समाचार
काठमाडौं ।
विश्व रङ्गमञ्च दिवस (मार्च २७)का अवसरमा नेपालमा विशेष ‘अभि–अभिनन्दन’ समारोह आयोजना गरी रङ्गकर्मीहरूबीच विश्व सन्देश आदानप्रदान गर्दै दिवस मनाइएको छ । आइटिआइ नेपालले नेपाली रङ्गमञ्चमा विशिष्ट योगदान पु¥याउनुभएको नाटककार, समालोचक तथा नाट्य अभियन्ता अभि सुवेदीलाई सम्मान–अभिनन्दन गरेको हो । विशेषता के भने, सुवेदीकै नाटकका पात्रहरूले मञ्चीय प्रस्तुति गर्दै उहाँलाई अभिनन्दन गर्नुभएको थियो । यस क्रममा कलाकारहरू भोला सापकोटा, घिमिरे युवराज, सरस्वती चौधरी, सरोज अर्याल, पवित्रा खड्का र दिलिप रानाभाटले प्रस्तुति दिनुभएको थियो ।
अभिनन्दनपछि सुवेदीले नेपाली रङ्गमञ्चको उभारप्रति खुशी व्यक्त गर्दै संस्थागत सक्रियताको आवश्यकता औँल्याउनुभयो । समारोहमा नाट्यकलाको विश्व संगठनबाट जारी सन्देशको नेपाली भावानुवाद सरस्वती चौधरीले वाचन गर्नुभएको थियो । यस वर्षको विश्व सन्देश अमेरिकी रङ्गकर्मी विलियम डाफोले दिनुभएको थियो, जसमा प्रविधिको तीव्र विकासबीच रङ्गमञ्चको महत्व झन् बढ्दै गएको उल्लेख गरिएको थियो।
बत्तीसपुतलीस्थित शिल्पी थिएटरमा सम्पन्न कार्यक्रममा आइटिआइ नेपालको पुनः स्थापनाको औपचारिक घोषणा पनि गरिएको छ । करिब एक दशकदेखि विच्छेद भएको अन्तर्राष्ट्रिय सम्बन्ध पुनः जोडिएको जनाइएको छ । पुनःस्थापित आइटिआइ नेपालको कार्यकारी बोर्डमा केदार श्रेष्ठ, गुञ्जन दीक्षित, देव न्यौपाने, सुशिलालक्ष्मी महर्जन, मोतीबहादुर कार्की, पवित्रा खड्का र सिजन दाहाल रहनुभएको छ, जसलाई आइटिआइ वल्र्ड कार्यकारी समितिले अनुमोदन गरिसकेको छ ।
