कविता
एक समय थियोस सेयर खरिदबिक्रीको सम्पूर्ण विवरण सेयर प्रमाण पत्रमै लेखिएको हुन्थ्यो । आइपिओ कसले भरेको रहेछ, अनि कसले किनेछ, त्यसपछि कसले किनेछ अनि त्यसपछि कसले किनेछ, पछिल्लोचोटि कसले किनेको रहेछ र आफूले किनेको सेयर ककसको हातमा पुगेर आफ्नो हातमा आइपुगेछ भन्ने कुरा पछिल्लो पटक सेयर किन्ने व्यक्तिले सेयर प्रमाणपत्रबाटै जानकारी पाउँथ्यो ।
आइपिओ भर्ने व्यक्तिको त तीनपुस्ते र थरठेगानै हुन्थ्यो- प्रमाण पत्रमा । म त्यो समयको कुरा गर्दैछुस जतिबेला पत्रपत्रिकामा पत्रमित्र स्तम्भ हुने गर्दथ्योस कतिपय पत्रपत्रिकामा त यस स्तम्भले दुईतीन पेज ढाकेको हुन्थ्योस मानिसहरू कसैको नाम र ठेगाना फेला पारेपछि पत्रमित्रको बहानामा पत्र नै ठोकी दिने गर्दथे । अरुको के कुरास म आफू पनि त्यसै गर्थें ।
एक पटकको घटना भन्छु-
नेपालको सेयरबजारको ऐतिहासिक विकासक्रमको अध्ययन गर्ने जेहन्दार विद्यार्थीहरुलाई हेक्का होला- नेपालको सेयर बजारमा नेकोन एयर’, नेपाल विकास बैंक’ आदि नामका कम्पनीहरू पनि थिए । मैले दोस्रो बजारमा नेपाल विकास बैंक नामको कम्पनीको केही कित्ता सेयर किनेको थिएँ । केही दिनपछि सेयर प्रमाणपत्र त पाइयो, पाइयोस नयाँ पत्रमित्र बनाउन एकथान नाम र ठेगाना पनि पाइयो । भोलिपल्ट बिहानै मैले पत्र लेखें ।
अहिले सम्झेअनुसार पत्रको ढाँचा यस्तो थियो-
आत्मीय मित्र,
अटुट सम्झना !
हामी यहाँ सञ्चै छौं । हजुरको परिवारमा पनि सबैलाई कुशलमङ्गल रओस् भन्ने कामना गर्दछु ।
खास कुरा के भने, हजुरले बेच्नु भएको सेयर संयोगले मैले किन्न पाएँ । कुनै दिन हजुरको हातमा रहेको सेयर प्रमाणपत्र यतिखेर मेरो हातमा छ । यो चानेचुने कुरा हो र ! मलाई त हजुरलाई कहिले भेटौं र दुःखसुखका कुरा गरौं जस्तो लागेको छ । फुर्सद मिल्छ भने एक पटक आउनु होला ।
पत्रोत्तर हुने नै छ भन्ने लागेको छ ।
बाँकी भेटमा ।
उही हजुरको मित्र
केही दिनपछि पत्रको जवाफ आयो ।
त्यसको महिना दिन जतिपछि मित्र आफै पाउकष्ट गर्नु भयो । हामी बीच भलाकुसारी भयोस घर व्यवहारका कुरा पनि भए । मित्रता झ्याङ्गियो र अन्त्यमा मित्रता नातासम्बन्धमा बदलियो ।
कालक्रममा नेपाल विकास बैङ्क टाट् पल्टियो । आजको नेपालको सेयर बजारमा त्यो र त्यतिबेलाका धेरै कम्पनीहरुको नामोनिसान छैन । तर आज मेरो घरमा तपाइँ जुन भान्टाङ्गभुन्टुङ्ग देख्नुहुन्छ स् ती सबै उहाँकै छोरीबाट जन्मिएका हुन् । (संयोग के भने, परिवार चै आजसम्म टाट् पल्टिनरविघटन हुनबाट जोगिएको छ ।)
त्यस्तो मज्जा अहिलेको सेयर बजारमा कहाँ पाउनु !
हेर्नोस् न, आज चिलिमेको ३५५ कित्ता सेयर किनेको थिएँ । माथ्लाघरे दाइले आज चिलिमेकै ३५५ कित्तै सेयर बेचेका रहेछन् । भन्दैथिए- ठूलो लगानीबाट गतिलो लाभ प्राप्त हुन्छ भन्ठानेर बहत्तर सालतिर २७५० र- प्रतिकित्ताको दरले चिलिमेको सेयर किनेको थिएँ । लाभाङ्श र बोनस सेयरसमेत अहिलेको मूल्यमा हिसाब गर्दा आधाजसो असुल हुन्छ जस्तो लाग्यो ।।।। बेचिदिएँ ।’
म के भनूँ ? सुनिरहे ।
दाइले बेचेकै सेयर मैले किनेको पनि हुन सक्छ । सेयर किन्ने र बेच्ने हामी दुबै यति नजिकका व्यक्ति हुन पनि सक्छौ ।
तर हेर्नुहोस् न, कुन आधारमा म यो दाबी प्रस्तुत गरुँ !
ईश्वर पोखरेल
बोझेपोखरी, ललितपुर