ले गर्नुभएको थियो ।

तिलोत्तमा साहित्य कला सङ्गीत प्रतिष्ठानले यस्ता साहित्यिक कार्यक्रमहरू मार्फत साहित्य, कला र संस्कृतिको जगेर्ना गर्दै आएको छ। ’तिलोत्तमा प्रतिष्ठानको पहिचानः स्थानीय भाषा, कला तथा संस्कृतिको उत्थान’ भन्ने मूल मन्त्रलाई आत्मसात् गर्दै प्रतिष्ठानले यस क्षेत्रको साहित्यिक उन्नयनमा निरन्तर योगदान पु¥याउँदै आएको छ ।
उद्धव देवकोटा, तिलोत्तमा २९ चैत्र