लघुकथा
नवलपरासीपूर्व ।
गैँडाकोटमा आइतबारदेखि शुरू भएको ‘राष्ट्रिय पर्यटन काव्य उत्सव–२०८२’ सोमबार सम्पन्न भएको छ । गैँडाकोट नगरपालिका र गैँडाकोट नगर प्रज्ञा प्रतिष्ठानको संयुक्त आयोजनामा नारायणी नदीमा सञ्चालन गरिएको राइनो क्रुज (पानीजहाज)मै काव्य वाचनसहितको उत्सव सम्पन्न गरिएको हो । उत्सवमा सहभागी स्रष्टाहरूले आइतबार साँझ र सोमबार बिहान नदीमाथि तैरिरहेको पानीजहाजबाट कविता, गजल तथा गीत वाचन गर्नुभएको थियो । करिब एक सयभन्दा बढी सर्जकहरूको सहभागिता रहेको कार्यक्रममा काव्यवाचनसँगै कार्यपत्र प्रस्तुति र साहित्यिक विमर्शसमेत गरिएको थियो ।
गैँडाकोट नगर प्रज्ञा प्रतिष्ठानका उपकुलपति भीमप्रसाद शर्माले स्थानीय कला, साहित्य, संगीत र संस्कृतिको संरक्षण तथा प्रवद्र्धन संस्थाको प्रमुख उद्देश्य रहेको बताउनुभयो । नगरप्रमुख मदनभक्त अधिकारीले यस्तो अभियानलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो । उपप्रमुख शान्ति कोइरालाले नदीमै आयोजना गरिएको काव्य कार्यक्रमलाई नवीन अभ्यासका रूपमा उल्लेख गर्दै यसले संरक्षणको मुद्दामा उच्च तहको ध्यानाकर्षण गराउने विश्वास व्यक्त गर्नुभयो । प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र लामगादेले साहित्य र पर्यटनलाई जोड्ने यस्तो प्रयासले नवलपुरको पहिचानलाई थप मजबुत बनाउने धारणा राख्नुभयो ।
कार्यक्रममा लेखक भूपिन खड्काले ‘नेपाली पर्यटन काव्य, सम्भावना र चुनौती’ विषयमा अवधारणापत्र प्रस्तुत गर्दै पर्यटन र काव्यबीचको सम्बन्धलाई उजागर गर्नुभएको थियो । उहाँले पर्यटन काव्यलाई सम्भावनायुक्त नयाँ साहित्यिक विधाका रूपमा अघि बढाउनुपर्ने आवश्यकता औंल्याउनुभयो । विमर्शमा सहभागीहरूले नेपालका प्राकृतिक, सांस्कृतिक र ऐतिहासिक सम्पदालाई काव्य सिर्जनामार्फत प्रवद्र्धन गर्न सकिने धारणा राख्नुभएको थियो ।
उत्सवमा देश–विदेशका स्रष्टाहरूले आफ्ना सिर्जनामार्फत पर्यटन, प्रकृति र समसामयिक समाजलाई जोड्ने प्रयास गर्नुभएको थियो । कार्यक्रममा गजलकार नारायण गाउँले, कवि शिव त्रिपाठी लगायतका स्रष्टाहरूले विशेष प्रस्तुति दिनुभएको थियो । इतिहास स्मरण गर्दै प्राज्ञ सदस्य लेखराम सापकोटाले विसं २०२२ मा देवघाटमा डुङ्गामै गरिएको काव्यवाचन कार्यक्रमको उल्लेख गर्दै यस उत्सवलाई त्यसैको निरन्तरताका रूपमा व्याख्या गर्नुभयो । उत्सवपछि सहभागी स्रष्टाहरूले मौलाकालिका मन्दिर, देवघाटधाम तथा आसपासका पर्यटकीय स्थलहरूको अवलोकनसमेत गर्नुभएको थियो । साहित्य र पर्यटनलाई एकै मञ्चमा जोड्दै सम्पन्न भएको यस उत्सवले स्थानीय पहिचान प्रवद्र्धनसँगै नयाँ साहित्यिक अभ्यासको सुरुवात गरेको आयोजकले जनाएको छ ।
