• २०८१ श्रावाण ४ शुक्रबार

के उनी नै हुन् ?

बदरीनाथ भट्टराई

बदरीनाथ भट्टराई

हेर्दै कर्के कटु नजरले दक्षिणी भागबाट
झर्दी ज्यादै विमलमुखकी देखिने दूरबाछ ।।
हाँस्दै पार्ने बहुत नखरा यो न गोरी न काली
घुँटो झिक्दी रङबिरङको के उनै हुन्उज्याली ?

आऊआऊ भनी दिनदिनै लोकले कल्पिएकी
जाजा चाँडो भनि कुपतिले मत्त भै त्यगिएकी ।।
त्यागी जस्ता सबल दलका शूरले निंतिएकी
ठानें उस्तै सब तर उनै हुन् त के देखिएकी ?

देखें उस्तै पहिरन उही कान्तिले छाइएकी
एकैनासे मधुर चतुरो भावले व्यङ्ग्य गर्दी ।।
सारालाई खुप सुख दिने व्यक्त गर्दी इशारा
के स्वातन्त्र्य प्रकृति युवती हुन् उनै देश(तारा)

आइन आफ्नै नजिक तर खै मोहिनी शक्ति त्यस्तो
खै त्यो अकेत्रिम चहकिलो सत्य सौन्दर्य उस्तो ।।
खै त्यो उच्च प्रगति छरितो दृष्टि खै त्यो उदार
देखी यस्तो अलि विषमता लाग्छ शंका त धेर ।।

ज्यादै रातो रङ छ मुखमा छैन टीका सुनौला
काला कोठी पनि त कति छन् गर्दछिन चाल नौला ।।
ज्यादै उच्छृङ्खलपन लिई हिंड्दछिन लंकिएर
देखी गुण्डा पनि पछिपछी लाग्छ शंका त धेर ।।
(पं. बदरीनाथद्वारा सम्पादित पुस्तक पद्यसङ्ग्रहबाट जस्ताको तस्तै टङ्कण गरी सारिएको)


बदरीनाथ भट्टराई