• २०८१ माघ १० बिहीबार

काली केटी

दुर्गाप्रसाद पण्डा

दुर्गाप्रसाद पण्डा

काली केटी
एक्लै कलेज जान्छे
गोरी केटीहरूको विदू्रप हाँसो पार गर्दै
कसैले पनि राख्दैन चासो-
उसको आउनु या जानुको ।

काली केटी आए पनि के, गए पनि के
ऊ आउँदा, आउँदैन चियाको गिलासमा भूईचालो
चमकिन्न बिजुली ।
काली केटी हाँस्दा
मच्चिदैन कसैको मनमा हलचल ।

कुनै पनि उत्तेजक आलोचनामा
आउँदैन काली केटीको नाम
सबैका अपमानहरूलाई
सहजै पचाइदिन्छ काली केटी ।

पीडाहरूलाई आफूसँगै बोकेर हिड्छे
भित्ताहरूसँग एक्लै बात मार्छे
कसैले बिर्सेर पनि गर्दैन
काली केटीलाई प्रेम ।

सपना हेर्न साह्रै डराउँछे काली केटी
अनि बिहानै ऐना हेर्नुपर्दा
साह्रै नै भयभित हुन्छे ऊ ।

अनुवाद: राजेन्द्र शलभ