नानीहरूको पहिलो जन्मदिन मनाउँदै गर्दा मलाई जीवन र समाजप्रति छोटो अन्तरसंवाद गर्नमन लाग्यो ।
ताराहरू टिलपिलाइरहेको निर्मल रातको चकमन्न सन्नाटामा म एक्लै कौसीमा बसेर क्षितिज नियाल्दै मनमनै घोत्लिएँ ।
मेरो भाइ सन्तोष र म ३० बर्ष अगाडि जुम्ल्याहा जन्मेका थियौँ । केहीपलको फरकले मात्र पहिलो सन्तानका रूपमा म यस रोमाञ्चित र रहस्यमय संसारको सुन्दर धरामा अवतरित भएकी थिएँ ।
हामी दिदीभाइ सँगसँगै खेल्दै र हुर्कंदै थियौँ । जतिजति उमेर बढ्दै जान्थ्यो म प्रति समाजले गर्ने र देखाउने व्यवहारमा निकै फरक भएको महसुस हुन्थ्यो ।
परिवारले दिने माया- ममता मात्र होइन हेर्ने दृष्टिकोणमै फरक थियो ।यतिसम्म कि काम र माममा पनि भेदभाव हुन्थ्यो । छोरीलाई पराईले लाने वस्तुझैँ ठानिन्थ्यो । मलाई नमीठो लाग्थ्यो । कहिलेकाहीँ त खाँदाखाँदै जुरूक्क उठेर हिँड्थेँ । आँखाबाट बर्बर आँसु झर्थे । मनको वेदना मनमै दबाउँदै लुकेर आँसु पुछ्थेँ ।
यौवनका दिनहरूमा त झन् भाइको र मेरो स्वतन्त्रतामा समेत निकै फरक हुनेगथ्र्यो । तर पनि आमाबुबाले मलाई स्नातकसम्म पढाउनु भएको थियो ।यसमा मेरो पढ्ने जिद्दी आग्रहको पनि केही भूमिका थियो । विवाह भएर पराईघर गएँ, त्यहाँ पनि समान व्यवहार पाइनँ ।
मलाई विश्वास छ, हाम्रो बाल्यकालमा आमाले स्तनपान गराउँदा उहाँको मनभित्र कतै छोरा र छोरीमा फरक भावना पैदा भई धेरै र थोरै स्तनपान गराएर संसारले पवित्र मानेको मातृस्नेहमा पक्कै दाग लगाउनु भएन होला ।
सृष्टि र समाजको आधा आकाश ढाक्ने नारी भएर पनि मैले जे- जस्तो भेदभाव भोगेँ । अशिक्षा, कुसंस्कार र पछौटे पुरातनवादी सोचकै कारण भोगेँ । मलाई यस्तै लाग्थ्यो ।
तर कस्तो संयोग एक वर्ष अगाडि मैलेपनि जुम्ल्याहा छोरा र छोरी नै जन्माएकी छु । पढेलेखिकी र चेतनशील ठानिएकी महिला हुँ म । मेरी छोरीले मैलेजस्तो भेदभाव भोग्नु र सोच्नु नपरोस् । मेरो मन किन शङ्कालु बन्छ । अब समयले लिनेछ !! मेरो मन, व्यवहार, मातृस्नेह र चेतनाको सक्कली अग्निपरीक्षा ।
(दमक, झापानिवासी ‘उत्स’ चर्चित साहित्यकार हुन् ।)
[email protected]